किन बढ्दैछ क्वारेन्टिनमा यस्ता घट्ना ?

२० असार २०७७, शनिबार ००:३१

केस एक

वैशाख १९ गते क्वारेन्टिनमा बसेका बेला उदयपुरको रौतामाई गाउँपालिका– ७ गुराँसेका १८ वर्षिय युवकले आत्महत्या गरे। प्रेम विवाह गरेर काठमाडौँ पुगेका युवक लकडाउनको समय घर फर्किएका उनी वैशाख ११ गतेबाट क्वारेन्टिनमा बसेका थिए।

युवकले श्रीमती सुतिरहेको समय श्रीमतीको सलको पासो लगाएर झ्यालमा झुण्डिएर आत्माहत्या गरेको प्रहरीले जनाएको थियो।

केस दुई

जेठ १७ गते साँझ क्वारेन्टिनमा बसेका गुल्मीको छत्रकोट गाउँपालिका– ४ का ५६ वर्षिय पुरुषले आत्महत्या गरेका थिए।

भारतबाट घर फर्किएका उनलाई गाउँपालिकाले क्वारेन्टिनमा राखेको थियो। क्वारेन्टिनमा बसिरहेको अवस्थामा साँझपख शौचालय गएका उनी आत्महत्या गरेको अवस्थामा फेला परेको प्रहरीले जनाएको थियो।

केस तीन

जेठ ३० गते बाजुरा बडीमालिका नगरपालिका–२ माझिगाउँका ४५ वर्षिय पुरुषले क्वारेन्टिनमै डोरीको पासोले झुण्डिएर आत्महत्या गरे।

आत्महत्या पुरुषमा असार ३ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। उनी जेठ २८ गते भारतबाट आएर क्वारेन्टिनमा बसेका थिए। २४ वर्षदेखि भारत बस्दै आएका उनीसँगै श्रीमती र ४ छोराछोरी नेपाल फर्किएका थिए।

केस चार

असार १ गते क्वारेन्टिनमा बसेर घर फर्किएकी सुर्खेत सिम्ता गाउँपालिका– ८ की २५ वर्षिया युवतीले आत्महत्या गरिन्।

उनी भारतबाट श्रीमानसहित जेठ १२ गते फर्किए लगतै १४ दिनसम्म क्वारेन्टिनमा बसेपछि आरडीटी नगेटिभ आएपछि घर गएकी थिइन्।

आत्महत्या गरेको केही दिनपछि उनको रिपोर्ट पोजेटिभ आएको थियो।

केस पाँच

असार ३ गते अर्घाखाँचीको शितगंगा नगरपालिका– ५ का ४५ वर्षिय पुरुषले क्वारेन्टिन नजिकैको एक रुखमा झुण्डिएर आत्महत्या गरेका थिए।

क्वारेन्टिन बसेका उनको आरडिटी पोजिटिभ देखिएपछि क्वारेन्टिनमै आत्महत्या गरेका थिए।

उनी जेठ १० गते भारतबाट घर फर्किएका थिए।

केस छ

असार ७ गते बझाङको पाथिभेरा गाउँपालिका– ७ का ३० वर्षिय युवकले क्वारेन्टिनमा झुण्डिएर आत्महत्या गरे।

भारतबाट आएका युवक असार ५ गतेदेखि क्वारेन्टिनमा बसिरहेका थिए।

केस सात

असार ९ गते तनहुँको घिरिङ गाउँपालिकाका ४९ वर्षिय पुरुषले क्वारेन्टिनमा सिलिङमा सुरुवालको पासो लगाएर आत्महत्या गरे।

रोजगारीका लागि भारत गएका उनी असार ४ गते घर नेपाल फर्किएका थिए।

केस आठ

असार १७ गते क्वारेन्टिनमा बसेका रोल्पाको गंगादेव गाउँपालिका ५ का ३१ वर्षिय पुरुषले आत्महत्या गरे। दुबईबाट आएर क्वारेन्टिनमा बसेका उनले झुण्डिएर आत्महत्या गरेका थिए।

मान्छे बाँच्नका लागि जति प्रेरित छ, उति नै प्रेरित केही मानिसहरु मर्नका लागि भइरहेको विज्ञले बताएका छन्। मानसिक तनाव, प्रेममा असफल, गरिबीका कारण समाजमा यस्ता घटना घट्ने विज्ञहरुले बताउने गरेका छन्। तर पछिल्लो केही समययता भने कोरोना भाइरस संक्रमणको डरका कारणसमेत आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ।

महामारीको त्रास, लकडाउन, आर्थिक संकट अनि महामारीले सिर्जना गरेका विभिन्न समस्याका कारण आत्महत्याका घटना घट्ने गरेको विज्ञहरुले बताएका छन्। पछिल्लो समय संक्रमणको जोखिम कम गर्न क्वारेन्टिनमा राखिएका ८ जना व्यक्तिले आत्महत्या गरिसकेका छन्।

सांकेतिक तस्बिर
यस्तै क्वारेन्टिनमा मात्र नभएर लकडाउन सुरु भएसँगै देशभर आत्महत्या गर्नेको संख्या बढेको छ।

यद्यपि व्यक्तिलाई कुनै पनि ठाउँमा घुलमिल हुनका लागि माहोल चाहिने मनोविश्लेषक बासु आचार्यले बताए।

‘ऊ बसिरहेको वातावरण ऊ केन्द्रित छ, छैन। उसलाई सजिलो भइरहेको छ छैन भनेर सबैभन्दा पहिला याद गर्नुपर्छ। यस्तो कुरा याद नगरी क्वारेन्टिनमा बस्दा पठाउँदा उसको ‘मुड’ खराब हुन सक्छ’, आचार्यले भने, ‘जुन कुराले उसलाई नमज्जा लाग्न सक्छ, छट्पटी हुन सक्छ, तनाव हुन सक्छ। उक्त माहोलमा घुलमित हुन गाह्रो हुन्छ। नजिकै घर हुँदा पनि आफू नराम्रो अवस्थामा बसेको छु भन्ने विचारहरु मनमा उब्जिन सक्छन्।’

यसै पनि क्वारेन्टिन व्यवस्थित नहुँदा क्वारेन्टिनमा बसेका व्यक्तिमा संक्रमणको डर, चिन्ता उस्तै हुन्छ।

आचार्यले भने, ‘क्वारेन्टिनमा बसेका व्यक्तिमा होइन, हामी कोहीलाई पनि आफूलाई मन नपरेको ठाउँमा राखिदिने हो भने एकै छिनमा छट्पटी सुरु हुन्छ। क्वारेन्टिनमा बस्न झन कति गाह्रो होला। संघमा बनेका क्वारेन्टिनको अवस्था एकदमै दर्दनाक छ। त्यहाँको माहोल चित्त बुझ्दो छैन।’

उनका अनुसार ‘ट्रमा’को अवस्थामा मानिसहरु आफै मनोपीडित हुने सम्भावना बढी छ भने त्यो माहोलमा कसरी घुलमित हुन नसक्दा व्यक्तिको मानसिक स्वास्थ्यको बारेमा बहस चलाइदिँदा अनि उनीहरुको समस्याको बारेमा सोधपुछ गरिदिँदा केहीहदसम्म समस्याको समाधान हुन सक्छ।

क्वारेन्टिन बसेका मानिसलाई काउन्सिलिङको आवश्यक्ता छ। उनीहरुका लागि काउन्सिलिङ एकदमै महत्वपूर्ण रहेको उनले बताए।

‘खाना, बस्न र लागउनको मात्रै मान्छेलाई गाह्रो वा पीडा भइरहेको भन्ने हुँदैन। मानिसको मनमा धेरै कुराहरु हुन सक्छन्, कसैलाई भविष्यको चिन्ता हुन सक्छ। कसैलाई परिवारका हुन सक्छ। आफ्ना समस्या मानिसले सोचिरहेका हुन्छ। क्वारेन्टिनमा बस्दा उनीहरु फुर्सदिला हुन्छन् र आफ्ना समस्या अझ बढी सोच्न सक्छन्। अनि विकल्पमा आत्महत्या आउन सक्छ। कोही पनि व्यक्ति सुरुमै आत्महत्या गर्ने योजना बनाएको हुँदैन। सुरुमा उनीहरु सोच बनाउँछन्’, उनले भने, ‘जस्तै उदाहरणका लागि लिने हो भने एक हजार जना व्यक्तिले मर्नै पाए आनन्द हुन्थ्यो भनेर सोच बनाएका छन् भने तीमध्ये दुई सय जनाले मर्ने योजना बनाएका छन्। त्यो मध्यको ६० जनाले आत्महत्याको प्रयास गर्छन्। ती मध्येका पनि २० जनाको मृत्यु हुन्छ। बाँकीलाई घाइते हुने गर्छन्।’

आचार्यका अनुसार जति आत्महत्या गरिरहेका हुन्छन्, तीमध्ये धेरै जनाले आत्महत्याका लागि तयारी गरेर बसिरहेका हुन्छन्। तर उनीहरुलाई हरेक कुराले रोकिरहेको हुन सक्छ।

उनका अनुसार मानिसले शरीरिक स्वास्थ्यको लागि घरखेत बेच्नुपर्ने अवस्थामा मानिसक स्वास्थ्यका बारेमा कसैले चासो देखाएका छैनन्। कति पीडामा हुन्छ र मानिसले आफ्नो ज्यानै फाल्न बाँध्य हुन्छ? मानिसले आफ्नो मनको पीडा व्यवस्थापन गर्नका लागि आत्महत्याको बाटो रोज्ने गर्छ।

उपचार गरे पीडा कम हुनुको साटो मानसिक स्वास्थ्यमा उत्पन्न हुने गरेका समस्या ठिक भएपनि सरकारले मानसिक स्वास्थ्यको बारेमा बुझाउन नसकेको उनले बताए।

‘आत्महत्या गर्नु अगाडि उनीहरुले मर्नै पाएपनि हुन्थ्यो, कस्तो उराठ लाग्दो संसार, सजिलै मर्न के गर्ने, म मरेपछि ठिक हुन्छ भन्ने जस्ता विभिन्न ‘क्लू’ दिएका हुन्छन्। यसको अर्थ उनीहरुले कसैले आफूलाई बुझ्छ की भन्ने सोचिरहेका हुन्छन्’, उनले थपे, ‘मानसिक समस्या बढ्दा कुनै पनि व्यक्तिलाई दिक्क लाग्न सक्छ, डर लाग्न सक्छ, शंका लाग्न सक्छ। यस्तो अवस्थामा तपाईले कसैको सहयोग लिनुपर्छ। उपचार गर्नुपर्छ। उपचार गर्‍यो भने ठिक हुन्छ।’

साभार: देश सञ्चार

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.