नेपालमा कोरोना संक्रमण घट्ने क्रम (फ्ल्याट कर्व) उन्मुख

२८ असार २०७७, आईतवार ०३:३९

डा सन्तोष दुलाल 

विश्वव्यापी महामारीको रुपमा फैलिएको नयाँ कोरोना भाइरस रोग (कोभिड-१९) ले करिब पाँच महिनाको अन्तरालमा १ करोड २७ लाख मानिसलाई संक्रमण गरेको छ। यो भाइरसले ५ लाख ६५ हजारको मृत्यु गराउनुका साथै विश्वको आर्थिक, पर्यटन, व्यापार,  शिक्षा र जनस्वास्थ्य क्षेत्रहरुलाई आन्क्रान्त पारेको छ।

कोरोनाको ताजा तथ्यांकलाई विश्लेषण गर्दा संक्रमितको सङ्ख्याको आधारमा श्रेणीकरण गर्दा विश्वमा अमेरिका पहिलो, ब्राजिल दोस्रो र भारत तेस्रो स्थानमा छन्। यस्तै, पाकिस्तान बाह्रौं, बङ्लादेश सत्रौं स्थानमा र नेपाल ६१औं स्थानमा छ। कोरोना प्रसारण र संक्रमण अहिले दक्षिण एसियामा रेड जोनमा पुगेकोले उच्च सतर्कताका साथ  कोरोना सम्बन्धित रोकथामका उपाय र रणनीतिहरू कार्यान्वयन गर्न आवश्यक छ।

नेपालमा कोरोनाको तथ्यांकलाई विश्लेषण गर्दा २०७६ माघ दोस्रो हप्ताको सुरूमा चीनबाट आएका व्यक्तिमा कोरोना पुष्टिपश्चात् पहिलो संक्रमणबाट संक्रमितको सङ्ख्या १० पुग्न ८० दिन (२०७६ चैत ३०), १०० संक्रमित पुग्न १०७ दिन (२०७७ वैशाख २७), संक्रमितको संख्या १,००० पुग्न १२७ दिन (जेठ १६), ५,००० संक्रमित पुग्न केवल १४१ दिन (जेठ ३०),  संक्रमितको संख्या १०,००० पुग्न केवल १५२ दिन (असार ९) र संक्रमितको संख्या १५,००० पुग्न १६२ दिन (असार १९) मात्र लाग्यो। कोरोना संक्रमण पुष्टि भएको संख्यामा ९७ प्रतिशत आयातित भएकाले नेपालभित्र भने कोरोना प्रसारण छिटपुट (स्पोराडिक) मात्र देखिएकोले अहिलेसम्म कोरोना प्रसारण समुदाय स्तरमा पुगिनसकेको अवस्था छ।

६ जिल्लाबाट सबै जिल्लामा संक्रमण फैलिन मात्र ५५ दिनको समय अवधिले कोरोना भाइरसको तीव्र संक्रमणको अनुभुति दिलाउँछ। साथै विगत ४१ दिनको अन्तरालमा ३० वटा कोरोना सम्बन्धित मृत्युले यसको गम्भीरता प्रकट गर्छ (लेखा चित्रमा हेर्नुहोस)।

नेपालमा कोरोनाको सम्बन्धित मृत्यु  परीक्षण मृत्यु (३८ सङ्ख्या) दर केवल ०.२३ प्रतिशत छ भने अमेरिकामा ४.१ प्रतिशत, बेलायतमा १५.५ प्रतिशत, स्पेनमा ९.४ प्रतिशत, भारतमा २.६६ प्रतिशत, दक्षिण कोरियामा २.१ प्रतिशत र जापानमा ४.७ प्रतिशत छ, जुन नेपालको धेरै न्यून छ।

यसलाई अर्को तरिकाले विश्लेषण गर्दा, सम्बन्धित देशको १० लाख जनसंख्यामा कोरोना सम्बन्धित मृत्यु हेर्दा नेपालमा १, अमेरिकामा ४१४, बेलायतमा ६६०, स्पेनमा ६०७, भारत १६, दक्षिण कोरियामा ६ र जापान ८ हुन आउँछ। यसको कारण सायद कोरोना प्रसारण र संक्रमण नेपालमा  समुदाय स्तरमा नपुगेको, विकसित देशहरू अमेरिका र युरोपियन देशहरूको तुलनामा नेपालमा दीर्घरोगी र पाको उमेरका मानिसहरू साविकभन्दा कम संक्रमण देखिनु, भिन्न सांस्कृतिक मूल्यमान्यता र परम्पराका साथै खानापानका आनिबानी र गतिविधिहरुले पनि भूमिका खेलेको हुनसक्छ। थप, आनुवांशिक (होस्ट जेनेटिक्स वा भाइरल जेनेटिक्स) पनि केही भूमिका खेल्न सक्छ। तर यकिन नै गर्न त उचित अनुसन्धानका तथ्य र प्रमाणको निचोड हुन आवश्यक छ।

swasthyakhabar.com

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.