के माया लाग्छ र!


गायिका एलिना चौहानलाई बिहानै ‘गुड मर्निङ’ भन्नेहरू अचेल यस्तो लेखेर पठाउँछन्– के माया लाग्छ र!

‘गुड नाइट’ सन्देशमा पनि उही– के माया लाग्छ र!

यो एलिनाकै स्वरमा चर्चित भएको गीतको बोल हो। सार्वजनिक भएको तीन हप्तामा युट्युबमा चालीस लाखमाथि भ्युज पाइसकेको छ। हरेक दिन उनकै गीतको टिकटक बनाएर पठाउने प्रशंसकहरूको संख्या अझै पनि धेरै छ।

कभर गीत गाएर चर्चामा आएकी एलिनाले स्रोता-दर्शकको माया पाएको पहिलो पटक होइन। तर आफ्नै गीतमा यति धेरै माया, पहिलो पटक हो।

एलिना ‘इन्स्टाको फोटो रिप्लाई’ (कभर गीत) बाट पहिलो पटक चर्चामा आएकी हुन्। त्यो कभर गीतपछि धेरैले उनलाई ‘इन्स्टावाली’ भनेर चिने। त्यसपछि उनलाई अर्को कभर गीत ‘तिम्रो मायाले बाँधेर राख’ले थप चर्चा दिलायो।

त्यो बेला ट्रेन्डिङमा परेको ‘इन्स्टाको फोटो रिप्लाई’ युट्युबमा सत्तरी लाखभन्दा बढी पटक हेरिएको छ। उनले गाएका केही कभर गीत ‘ओरिजिनल’ भन्दा बढी चर्चित बने। यो लोकप्रियता उनका लागि आफ्नै गीत गाउन पाउने अवसरको भर्‍याङ बन्यो।

उनले गाएको ‘बरी लै’ ले पनि एक करोडभन्दा बढी भ्युज पाएको थियो जुन ओरिजिनलभन्दा बढी चर्चित भयो। संगीतकार वसन्त सापकोटामार्फत एकै पटक तीन वटा गीत रेकर्ड गराएर उनको औपचारिक संगीत यात्रा सुरू भएको हो। छोटो समयमै उनले यो यात्रामा हात पारेको सफलता लोभलाग्दो छ। लु सुने उनको गित यहाँ क्लिक गरेर|

‘वसन्त सरले गीत रेकर्डका लागि प्रस्ताव गर्दा मलाई पत्याउनै गाह्रो परेको थियो,’ उनी सुनाउँछिन्, ‘फेक कल आको हो कि भनेर अर्को फोनबाट कल गर्न समेत लगाएको थिएँ।’

रहरै-रहरमा कभर गीत रेकर्ड गरेर गरेकी उनलाई पछिल्लो गीत ‘के माया लाग्छ र’ ले पूर्ण रूपमा गायक बनाइदिएको छ। यसअघि आफ्नो गीत खै भन्नेहरूलाई दरिलो जवाफ दिएको छ।

यो सफलताको खुसी साट्ने उनी आफू एक्ली छैनन्। उनका परिवारका सदस्यसँगै प्रशंसक पनि छन्। उनका कभर गीतहरू पछ्याउने प्रशंसकले भनिरहेका छन् रे, ‘तपाईंको ओरिजिनल गीत हिट हुँदा खुसी लागिरहेको छ।’

उनी आफैं पनि कम्ता खुसी छैनिन्। ‘इन्स्टाको फोटो यति हिट भयो कि टिकटक, फेसबुक जताततै आफ्नो गीत र चर्चा। फेसबुकमा साथी बन्न चाहनेको ओइरोर। खुसीले निद्रा लाग्थेन। रियल एक्साइटमेन्ट थियो,’ उति बेलाकाे खुसीसँग दाँज्दै थप्छिन्, ‘अहिलेको अवस्था पनि ठ्याक्कै त्यस्तै।’

अहिलेको चर्चाले उनलाई कभर वा फिमेल भर्सनभन्दा आफ्नै गीत चल्दाको अनुभव फरक हुने नयाँ अनुभव दिइरहेछ।

उनका कभर गीतले स्रोताको मन जिते पनि संगीत क्षेत्रभित्र उनलाई नयाँ ठानिन्थ्यो। पछिल्लो गीतले संगीत क्षेत्रमा पनि आफ्नो ‘भाउ’ बढाएको उनको अनुभव छ।

‘कामको प्रस्ताव धमाधम आइरहेको छ,’ उनी उत्साहित हुँदै भन्छिन्।

अंकितबाबु अधिकारीको संगीतको ‘के माया लाग्छ र’ मा एलिनाको साथमा निशान भट्टराईको स्वर छ। हर्क साउदको शब्द भएको यसको भिडियो निर्देशन नवीन चौहानले गरेका हुन्।

‘हरेक उमेर समूहले मन पराउने गीत गाउने अवसर सधैं पाइन्न। गीतको अडियोजस्तै भिडियो पनि निकै राम्रो भएकाले समग्रमै राम्रो गीत बनेको छ,’ एलिना भन्छिन्।

उनी यो गीतमा निर्देशक नवीन मार्फत जोडिएकी हुन्। यो गीतमा काम गर्ने प्रस्ताव उनले लकडाउनका बेला बिर्तामोड, झापामा हुँदा पाएकी थिइन्।

‘नवीन दादाले ह्वाट्स एपमा गीतको डमी पठाउनुभएको थियो। सुन्नेबित्तिकै यो त गाउनै पर्छ भन्ने लागेको थियो,’ उनले भनिन्।

लकडाउन खुकुलो हुन थालेपछि काठमाडौं आएर आर्टमान्डु स्टुडियोमा रेकर्ड गर्दा गीत मन पराइने आश झनै बढ्यो, ‘तर यत्ति छिटै यति धेरै मान्छेलाई मन पर्ला भन्ने सोचेकै थिइनँ।’

हतारहतारमा रेकर्ड गर्नुपर्दा एलिना आफैंलाई सुरूमा चित्त बुझेको भने रहेनछ।

‘घाँटी दुखेर स्वर सुकिराथ्यो,’ उनी सम्झिन्छन्। घाँटी नदुख्दा पनि नाके सुनिने आवाजकै कारण आफू छानिएको उनी बताउँछिन्।

‘नाके-नाके टोन बनाउनु पर्ने गीत थियो। सोचे जति अझै गर्न सकिनँ भन्ने लाग्छ अझै,’ अरूभन्दा फरक टोनकै कारण पनि धेरैलाई उनको स्वर ‘एक्स्ट्रा’ लागेको उनले महशुस गरेकी छन्।

एलिनाले कभर गीत रेकर्ड गरेर आफ्नै च्यानल बनाएर युट्युबमा हाल्न थालेका प्लस-टु पढाइपछि हो। झापा घरनजिक स्टुडियोका दाइको सहयोग लिएर रेकर्ड गराउँथिन्। चर्चा बढेपछि मिडियामा पनि उनको खोजी हुन थाल्यो। कामका प्रस्ताव आउने थाले। तर धेरै प्रस्ताव काठमाडौंबाट आउँथे। अरूलाई जस्तै उनलाई पनि ‘काठमाडौं नगए तर राम्रा अवसर छुट्ने रैछ’ भन्ने भयो र आइन्।

हाल काठमाडौंको एउटा होस्टलमा बस्ने उनी लकडाउन सुरू हुनु दुई महिनाअघि यतै बस्ने निर्णय गरेर आएकी थिइन्। काठमाडौं आएको केही दिनमै महामारी त्रासले झापा फर्किँदा उनको मन धुकचुक भएकै हो। तर लकडाउन खुकुलो भएपछिको पहिलो गीत नै चर्चित बनेपछि झिनामसिना डर सबै भुलेकी छन्।

२२ वर्षे एलिनाले प्लस-टुमा विज्ञान पढेकी थिइन्। हाल उनी ऐच्छिक अंग्रेजीमा स्नातक दोस्रो वर्षकी विद्यार्थी हुन्। तर औपचारिक अध्ययनलाई उनलै खासै प्राथमिकता दिएकी छैनन्। उनी भन्छिन्, ‘औपचारिक पढाइ छोड्दिनँ तर जे पढे पनि मेरो काम संगीत नै हो।’

झापा हुँदा दुई वर्षजति पढाउने काम गरेकी उनलाई संगीतमै लाग्छु भन्ने विश्वास थिएन। घरमा बुबाले गीत नगाऊ भनेनन्, तर पढाइ सकेर मात्रै भन्थे। उनकी आमा भने टोलछिमेकमा हुने भेलामा भजन गाउँथिन्। एलिनाको संगीत सिकाइको एउटा मुख्य आधार यही बन्यो।

‘पचास जति घरका मान्छे भेला हुन्थ्यौं। म पनि ममीसँगै गाउँथे,’ उनी सुनाउँछिन्।

यसरी गाउँदा उनको स्वर राम्रो छ भनेको सुन्दा फुरुंग हुन्थिन्। यस्तै तारिफ उनले एघार कक्षाका विद्यार्थीलाई स्वागत गर्ने क्रममा कलेजमा गाउँदा पाइन्। प्रिन्सिपलले नै तारिफ गर्दा हौसला झनै बढ्यो।

एलिना सम्झिन्छिन्, ‘राम्रो गाउन सकिन्छ भन्ने आत्मविश्वास त बढ्यो। तर स्रोताका अगाडि उभिँदाको डर त्योबेलासम्म बाँकी थियो।’

प्रविधि पहुँचले नेपाली कभर गीतका स्रोता अहिले संसारभर छन्। एलिनाले कभर गाएरै भारतका सिक्किम, दार्जिलिङदेखि दिल्ली सहरसम्म स्रोता कमाएकी थिइन्। स्थानीय सांस्कृतिक कार्यक्रम बाहेक उनले दिल्लीका गोर्खा सैनिकहरूमाझ पनि गाउने अवसर पाइसकिन्। गत वर्ष दसैंछेक भएको सांगीतिक कार्यक्रममा चर्चित गायक शुरेश कुमार पनि थिए।

‘त्यहाँ झन्डै हजार जनाको भीँड थियो। त्यही प्रस्तुतिमा मैले संगीतमा लागेर यति धेरै सम्मान पाइने रहेछ भन्ने महशुस गरेँ,’ उनी भन्छिन्।

अनुभवसँगै आत्मविश्वास पनि बढाइरहेकी उनले गाएर पहिचान बनाउने संघर्ष पार गरिन् भन्दा फरक नपर्ला। तर यो सुरूआती संघर्ष नै पर्याप्त छैन।

‘धेरै राम्रा गीत गाउनु छ। संगीत सिकेर आफ्ना कमजोरी निखार्नु छ,’ उनी योजना सुनाउँछिन्।

लकडाउनका कारण धेरै गीत सार्वजनिक हुन रोकिएका थिए। तिनमा एलिनाका पनि केही रेकर्ड भइसकेका गीत पर्छन्। ‘के माया लाग्छ र’ पछि उनले अरू गीतसँगै तीज गीत पनि गाइरहेकी छन्। तीज गीतका भिडियो छायांकनले पनि निकै व्यस्त बनाएको उनी बताउँछिन्। अचेल हरेक दिन रेकर्डमा वा छायांकनमा व्यस्त छिन्।

उनको पहिलो तीज ‘आयौं चेली’ पनि स्रोताले निकै मन पराएका छन्। यसमा उनीसँगै समीक्षा अधिकारी र रचना रिमालको पनि स्वर छ। यसको भिडियोमा उनी आफैं छमछमी नाचेकी छन्। भिडियोमा देखिए पनि अभिनय नै गर्ने रहर भने नभएको उनी बताउँछिन्।

भिडियोमा देखिने कारण खुलाउँछिन्, ‘अचेल लकडाउनका कारण इनडोर सुटिङ भइरहेकाे छ। भिडियोमा देखिँदा रमाइलो हुन्छ, अनुभव पनि बढ्छ।’

एलिना नारायण गोपाल र लता मंगेशकरका गीतलाई आफ्नो अनौपचारिक सिकाइको मुख्य आधार मान्छिन्। भविष्यमा आफूले गाउने गीत पनि ती गायक-गायिकाको जस्तै यादगार बनोस् भन्ने उनको चाहना छ।

भन्छिन्, ‘हरेक गायक-गायिकालाई हिट गीत चाहिन्छ। तर हिट भएका सबै गीत राम्रा नहुन सक्छन्।’

उनका लागि अर्थपूर्ण शब्दसहित स्रोताको मनमा बस्ने नै राम्रा गीत हुन्। त्यसैले अश्लील र द्वैअर्थी गीत गाएर हिट हुने बाटोमा नहिँड्ने उनको दाबी छ।

फुर्सदमा मनिर्ने गीत सुन्दै याद नहुन्जेल दुई-तीन दिनसम्म अभ्यास गरिरहनु एलिनाको सानैदेखिको बानी हो। अचेल उनी टिकटकमा गीत अपलोड गर्दै स्रोतासँग जोडिन मन पराउँछिन्। महामारी र लकडाउनले एकान्तमा बस्न बाध्य बनाएका बेला टिकटकलाई उनले भरपर्दो साथी बनाइन्।

समय परिस्थितिअनुसार टिकटकमा हाल्ने गीतको भाव पनि फरक हुन्थे। नवराज विक हत्या प्रकरण बेला उनले ‘दैव तेरो मायाको खेला’ले अपलोड गरेर दुःख बिसाएकी थिइन्।

टिकटकमा उनको सक्रियता बढेपछि स्रोताहरूले गीत अनुरोध गर्न थाले। पूर्वेली लवजमा बोल्ने एलिनालाई लता मंगेशकर वा मेलिना राईको जस्तो सुरिलो स्वर मन पर्छ। आफ्नो नाके स्वरमा उनी मिठास भेट्थिनन्। गीतमा ‘फील’ हुनुपर्छ भन्ने उनलाई अचेल आफ्नो नाके स्वर नै वरदान भएको लागिरहेको छ।

‘सबैले मेरो स्वर एक्स्ट्रा भन्नु हुन्छ,’ उनी हाँस्दै भन्छिन्, ‘यति धेरै स्रोताले भनेपछि पत्याउनै पर्‍यो।’

तर ‘एक्स्ट्रा’ भएकैले उनलाई धेरैले सबैखाले गीत गाउन सक्नेमा शंका गर्ने रहेछन्। उनी ढुक्क साथ भन्छिन्, ‘टिपिकल लोकदोहोरी चाहिँ म सक्दिनँ, तर अरू सबै खालका गीत गाउन सक्छु जस्तो लाग्छ।’

कभर गीतबाट हिट भए पनि यो प्रक्रियामा उनले केही विवाद झेल्नु परेको थियो। यसबारे उनी भन्छिन्, ‘नयाँ थिएँ, कपिराइटबारे केही थाहा थिएन। त्यसैले केही त्रुटि भए।’

धेरैले कभर गीत गाउँदा नयाँ प्रतिभामाथि उनीहरूको ‘ओरिजिनालिटी’माथि प्रश्न पनि उठ्छन्। एलिनामाथि पनि यो प्रश्न तरबारको धारजस्तै तेर्स्याउनेहरूको कमी थिएन।

तर एलिना कभर गीतले आफूजस्ता धेरै कलाकारलाई कम खर्चमै स्रोता-दर्शकमाझ पुग्न सहयोग गर्ने भएकाले यसलाई सकारात्मक रुपमा लिनुपर्ने मत राख्छिन्।

उनी भन्छिन्, ‘कभर गीत वा रिमेक नयाँ प्रतिभाका लागि प्लेटफर्म त हो नै, पुराना गीत नयाँ स्रोतासम्म पुर्‍याउने प्रभावकारी माध्यम पनि हो।’

तर कुनै बेला शंका मात्रै गर्ने र तीखो वचन लाउनेहरू पनि अचेल उनलाई भन्न थालका छन् रे– के माया लाग्छ र!

साभार: सेतो पाटी


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope