गायिका सोफियालाई गीत हटाउन दबाब र धम्की

६ श्रावण २०७७, मंगलवार ०३:५५

काठमाडौँ — गायिका सोफिया थापाले आइतबार सार्वजनिक भएको ‘अबको तीज नो ब्रत प्लिज’ गीत हटाउन लगातार दबाब दिइएको बताएकी छन् । हिन्दु धार्मिक संगठनका नाममा केही व्यक्तिहरुले गीत युट्युबमा सार्वजनिक भएलगत्तै आफूलाई फोन गरी हटाउन भनिएको र गीत नहटाए घरमै आएर शारीरिक क्षति पुर्‍याउने धम्कीसमेत दिइएको उनले बताइन् ।

दुर्व्यवहार र बुलिङ गर्ने शब्दहरुको प्रयोग गर्दै धम्की आइरहेको छ । हिन्दु जागरण र विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिका नाममा मलाई धम्की दिइरहेको छ । निम्नस्तरको गालीसहितको मेसेजहरु आइरहेका छन् । बिहानदेखि फोन आइरहेको छ । गीत हटाएन भने सञ्चार मन्त्रालयमा गएर उजुरी दिने पनि भन्नु भएको छ,’ उनले भनिन् ।

आफूले गाएको गीतमा धर्मलाई कतै नछोएको उनी बताउँछिन् । उनले भनिन्, ‘मैले धर्मलाई केही छोएकै छैन । मैले तीजमा भएको सानो विषयलाई परिस्कृत गरौं भनेको छु । यसमा केको टाउको दुखाउनु पर्ने र हिन्दु धर्मको आस्थालाई आँच आएर हिन्दु धर्म नै पुरै हल्लिने कहिँ पनि म देख्दिनँ ।’

श्रीमानको आयु लामो होस् भनेर पानी पनि नखाएर ब्रत बस्नु स्वास्थ्यको हिसाबले पनि ठीक नरहेको र खुट्टाको पानी खानु समानताको सोच राख्ने सबैका लागि गलत विचारधारा रहेको भन्दै आफूले गीत गाएको उनी बताउँछिन् । ‘गरगहना झप्पकै लगाएर पार्टी गरेर फजुल खर्च गर्नुहुँदैन है भन्ने सन्देश राखेको छु । यसको मतलब तीज मनाउनै नहुने भन्ने होइन्, परिस्कृत गरौं भनेकी हुँ । यति भन्दा हिन्दु धर्ममा कसरी खतरा भयो ?’ उनले भनिन् ।

kantipur daily

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.