श्रीमतीको हत्या गरेको कसुरमा जेल परेका पूर्वडिआइजी रञ्जन कोइराला छुटे

८ श्रावण २०७७, बिहीबार १८:५७

श्रीमतीको हत्या गरेको कसुरमा जेल परेका सशस्त्र प्रहरी बलका पूर्वडिआइजी रञ्जन कोइराला बिहीबार जेलबाट छुटेका छन्।
सर्वोच्च अदालतले जन्मकैदको फैसला ‘चर्को पर्न जाने’ भन्दै कैद सजाय घटाइदिएपछि  उनी जेलबाट  छुटेका हुन्।
आठ वर्ष ६ महिना कैद सजाय भुक्तान भएपछि कोइरालालाई थुनामुक्त गरेको डिल्लीबजार कारागारका जेलर गणेश आचार्यले जानकारी दिए।
‘भर्खरै १५-२० मिनेट अगाडि उहाँ छुट्नुभयो,’ उनले सेतोपाटीसँग भने।

कोइरालाले साढे ८ वर्षअघि श्रीमती गीता ढकाललाई मारेर प्लास्टिकमा पोको पारी मकवानपुरको टिष्टुङ जंगलमा पुर्‍याई पेट्रोल छर्केर जलाएका थिए। गीताले नै रिस उठाएका कारण मारेको भन्दै सर्वोच्चले उनलाई जिल्ला र पुनरावेदन अदालतले गरेको सर्वस्वसहितको जन्मकैद सजाय घटाइदिएको हो।

श्रीमती मारेका कोइरालालाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश तेजबहादुर केसीको इजलासले ‘सर्वस्वसहित जन्मकैद चर्को हुने’ बताउँदै कैद सजाय घटाएको थियो। जिल्ला र पुनरावेदन अदालतले कोइरालालाई दोषी ठहर गरेको फैसला मिले पनि सर्वस्वसहित जन्मकैदको सजाय नमिलेको सर्वोच्चको तर्क छ।

कोइरालालाई जन्मकैदको सजाय घटाएर प्रधानन्यायाधीश राणा र न्यायाधीश केसीले ८ वर्ष ६ महिनामा झारेको थियो।

साभार: सेतो पाटी

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.