त्यो मिठो दिन

१४ श्रावण २०७७, बुधबार १२:०१

कहाँबाट हो बिछ्यौनामा कमिलो कुद्दैथियो
म भर्खर उठेर आङ तन्काउदै थिए।
दुई औला बिचमा च्यापेर मारिदिएको भएपनी हुन्थ्यो
तर त्यसै आनन्द आयो उ कुदेको देखेर।

श्रीमतीले चिया उछ्यानमै ल्याईदिएकि रहिछन ।
सेलाईसकेछ। झिंगो डुबुल्कि मार्दै थियो ।
उसलाई चोट पुग्ने काम केहि गरिन ।
चोरी औलाले उठाएर उड्न दिए ।
आनन्द आयो उ उडेको देखेर ।

ल्यापटप खोले र मन लगाएर केहि पढ्न खोजे
कल्याङ्ग, मल्याङ्ग भुराहरुको आवाजले
एकाग्रतानै भंग गरिरह्यो।
लौरो लिएर खेदाएको भए पनि हुन्थ्यो ।
त्यसै आनन्द आयो उनीहरुले बुर्कुसी मारेको देखेर ।

खाना खाने बेला भईसकेछ
श्रीमतीले खाना खान बोलाईन।
न नुन लागेको थियो, न चामल पाकेको थियो।
हपारेको भएपनि हुन्थ्यो।
तर त्यसको स्वादनै बेग्लै थियो।
त्यसै आनन्द आयो हरेक दिनको भन्दा फरक स्वाद पाएर ।

हो, त्यस्तो मिठो दिन थियो त्यो एकदिन ।

त्यहाँ दृष्टिकोण थियो जसले त्यो दिनलाई
हरेक दिन भन्दा फरक पारेको थियो।

कबि: तुलसी आचार्य

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.