अस्ट्रेलियामा अड्किएका २ सय ९६ नेपालीहरू काठमाडौं प्रस्थान


सिड्नी-कोरोना महामारीका कारण अस्ट्रेलियामा अड्किएका २ सय ९६ नेपालीहरू सिड्नीबाट काठमाडौँ प्रस्थान गरेका छन्।

सिड्नीस्थित किङ्सफोर्ड अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार अगष्ट ६ तारिखको साँझ साढे नौ बजे उडेका उनीहरू शुक्रबार अगष्ट ७ तारिखका दिन मध्यान्हपछि काठमाडौँ पुग्नेछन्।

नेपाली राजदूतावास क्यानबेराको पहल तथा गैरआवासीय नेपाली संघ अस्ट्रेलियाको संयोजन र एएनएमडिए, एएनजेए लगायत विभिन्न सामुदायिक संघ, संस्थको सहकार्यमा गठन गरिएको ‘रिपाट्रिएसन टास्क फोर्स’ अर्थात् स्वदेश फिर्ती कमिटीले उक्त चार्टर्ड उडानलाई तेश्रो तथा अन्तिमपल्ट तय गरेको थियो।

सिड्नीदेखि सिंगापुरसम्म ‘सिंगापुर एयरलाइन्स’ को एउटा विमान तथा सिंगापुरबाट काठमाडौंसम्म ‘सिल्क एयरलाइन्स’को दुईवटा विमान चार्टर्ड गरिएको उक्त उडानमा सिड्नीलगायत अस्ट्रेलियाका अन्य राज्य र टेरिटोरीबाट पनि यात्रुहरू सामेल भएको स्वदेश फिर्ती कमिटीले जनाएको छ।

कमिटीका अनुसार अस्ट्रेलियाको ब्रिसबेनका यात्रुहरूका लागि बस तथा अन्य राज्यका यात्रुलाई व्यावसायिक उडानमार्फत् सिड्नीसम्म ल्याउने व्यवस्था समेत गरिएको थियो।
इकोनोमीतर्फ १ हजार ६ सय २५ अस्ट्रेलियन डलर तोकिएको सो उडानका लागि अन्य राज्यबाट सिड्नीसम्म आएका यात्रुले १ सय ५० अस्ट्रेलियन डलर अतिरिक्त शुल्क बुझाएका थिए।

उडानमा अधिकांश यात्रुहरू अस्ट्रेलियामा आफन्त भेट्न आएका अभिभावकहरू थिए।एडिलेडमा आफ्ना छोरी ज्वाइँलाई भेट्न आएकी चितवन, गैँडाकोट निवासी दिलकुमारी कँडेल आजको चार्टर्ड उडानमार्फत् काठमाडौँ फर्किन पाएकोमा खुशी देखिन्थिन्।

‘अस्ट्रेलिया आएको १० महिना भइसक्यो । घरमा बुढा एक्लै हुनुहुन्छ । घर जाने भन्दाभन्दै यहाँ अड्किएर बस्नुपर्यो । बस्न त यहाँ निकै रमाइलो नै थियो तर मन भने हरदम नेपालतिरै जाँदो रहेछ । आज बल्ल नेपाल फर्कने मेसो मिल्यो’, कँडेलले भनिन् ।

एडिलेडबाटै हिजो सिड्नी आएर सोही उडानमार्फत् यात्रा गर्न लागेकी आरती शाक्यले स्वदेश फिर्ती कमिटीले तय गरेको उडान तथा सहयोगबाट आफू सन्तुष्ट रहेको बताइन् ।

‘सँगै यात्रा गर्ने केही आमाबुआहरूलाई धेरै नै सहयोगको खाँचो मैले देखेँ । सिड्नी आएपछि पनि एनआरएनएले केहीबेर घुमफिरको समेत व्यवस्था गरेको रहेछ । सबैजना हँसिलो अनुहार बनाएर फर्कंदै हुनुहुन्छ । त्यसका लागि भूमिका खेल्नै सबैलाई धन्यवाद दिनैपर्छ’, शाक्यले सन्तुष्टिका भावहरू व्यक्त गरिन् ।

हालसम्म २ हजार ३ सय ६३ जना नेपालीहरूले फारममार्फत् स्वदेश फर्कने इच्छा व्यक्त गर्दै क्यानबेरास्थित नेपाली राजदूतावासमा आफ्नो नाम टिपाएको जानकारी दूतावासले दिएको छ ।

‘यसअघि नेपाल सरकार, दूतावास तथा नेपाल एयरलाइन्सको संयुक्त पहलमा जुन २३ मा २ सय ५९ तथा जुन २७ मा २ सय ११ जना यात्रुहरू नेपाल फर्किसकेका छन् । त्यसपछि स्वदेश फिर्ती प्रक्रियालाई सहज, सरल र सस्तो बनाउनका लागि दूतावासले नै पहल गर्दै एनआरएनए अस्ट्रेलियाको संयोजकत्व तथा अन्य संघ, संस्थाहरूको सहकार्यमा स्वदेश फिर्ती कमिटी गठन गरिएको थियो’, दूतावासकी उपप्रमुख दुरपदा सापकोटाले भनिन् ।

पहिला पैसा बुझाउने २ सय ६४ जना र ‘अत्यन्त जरूरी अनि सहानुभूतिपूर्ण अवस्था’का आधारमा ३४ जना यात्रुहरूको छनोट गरिएको उक्त उडानमा शुल्क घटेपछि फिर्ता गर्नुपर्ने पैसा तुरुन्तै फिर्ता गरिने जानकारी एनआरएनए अस्ट्रेलियाका अध्यक्ष तथा स्वदेश फिर्ती कमिटीका संयोजक केशव कँडेलले दिए ।

‘फाराम भरेपछि पैसा बुझाइसकेका अझ केही यात्रुहरू बाँकी छन्।उनीहरूको पैसा हामीले तुरुन्तै फिर्ता गर्छौं । साथै, नेपाल सरकारले व्यवसायिक उडानहरू सुचारू गरिसकेको अवस्थामा अब फेरि अर्को चार्टर्ड उडान गर्नुपर्ने आवश्यकता हामीले महसुस गरेका छैनौं। यो कार्यमा सहयोग गर्ने सबैप्रति हामी आभारी छौं’, संयोजक कँडेलले भने ।

उक्त चार्टर्ड उडानमा फर्केका यात्रुमध्ये ५५ जना भिक्टोरिया, २७ क्वीन्सल्याण्ड, १२ तास्मेनिया, १० दक्षिण अस्ट्रेलिया, ९ अस्ट्रेलियन क्यापिटल टेरिटोरी, ३ पश्चिम अस्ट्रेलिया तथा १ सय ८० यात्रुहरू न्यूसाउथवेल्स राज्यबाट सिड्नी एयरपोर्टसम्म आइपुगेको जानकारी एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष तथा न्यूसाउथवेल्स राज्यका संयोजक देव गुरुङले जानकारी दिए।

‘हामीले अन्य राज्यबाट अघिल्लो दिनमैँ सिड्नी आइपुगेका केही यात्रुहरूलाई यहाँ होटलमा बस्ने व्यवस्था मिलाउनुका साथै केही समय डुलफिर गर्ने व्यवस्था पनि गरेका थियौं। कोरोना कहरका कारण लामो समयसम्म फँसेका नेपालीलाई केही भए पनि राहत महसुस गर्न सकियोस् भन्ने हाम्रो टिमको मुख्य उद्देश्य थियो।’ न्यूसाउथवेल्स राज्य संयोजक गुरुङले भने।

नेपाल फर्केका यात्रुलाई १४ दिनसम्म नेपालमा होटेल क्वारेन्टिनमा बस्न अस्ट्रेलियन नेप्लिज मेडिकल एण्ड डेन्टल एसोसिएसनले आग्रह गरेको छ। यसअघि ‘स्वदेश फिर्ती कमिटी’ मार्फत् गत जुलाई १४ तारिखमा अस्ट्रेलियाबाट एक सय ४९ तथा जुलाई ३० मा एक सय ६१ (एक नाबालकसहित) यात्रुहरू नेपाल फर्किसकेका छन्।

साभार: देश सञ्चार


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope