अमेरिकामा सन् २००६ मा रिपब्लिकन जर्ज एलेनले डमोक्र्याट जिम वेबसँग सिनेट चुनाव हारे । एलेनलाई हराउन वेबका तर्फबाट युट्युबको भरपूर प्रयोग गरियो । कथित् नस्लवादी टिप्पणी गरेको उनको भिडियो क्लिप युट्युबमा अपलोड गरी विपक्षीले चुनावमा प्रचार गरे । उनले चुनाव हार्नुको मुख्य कारण नै यही बन्यो । त्यो बेला जेम्स कोटकीजस्ता राजनीतिक व्याख्याता पनि युट्युब राजनीतिमा हामफाले ।

फ्रान्स, इटाली, अस्ट्रेलियाजस्ता देशका शीर्ष नेताले पनि चुनावमा युट्युबलाई भरमार प्रयोग गर्ने गरेका छन् ।

चाड हर्ले, स्टिभ चेन र जावेद करिमले सन् २००५ मा भिडियो हेर्ने गरी बनाइदिएको वेबसाइट युट्युब डटकमले आज संसारको राजनीतिमा अदलाबदली ल्याउने तागत राख्छ । रिपब्लिकन एलेनले चुनाव हारेको वर्ष अर्थात् सन् २००६ मा त युट्युब आएको १ वर्ष मात्र भएको थियो ।

तर, त्यसयता १४ वर्षको अन्तरालमा युट्युबले विश्व शक्ति अमेरिकाको राष्ट्रपतीय चुनावदेखि नेपालजस्तो सानो मुलुकको विकट गाउँको एउटा सामान्य नागरिकसम्मलाई दख्खल दिने सामार्थ्य बनाइसकेको छ । सामाजिक रुपान्तरणमा युट्युबको भूमिका अत्यन्तै प्रभावकारी बनेको छ ।

छिमेकी भारतमा देशभक्त, न्युज लाउन्ड्री, कुइन्ट, वायर, ललन्टपजस्ता युट्युब च्यानल विश्वसनीय र लोकप्रिय छन् । यी च्यानलमा रचनात्मक, आलोचनात्मक, तथ्यगत विचार, विश्लेषण, संवाद अपलोड गरिन्छ । नेपालसहित विश्वका धेरै देशका मानिसले यी च्यानल सब्स्क्राइब गरेका छन् ।

नेपालमा पनि केही विश्वसनीय च्यानल छन् तर अत्यन्तै न्यून संख्यामा । सस्तो स्मार्टफोन र डाटाले इन्टरनेटमा आममानिसको पहुँच बढ्दै गएको छ । नेपालमा पनि गाउँगाउँमा इन्टरनेट पुगेको छ । एउटा सामान्य मानिसलाई युट्युबमा जे देखाइन्छ, उसले सोहीअनुसारको धारणा बनाइरहेको अवस्था छ ।

नेपालमा विश्वसनीय च्यानलभन्दा बढी अरुका दुःख बेच्ने, झैझडा देखाउने\लगाउने, विषय र प्रसंगलाई अतिरञ्जित गर्ने, परिआए प्रहरी, अख्तियार, अदालत सबै बनेर आतंक सिर्जना गर्ने खालका युट्युबतिर धेरै मानिस अलमलिइरहेकाे पाइन्छ । अत्यासलाग्दो कुरा त के भने यस्तै च्यानल हेरेर हाम्राे समाजले धारणा बनाउन थालेको छ ।

अहिले नै ट्रेन्डिङमा आएका भिडियोहरू हेरौँ न । युट्युबरले अर्जुन विक नामका एक मजदुरको परिवार नै भाँडिने अवस्थामा पुर्‍याइदिए । सामान्य भनाभनका कारण अर्जुनकी श्रीमती माइत गएकी रहिछन् । भोलिपल्ट छोरीलाई पिठ्यूँमा राखेर रिक्सा चलाइरहेका अर्जुनको भिडियो खिचेर युट्युबरले भाइरल बनाइदिए ।

यति मात्र होइन, भावाशेषमा ल्याएर अर्जुनलाई श्रीमतीविरुद्ध बोल्नसमेत लगाए । त्यसपछि युट्युबरका लागि ‘मसला’ बने अर्जुन, जति मन लाग्यो, जसरी मन लाग्यो, त्यसरी ‘तरकारी’मा हाल्ने र स्वाद लिने ।

उनका बारेमा गीत नै बनिसकेको छ । अर्जुनका घरबेटी, तिनका छिमेकी, चिनजानका व्यक्ति कोही बाँकी छैनन् अब भाइरल हुन । पछि उनकी श्रीमतीलाई पनि युट्युबरले भाइरल बनाए ।

उनीहरू युट्युबमार्फत नै अहिले आपसमा बाझाबाझ गरिरहेका छन् । अब उनीहरूलाई युट्युबरले कहिल्यै मिल्न दिने छैनन् । किनकि, युट्युबरका लागि उनीहरू ‘दुहुनो गाई’ हुन् । विक दम्पती मिल्नु भनेको युट्युबरको डलर रोकिनु हो ।

‘बच्चा पिठ्यूँमा बोकेर काम गर्ने दयालु बुबा’देखि सुरू भएको अर्जुनसम्बन्धी भिडियो हेडलाइन ‘हात जोड्दै अर्जुनका साथी मिडियामा । हे भगवान ! यस्तोसम्म गरेका रहेछन् अर्जुनले’, पिठ्यूँमा बच्चा बोकेर काम गर्ने अर्जुन विककी श्रीमतीलाई खोजेर ल्याए पत्रकारले, किन यस्तो गरेको ?’, भाइरल अर्जुनकी घरबेटी आइन् मिडियामा, खोलिन् अर्जुन र उनकी श्रीमतीको वास्तविकता’, पुण्य गौतमबाट आयो यस्तो जवाफ, अब अर्जुनलाई के होला ?’, पिठ्यूँमा बच्चा बोकेर काम गर्ने अर्जुन विककी श्रीमती रुँदै मिडियामा, वास्तविकता के, किन यसो गरेको ?’ सम्म बनिसकेका छन् ।

नेपाली युट्युबरले नै एक जना अघोरी भनिएका बाबालाई उकासेर विवाह गराइदिएको धेरै भएको छैन । ठट्यौली पारामा कतिपयले भन्ने गरेका छन्, ‘युट्युबरले अघोरी बाबाको धर्म नै भ्रष्ट गराइदिए ।’

रविना वादी नामकी एक महिलाको दुःखमा पनि युट्युबरको सानोतिनो मेला लागेन ।

हालै मात्र, सामाजिक अभियन्ता/युट्युबर भाग्य न्यौपानेको एउटा भिडियो विवादमा आयो । सामाजिक दूरी कायम राख्नुपर्ने विद्यमान नियमका माझ कपनस्थित केयर बालगृहकी सञ्चालिका पुष्पा अधिकारीलाई छोएर कुराकानी गरेको, अपमान हुने गरी प्रश्न गरेको जस्ता विषयमा आलोचना भएपछि उनले माफी मागिसकेका छन् ।

उक्त भिडियोलाई लिएर मानिसहरू ध्रुवीकृत छन् । फेरि भिडियोमा दूरी कायम नगरेको र अपमानजनक प्रश्न गरेको मात्र विवादित पक्ष होइनन्, थप प्रश्नहरू पनि छन् । जस्तो कि, नाटक गरी झाडीमा फालिएको भनिएको बच्चालाई त्यसरी फोकस गरेर भिडियोमा देखाइनु गलत कार्य हो ।

अख्तियारबाट खटिएजसरी हिसाबकिताब खोज्नु र त्यस क्रममा दुर्व्यवहार गरिनु झनै ठूलाे गलत कार्य हो । पुष्पाले गल्ती स्वीकारिसकेकी छन्, पैसा फिर्ता दिइसकेकी छन्, गलत नियतका साथ पैसा नलिएको भनिरहेकी छन् तर भाग्यले उनलाई र्‍याखर्‍याख्ती पार्दै हिसाब मागिरहेकाे भिडियोमा देख्न सकिन्छ । यी सबै प्रसंग उप्काउनुको कारण इथिक्सको ख्याल नगरिएको भन्न खोजिएको हो ।

भाग्यले दुःखमा परेका, शारीरिक अशक्तता भएका र बेसहारालाई सहयोग गर्दै आएका छन् । बेलाबखत ‘खास खुलासा’ पनि गर्छन् । तर, इथिक्स र नियमहरूबारे भने खासै जानकार नरहेको भन्ने उनले बनाएका भिडियो हेरेपछि सजिलै खुट्याउन सकिन्छ ।

भाग्यजस्ता सामाजिक अभियन्ता, चर्चित युट्युबरले इथिक्सको ख्याल गर्ने हो भने त्यसको प्रभाव अरु सानातिना च्यानलमा पनि पर्थ्यो । इथिक्स र सामाजिक सद्भावको ख्याल नगर्नु भनेको युट्युबको दुरुपयोग हो ।

भाग्य न्यौपाने युट्युबमा चर्चित व्यक्ति भएकाले उनको गल्तीमा धेरैले औँला उठाए, यहाँ धेरै हिट च्यानलले प्रसारण गर्ने सामग्रीहरू हेर्ने हो भने जिब्रो टोक्नुपर्ने अवस्था छ । यस्ता च्यानलका कन्टेन्ट, क्यारेक्टर र एनालाइसिस साह्रै गैरजिम्मेवार, अपरिपक्व र भड्किला हुन्छन् ।

यस्तै च्यानलका सामग्री धेरै पटक हेरिएका हुन्छन् । अचम्मको कुरा त के भने, व्यापक अध्ययन गरेर बनाइएको भिडियो, प्राज्ञिक बहस, अन्तर्वार्ता, सूचना र ज्ञानवर्द्धक सामग्रीभन्दा अरुलाई गाली गर्ने, बाझाबाझ गर्ने, तुच्छ शब्द प्रयोग गर्नेहरूकाे भिडियो बढी हेरिएकाे हुन्छ ।

मानवीय स्वभाव हो, असामान्यजस्तो देखिने कुराले ध्यान तान्ने, अरुका दुःख हेर्न मन लाग्ने । टाइटानिक चलचित्रमा धेरैले रुचाएका २ वटा सिन छन् । एउटा रोज र ज्याकको रोमान्स र अर्को डुब्दै गरेको टाइटानिक जहाज ।

टाइटानिक जहाज डुब्दै गर्दा मानिसहरू आत्तिएको, डराएको सिनले धेरैलाई तान्छ । एक त बडेमानको जहाज, त्यो पनि समुद्रमा डुब्न लागेको, मानिसहरू अत्तालिएको, पानीमा हामफालेको सिनले नै सायद टाइटानिक हिट (अपवादबाहेक) भएको हुनुपर्छ ।

नेपालका कतिपय युट्युबरले घटनालाई यसैगरी प्रस्तुत गर्छन्, सामान्य कुलेसोमा पनि टाइटानिक जहाज पल्टाइदिन्छन् वा समुन्द्रमा बयलगाढा डुबाइदिन्छन् । दर्शकले त्यही पत्याउँछन् र शेयर गर्न थाल्छन् । युट्युबका ट्रेन्डिङमा आएका कतिपय भिडियो हेर्ने हो भने तिनले समाजलाई कुनै सकारात्मक सन्देश दिँदैनन् । बरु समाजमा द्वेषको भावना पैदा गराउँछन् ।

एउटा भिडियोका कारण पुष्पा अधिकारीप्रति मानिसहरूमा यति आक्रोश भरिएको छ, मानौँ, वाइडबडी खरिदमा भ्रष्टाचार गर्ने उनै हुन्, ललिता निवासकाे जग्गा उनैले बेचेकी हुन्, महामारीका बेला औषधि किन्दा हिनामिना गर्ने पनि पुष्पा नै हुन् ।

नेपाली युट्युबरहरू मानिसका बेडरुमदेखि पाइखानासम्म छिरिसकेका छन् । युट्युबरबाट निम्नवर्गीय मानिस सबैभन्दा पीडित बनेका छन् । अलि पहुँचवालासम्म भने युट्युबर पुग्न सकेको देखिँदैन ।

युट्युबर र पत्रकार

युट्युबबाट पत्रकारिता हुनै सक्दैन भन्ने हुँदैन । पत्रकारले नै पनि युट्युब चलाएका छन् । मूलधारका कतिपय मिडियाले पनि युट्युबको प्लेटफर्म प्रयोग गरेको देखिन्छ । टेलिभिजन र अनलाइन पोर्टलका युट्युब च्यानलहरू छन् । युट्युबका सामग्री मासमा जान्छन्, त्यसैले यो आफैँमा मिडिया हो । तर, ती सामग्री पत्रकारिताका मापदण्डअनुरुप तयार गरिएका छन् कि छैनन् भन्ने कुरा प्रधान हो ।

खाने कुरा बनाएर देखाउने, नाचगान देखाउने अथवा मनोरञ्जन दिलाउने खालको मात्रै च्यानल हो भने त्यस्ता सामग्रीमा पत्रकारिताका सर्त पालना गर्नु नपर्ला । तर, सार्वजनिक चासो र महत्त्वका विषयमाथि तयार गरिने समाचारमूलक सामग्रीले त पत्रकारिताको मापदण्ड खोज्छन्, खोज्नुपर्छ ।

विद्या चापागाईंको ‘हेर्ने कथा’जस्ता च्यानलबाट देखाइएका सामग्री वास्तवमा पत्रकारिताकै उपज हुन् । अन्य केही च्यानल छन्, जसमा पत्रकारिता देख्न सकिन्छ । यसर्थ युट्युबबाट पत्रकारिता हुन्छ । युट्युबर पनि पत्रकार हुन सक्छन् ।

प्रा.डा. कुन्दन अर्याल सामाजिक रुपान्तरणमा युट्युबको भूमिका महत्त्वपूर्ण हुने बताउँछन् । ‘युट्युबमार्फत सबै नराम्रो मात्र भएको होइन, राम्रो काम पनि भइरहेको छ’, डा. अर्याल भन्छन्, ‘तर कतिपय युट्युबरले आत्मबोध गर्न जरुरी छ कि उनीहरूले कसका लागि, किन भिडियो उत्पादन गरिरहेका छन् ।’

युट्युब हेर्ने दर्शक स्वयम् पनि सजग हुनुपर्नेमा डा. अर्यालको जोड छ । ‘नकारात्मक, भड्काउ र भ्रामक सामग्री छन् भने युट्युबले रिपोर्ट गर्न सक्ने अप्सन दिएको हुन्छ । कम्युनिटी गाइडलाइन्स उल्लंघन गरेको पाइए युट्युबले हटाइदिन्छ । त्यसैले हामी दर्शक पनि सचेत हुनुपर्छ’, उनी भन्छन् ।

नियमन नभएर युट्युबका लागि आवश्यक कानुनहरू बनाउनुपर्ने अर्याल बताउँछन् ।

यद्यपि, यससम्बन्धमा बौद्धिक विवेचनाको खाँचो औँल्याउँछन् उनी । ‘पहिलो कुरा युट्युब चलाउनेहरू आफैँ जिम्मेवार बन्नुपर्छ । उनीहरूलाई प्रशिक्षित गर्नुपर्ने देखिन्छ’, डा. अर्याल भन्छन् ।

अन्य कतिपय विज्ञका अनुसार युट्युबरलाई समाज र राज्यप्रति उत्तरदायी बनाउन नसके यसको नकारात्मक असर राज्यव्यवस्थामै पर्न सक्छ । किनकि, अफवाह फैलाउनेहरूले नै कालान्तरमा समाजलाई डोर्‍याउन सक्छन् ।

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष एवं खोज पत्रकारिता केन्द्र (खोपके)का सम्पादक शिव गाउँले युट्युबरहरू स्वयम् आफ्ना कन्टेन्टप्रति जवाफदेही हुनुपर्ने बताउँछन् ।

‘युट्युबमा राखिएका सामग्रीले मासमा असर पुर्‍याइरहेको हुन्छ । प्रस्तुत गरिएका विषय सार्वजनिक चासो र महत्त्वका छन् भने त्यसमा पत्रकारिताका न्यूनतम सर्त पालना गर्नैपर्छ’, खोपके सम्पादक गाउँले भन्छन्, ‘व्यक्तिगत प्रयोजनका सामग्री मात्र अपलोड गर्ने खालको च्यानल हो भने अभिव्यक्ति स्वतन्त्रता भएको मुलुक हो, त्यसलाई चलाउने कुरा आउँदैन ।’

युट्युबरले अहिले पत्रकारिताको न्यूनतम नियमहरू पालना नगर्नुलाई उनी दुःखद् र विडम्बनापूर्ण ठान्छन् । ‘निराधार, कपोकल्पित र भ्रामक सन्देश प्रवाह गर्ने खालको भिडियो अपलोड गर्ने क्रम बढेको छ, अतिथिसँग कुरा गर्दा मर्यादाको पटक्कै ख्याल गरेको पाइँदैन । यो शुभसंकेत हुँदै होइन’, उनले भने ।

युट्युब नेपालका लागि नयाँ विधा भएकाले राज्यले यससम्बन्धी गम्भीर विवेचना गरी आवश्यक निर्णय लिनुपर्नेमा अर्याल र गाउँलेको मत मिल्छ ।

युट्युबका भिडियोमा पत्रकारलाई गाली

अहिले युट्युबरले उत्पादन गरेका कतिपय विवादास्पद सामग्रीमा कमेन्ट गर्दा ‘पत्रुकार’, ‘अलपत्रकार’, ‘पत्रकारको बुद्धि हेर’, जस्ता कमेन्ट ज्यादै पढ्न पाइन्छ । तर, वास्तवमा युट्युबरले उत्पादन गरेका ती सामाग्रीमा पत्रकारिताको सामान्य नियम पनि पालना गरिएको हुँदैन । एउटा व्यक्तिको बेडरुममा छिरेर जबर्जस्ती भिडियो बनाउनेहरू आफूलाई सगर्व पत्रकार भन्दै हिँडेका छन् । आममानिसले उसलाई पत्रकार मानेकै छन् ।

त्यसैले खासगरी सञ्चार मन्त्रालय, प्रेस काउन्सिल, पत्रकार महासंघले यसबारे गम्भीर विवेचना गर्नुपर्ने माग पनि उठिरहेको छ ।

अनलाइन पोर्टललाई सञ्चारमाध्यमको मान्यता दिइएको छ, प्रेस काउन्सिलले नियमन गरिरहेको छ ।

युट्युबलाई पनि वर्गीकरण गरी मास मिडियाका रूपमा व्यवहार गर्नुपर्ने कुरा कतिपयले उठाइरहेका छन् । अहिलेसम्म सरकारले युट्युबलाई मास मिडियाका रूपमा हेरेको छैन ।

पत्रकारिता

युट्युबरका कमजोरी औँल्याउँदै गर्दा सबै पत्रकार इथिक्समै छन् भन्न खोजिएको होइन । मूलधारमा पत्रकारिता गरिरहेकै कतिपय व्यक्तिका गतिविधि र समाचारमाथि पनि प्रश्न उठ्ने गरेको छ ।

‘लिबरल बायस’ को प्रवृत्ति नेपाली पत्रकारितामा देखिएकै कुरा हो । बुधबार मात्र सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डलगायतका ४ नेताले आफूनिकट पत्रकार बोलाएर बानेश्वरमा २ घण्टा छलफल गरेछन् । प्रचण्ड निकटकाले उनकै भजन गाउने, ओली निकटकाले प्रचण्डको कमजोरी प्रचार गर्नेजस्ता प्रवृत्ति पत्रकारितामा छन् । तर, योभन्दा धेरै घातक छन्, अहिले युट्युबका कतिपय सामग्री । त्यसैले युट्युबर उत्तरदायी हुनैपर्छ ।

युरोप र अमेरिकामा सत्ता बनाउन प्रयोग भइरहेको युट्युब नेपालमा कसैको घर बिगार्न, समाजमा कुनै सन्देश नै नदिने खालको सामग्री अपलोड गर्नमा प्रयोग हुनु हुँदैन ।

साभार: शिलापत्र

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.