उपन्यास तपाईले पढ्नै पर्छ। यहाँ त फगत मेरा कुरा।

अमर न्यौपानेको सेतो धरती पढिसकेपछि मलाई कतै थन्क्याएर अर्को किताब पढ्न मन लागेन जब सम्म म यसका बारेमा केहि लेख्दिन। कुनै कुनै पुस्तक यस्ता हुन्छन जुन पढेपछि मानबिय संवेदनामा अल्झीरहन्छन। र त्यस पुस्तकका पात्रहरुले पाठकको मस्तिष्कमा ठाउँ लिईरहन्छन। लेखक न्यौपानेको ‘गुलाबी उमेर’ मलाई पढ्न मन लागेन शिर्षकले गर्दा, सायद मेरो गुलाबी उमेर बितेर होला र यसको पाठक बर्गमा म नपर्न सक्छु । ‘सेतो धरती’ पढेपछि लाग्यो अमर न्यौपानेले यस्ता शिर्षकको उपन्यास नलेखेको भएपनि हुन्थ्यो। उनको ‘करोडौ कस्तूरी’ पढ्दा पढ्दै पन्ना पल्टाउनै झ्याउ लाग्यो, कथाले मलाई तानेन, सायद म त्यो पुस्तकको सहि पाठक थिइन्।

तर म जब उनको सेतो धरती पढ्न थाले, एक प्रकारको हुटहुटि भईरह्यो पढिनस्कुञ्जेल। मलाई कथाले मात्र तानेन, लेख्ने कला, सिल्पी, बनोट, बिषयबस्तुको उठान र त्यसभित्र देखाईको समाज, लैंगिक विभेद, सामाजिक संरचना, आध्यात्म र जीवन दर्शन र पात्रहरूका वार्तालाप र मनोबादले त्यसरी नै तान्यो। त्यसमाथि यति सरल र सलिल तरिकाले लेखिएको यो उपन्यासले उठाएको सामाजिक कुरीति त्यतिनै मन पर्यो।

Amar Neupane

यो पढ्दा पढ्दै मलाई अमृता लम्सालले लेख्नु भएको पुस्तक ‘हजुरआमाका कथा’ को याद आयो। यो कथा तिनै हजुरआमाका कथा हो तर धेरै हजुरआमाहरुलाई एउटै पुस्तकमा समेटेर धेरैवटा कथा लेख्नुको सट्टा एउटी हजुरआमालाई समातेर, गहिरो अध्यन गरि, भित्रै सम्म पुगेर लेखिएको लामो काहानी हो। यो उपन्यासमा भएकी प्रमुख पात्र ताराले हजारौ हजुरआमाका कथालाई जन्म दिन्छिन । हजारौ हजुरआमाका जीवनको झझल्को दिने यो उपन्यास त्यतिनै कारुणिक र मर्मस्पर्शी छ। सात बर्षको उमेरमा बिहे भएकी तारा जसलाई बिहे भएको थाहा नहनु, बिधवा बनेको थाहा नहुनु, महिनावारी भएको थाहा नहुनु र जीवनका सम्पूर्ण उमेरहरु मनोबाद, मनोविश्लेषण र देबघाटमा बिताउनु पाठकका आँसुका मूल फुटाउने कथा हुन्।

यो उपन्यासको सारांस पनि म यहाँ लेख्दिन। मज्जा पढ्दै आउँछ। लैंगिक विभेद हुनु र त्यो थाहा नहुनु त्यतिबेलाको समाजको सुन्दर चित्रण गरेको छ उपन्यासले। महिलाको यौनिकताको पाटो त्यतिनै मर्मस्पर्शी छ। प्राकृतिक यौन भावना र चाहानालाई सामाजिक चिन्तन, सोच र कृतिम दर्शनले पटक पटक मारिरहनु पिडा भित्रको अर्को पिडा देखिन्छ उपन्यासमा। तर पवित्राको जीवन काहानीलाई र उनको बेश्याबृतिलाई मोक्षसंग लगेर जोडिदिनुमा उपन्यासकार अमर न्यौपानेको अमर शिल्प देखिन्छ। त्यसैगरी ताराको विभिन्न पात्रहरुसंगको भेटले गर्दा पाठकलाई केहि हदसम्म चित्त बुझाउने ठाउँ छ। नत्र पाठक आँसुमा डुबेर उपन्यासनै नपढ्न सक्छ ।

पूर्ण लाग्छ उपन्यास। कमजोरी खोजेर पनि देखिदैन। यद्दपि घरि-घरि ति पुराना समाजका पात्रका मनोबाद, मनोबिश्लेशणमा उपन्यासकार आफ्नो आधुनिक सोचको मनोबाद र चिन्तन हाल्न पुग्छन जसले धेरै ठाउँमा उपन्यासलाई सुन्दर त बनाएको छ तर कतै कतै थोरै ठाउँमा चिप्ल्याएको पनि छ। जस्तो त्यस्तो समाजमा हुर्केकी ताराले मुखमा चुम्बन गर्दा कस्तो होला भन्नेकुराको कल्पना गर्नु अलिक अस्वाभाविक लाग्छ। जस्तो चिनी कहिल्यै नदेखेको अर्थात त्यसको बारेमा कतै कुरा नसुनेको मान्छेले गुलियोको कल्पना गरेजस्तो।

समग्रमा यो उपन्यास नेपाली साहित्यको आकासमा चम्किला ताराहरु मद्धे एक हो भन्न मन लागेको छ। यसको अंग्रेजी अनुबाद भएर बिस्व साहित्यमाझ पुग्नु जरुरि छ। यहाँ के छैन– तारा बाँचेको युगको कथा, पुरातन जीवन शैली, आधुनिकता, यौनिकता, आध्यात्म।

Book reviewed by Tulasi Acharya

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.