काठमाण्डौ उपत्यका चाडै कोरोना ‘हटस्पट’ यस्तो छ कारण

२८ श्रावण २०७७, बुधबार ०४:३९

काठमाडौं। कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दो क्रममा छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार गत जेष्ठ ४ गते सिन्धुपाल्चोककी सुत्केरी महिलाको मृत्यु भएपछि हालसम्म करिव ९० जनाको मृत्यु भइसकेको छ।

तथ्यांक अनुसार गत वर्षको माघ १५ गते नेपालमा कोरोना पोजेटिभको पहिलो केस देखिएको हो। चीनबाट आएका ती व्यक्तिमा कोरोना पोजेटिभ देखिए पनि सर्वसाधारणले दोस्रो केश भेटिएपछि थाहा पाएका हुन्।

गत वर्षकै चैत्र ११ गते दोस्रो केश भेटिएपछि सरकारले लकडाउन सुरु गर्यो। अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गर्दै गरिएको लकडाउने करिव ४ महिनाको अन्तरालपछि साउन ६ गते औपचारिक खुलेको छ।

सरकारले औपचारिक लकडाउन अन्त्य गरे पनि अन्तर्राष्ट्रिय उडान, लामो दुरीको सवारीसाधन, विद्यालय, चलचित्र घर, धार्मिक स्थल लगाएत मानिसको बढी भीड हुने स्थानहरु भने बन्द नै रहेको जनाएको छ।

गत जेठमा कोरोनाका कारण पहिलो मृत्यु भएपछि सरकारले औपचारिक लकडाउनको अन्त्य गरेको दिन साउन ६ गतेसम्म ४० जनाले ज्यान गुमाएका छन्। साउन ६ गतेसम्मको तथ्यांक भन्दा त्यसपछिका २० दिनमा कोरोनाका कारण मृत्यु हुनेको संख्यामा शत प्रतिशतले वृद्धि भएको पाइएको छ।

गत २० दिनमा १ लाख ३९ हजार २ सय बढीको पीसीआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। १ लाख ३९ हजार बढी परीक्षण गर्दा करिव ६ हजार कोरोनाका संक्रमित थपिएका छन् भने ४ हजार बढी निको भएर घर फर्किसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक र काठमाडौंको अवस्था हेर्दा उपत्यका ‘हटस्पट’ हुने कुरामा बल पुर्याएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डा. शेरबहादुर पुन बताउँछन्। उनले भने, ‘अब जोखिम सुरु भयो। काठमाडौं ‘हटस्पट’ बन्छ भन्ने कुरामा अहिलेको परिस्थितिले बल पुग्छ।’ कोरोनाको स्थिति नियन्त्रणमा लिन अस्पताल व्यवस्थापन भन्दा पनि सचेतनातर्फ लाग्नु पर्नेमा उनले जोड दिए।

‘अरु शहरहरुको कुरै छाडौं काठमाडौंमा मात्र हेर्नु भयो भने पनि बिना माक्स हिँड्नेको ताँती नै देखिन्छ,’ डा. पुनले भने, ‘समूहमा जम्मा भएर बस्नेहरु पनि उत्तिकै छन्। अहिलेसम्म कुनै खोप, र औषधि प्रमाणित नभएको कोरोनासँग नडराउने हामी हाम्रो घैटोमा कहिले घाम लाग्ने? सरकारले बनाएका कोरोनाबाट बच्ने उपाएहरु नै ख्याल नगरेर हिँडिरहेका हुन्छौं। यस बारे सचेतना आवश्यक छ।’

अमेरिकामा पनि नेपालको जस्तै जनस्तरबाट लापरवाही भएका कारण महामारी फैलिएको उदाहरण दिँदै डा. पुनले भने, ‘त्यतिबेला अमेरिकाले स्वास्थ्य सम्बन्धी मापदण्डहरु अपनाएको भए आजको स्थिति आउने थिएन। हामी पनि बेला छँदै यस्ता कुरामा चुकिसकेका छौं। अझै पनि केही हदसम्म यसबारे सचेतना फैलाएर अगाडि बढेको खण्डमा केही हदसम्म रोक्न सकिन्छ।’

जनस्तरमा कोरोनाबारे सचेत नगराए भयावह अवस्था आउन सक्ने कुराको संकेत गर्दै डा. पुनले सचेतनाका लागि सरकारले सयन्त्र नै बनाएर लाग्नु पर्ने अवस्था आएको बताए। उनले भने, ‘सचेतनाको लागि सरकारले छुट्टै सयन्त्र नै बनाएर लाग्नु पर्छ। हामीलाई रेडियो, टेलिभिजन र पत्रपत्रिकाबाट दिइएका विज्ञापनहरुले काम नगरे जस्तो लाग्यो। स्वंमसेवक लगाएर हुन्छ वा प्रहरी प्रशासनबाट अलगै टीम बनाएर हुन्छ यसकालागि अलगै सयन्त्र आवश्यक छ।’

नेपालीको मनोविज्ञान बुझेर सचेतनाका कार्यक्रमहरु गर्नु पर्नेमा उनले जोड दिए। उनले भने, ‘हाम्रो मनोविज्ञान नै १÷२ पटक भनेर हुने खालको होइन। हामीलाई अलि धेरै नै चाहिन्छ। चाहे त्यो राम्रो कुरा होस् वा नराम्रो होस्। त्यसैले अबको रणनीति भनेको नेपालीको ‘साइकोलोजिकल मोटिभेसन’ को हुनु पर्छ। हामीले ‘साइकोलोजिकल मोटिभेसन’ अनुसार रणनीति बनाएर अगाडि बढ्न सकेनौं भने आउने दिन भयावह नहोला भन्न सकिन्न। ‘पहिलो कुरो त हामी आफैं सम्यमित हुनपर्छ।’

डा. पुनले भने, ‘सरकारले गरेन, दिएन्, पुर्याएन जस्ता शब्दहरु खर्च गर्नु पूर्व म बच्नु पर्छ, मेरो परिवार बच्छ, मेरो समाज बच्छ र मेरो देश कोरोनाबाट बच्छ भन्ने कुरा हर कोहीले सोच्छु पर्छ। बुझ्नु पर्छ र व्यवहारमा लागू गर्नु पर्छ।’

साभार: डी सी नेपाल

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.