काठमाडौं । पत्रकार प्रकाश सुवेदीले कालकार संघमा आएर लिखित रुपमा माफी माग्‍नुपर्ने नायिका पूजा शर्माले अडान राखेकी छिन् । कलाकार संघले पत्रकार सुवेदीलाई सोमबार आफ्नो कार्यालयमा लिखित रुपमा माफी माग्‍न बोलाए पनि उनी संघको कार्यालय गएनन् ।

“प्रकाशजीलाई हामीले संघको कार्यालयमा बोलाएका थियौं । तर उहाँ आउनुभएन,” कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले भने, “भिड हुने ठाउँमा आउँदिन भन्‍नुभयो ।” पूजा भने न्यायका लागि अरु संस्थामा पनि पुगेकी छिन् । पत्रकार प्रकाशले आफ्नो अपमान गरेको भन्दै पूजाले कलाकार संघसँगै निर्माता संघ, प्रेस काउन्सिल र महिला आयोगमा उजुरी दिइसकेकी छिन् ।

अब एपीवान टेलिभिजन पुगेर पनि उजुरी दिने तयारी गरिरहेको अध्यक्ष खड्काले जानकारी दिए । “पूजाजी मात्रै होइन उहाँसँगै अरु कलाकार पनि यतिबेला संगठित भइरहनुभएको छ,” अध्यक्ष खड्का भन्छन्, “नेपालको पहिलो नायिका भुवन चन्ददेखि अहिलेसम्मका कलाकारलाई प्रकाशजीले अपमान गरेको भन्दै कलाकार आइरहनु भएकाले अब यो मुद्दा कलाकार संघबाट मिल्ने अवस्था रहेन ।”

उनले अब संघले पूजाको उजुरीलाई फेसिलेट मात्रै गर्ने बाँकी न्याय उनी आफैंले खोज्‍ने बताए । पूजा अदालतसम्म पुग्‍ने मनस्थितिमा रहेको अध्यक्ष खड्काले जानकारी दिए ।

एपीवान टेलिभिजनको कार्यक्रम रजतपटमार्फत पत्रकार तथा प्रस्तोता प्रकाशले आफूलाई अपमानित हुने गरी कार्यक्रम तयार पारेर प्रस्तुत गरेको भन्दै नायिका पूजाले न्यायको खोजी गरेकी हुन् ।

नायिका पूजाको शारीरिक स्वरुप तथा बौद्धिकतामाथि टिप्पणी गर्दै पत्रकार प्रकाशले भनेका थिए, ‘आफैं नजान्‍ने अनि हामीले चाहिँ लिएको इन्टरभ्यु काटिदिनुपर्ने ? मिलाई-मिलाई महानायिका बनाइदिनुपर्ने ? त्यो पनि दाह्रा निस्किएको अनुहारलाई ?’

पत्रकार प्रकाशको यो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै पूजा न्याय खोज्दै संघसँगै महिला आयोग र प्रेस काउन्सिलसम्म पुगेकी हुन् । उनलाई कलाकारसँगै अन्य क्षेत्रका व्यक्तिले पनि साथ दिएका छन् ।

आफैंले प्राइम टेलिभिजनमा हुँदा लिएको अन्तर्वार्तामा पूजाले सामान्य ज्ञान नजानेपछि उक्त क्लिप्स हटाइदिन गरेको आग्रहलाई लक्षित गर्दै प्रकाशले उनको बौद्धिकतामाथि प्रश्न उठाउँदै शारीरक पक्ष पनि जोडेका थिए । सामान्य ज्ञान नजानेको पूजाको अन्तर्वार्ताको क्लिप्स ट्रोल बनेको थियो । सोही ट्रोलकै कारण तनावमा रहेकै बेला पुनः अन्तर्वार्तामा प्रकाशले बोलाउँदा नगएको झोकमा प्रकाशले आफ्नो अपमान गरेको पूजाले बताएकी छिन् ।

प्रकाशले आइतबार साँझ आफूले प्रयोग गरेका शब्द ‘दाह्रे’ बोल्ने क्रममा चिप्लिएको भन्दै माफी मागेका थिए । तर माफी माग्दा पनि धम्की कै भाषा प्रयोग गरेको भन्दै पूजाले आपत्ति जनाउँदै न्यायका लागि विभिन्‍न संघ-संस्थाको ढोका ढक्ढक्याएकी हुन् ।

अर्काको अपमान गर्नेजस्तो गम्भीर विषयलाई कार्यक्रम प्रस्तोताले घमन्ड र दम्बसहित राष्ट्रिय टेलिभिजनमा प्रस्तुत गर्नु सम्पूर्ण कलाकारको अपमान भएको पूजासँगै अन्य कलाकारले समेत बताएकाले अब संघबाट यो विषय टुङ्‍गोमा नपुग्‍ने रवीन्द्र बताउँछन् ।

यसअघि केही समय पहिले नायक भुवन केसीले नायिका साम्राज्ञी आरएल शाहले आफ्नो व्यक्तिगत तथा सामाजिक जीवनमा आँच पुग्‍ने गरी सामाजिक सञ्जालमार्फत बेइज्जत गरेको भन्दै काठमाडौं जिल्ला अदालतमा १० करोड क्षतिपूर्ति मागदाबी गर्दै साम्राज्ञीविरुद्ध उजुरी दिएका छन् ।

साभार: १२खरि

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.