काठमाडौँ – नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मणिरत्न शाक्यले उद्योगहरु संचालनमा आउन थालेका कारुण सुनको मूल्यमा भारी गिरावट आएको बताएका छन्।

उद्योगहरु सञ्चालनमा आएसँगै नगद पैसाको खाँचाे पर्ने भएकाले लगानीकर्ताहरुले सुन बेच्ने अवस्था सिर्जना भएका कारणले सुनको मूल्यमा गिरावट आएको उनले जानकारी दिए।

उनले भने, ‘लकडाउनको समयमा लगानीकर्ताहरुले सुरक्षाका लागि सुनमा लगानी गरेका थिए। तर अब उद्योग व्यवसाय बिस्तारै चलायमान हुँदै गएपछि नगद कारोबार सुरु हुन्छ। जसका लागि लगानीकर्ताहरुले सुन बेच्नुपर्छ। त्यसैले सुनको भाउ घटेको हो ।’

यस्तै रुसले निकालेको भ्याक्सिनले सुनको मूल्य गिरावटमा महत्वपूर्ण भूमिका खेलेको उनको भनाई छ। ‘रुसले निकालेको भ्याक्सिनका कारणले मानिसहरुमा कोरोनाको त्रास केही कम भएको छ’ उनले भने।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख एक हजार ६ सय रहेको सुनको मूल्य बुधबार प्रतितोला ९५ हजार चार सय रुपैयाँमा झरेर कारोबार भइरहेको छ ।

नेपाली बजारमा सुनको मूल्यमा एकै दिन तोलामा ६ हजार दुई सय रुपैयाँको गिरावट भएको यो पहिलो घटना हो।

कोरोना महामारीपछि लगातार उकालो लागेको सुनको मूल्य पछिल्ला चार दिन यता घट्दै आएको छ।

तेजाबी सुनको मूल्य तोलामा ९४ हजार ९ सय कायम भएको छ । म‌ंगलबार तेजाबी सुनकाे मूल्य ताेलाकाे एक लाख एक हजार एक सय रुपैयाँ थियाे।

साभार: देश सञ्चार

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.