म आफ्नै देशमा बस्छु ल

३१ श्रावण २०७७, शनिबार ०३:३४

म आफ्नै देशमा बस्छु ल
खुल्ला आकासमुनिको जूनले बिछ्याउँछ
मेरो अघि उज्यालो गलैचाले मलाई स्वागत गर्छ
मेरो आफ्नै देशमा,
जव म विदेशबाट आफ्नो देश फर्किन्छु
सम्झनाले सताईरहन्छ एकहोरो बिदेशमा
त्यो गाउँको पाखो, ति गाई(बाख्रा, ति बुढी आमा
बुढो बकैनाको रुख, मदानी र मोही)
आमा, म विदेश जान्न ल ।
बाबा, म आफ्नै देश बसेर केहि गर्छु ल ।
यति अनुमति पाएँ भने त्यो भन्दा ठुलो प्रेम
त्यो भन्दा ठुलो गुण केहि हुने छैन मलाई ।
आखिर के छ विदेशमा त्यस्तो
जुन यहाँ छैन ?
अर्थात के के छैन त्यहाँ
जुन यहाँ छ ?
बिदेशमा महल छ,रातभरि बल्छ झलमल बत्ति
तर जून र ताराको उज्यालो छैन, जुन मेरो देशको आकाशमा टिल्पिलाईरहन्छ रातभरि
मोटर र कारखानाको आवाज छ विदेशमा
तर आमाको खनखन बज्ने चुरा छैन
टाई र सुटमा ठाटीएर हिड्ने मान्छेहरु छन्
तर मलाई बुझ्न सक्ने मनहरु छैनन्
बर्गर र पिज्जाहरु छन्
तर दाल, भात, तरकारी, रोटि र अचारहरु छैनन ।
ति पनि छन् मानौ एकछिनका लागि तर स्वादहरू छैनन् ।
कति मात्नु विस्की र वाईनले हरेक साँझहरु
घरको सम्झनामा, दिनभरिको थकानमा, भुलाउन सारा गमहरु, सारा सम्झनाहरु
अब मलाई मज्जाले मात्न मन छ आफ्नै गाउँमा गाईको मोही पिएर ।
म विदेश जान्न ल आमा ।
म आफ्नै देशमा बसेर केहि गर्छु ल बाबा ।
बिदेशमा भ्रम छ
भमरा छैन
बिदेशमा मरुभूमि छ
पानी छैन
मलाई आफ्नै गाउँको टुवेल पेलेर
चिसो पानि निकालेर
टन्टलापुर घाममा म खलखली भएको बेला
ठाडो घाँटी लाएर एक लिटर आँम्खोराको पानी
हरेक दिन तनतन पार्न मन छ ।
आफ्नै हातले गाईको दुध दोएर
त्यो दुतको काँचो वासना लिदै
दाउराको आगोमा उमालेर
एक गिलास दुध हरेक दिन पिउन मन छ ।
मलाई विदेश जाने क्षमता नभएर होइन
मन नभएर हो यो भनिरहेछु ।
मलाई कति पनि मन छैन
बिदेशी बालुवामा मेरो पसिना खन्याउन
म आफ्नै माटोमा मुछिन चाहन्छु
गाई पाल्छु, गहिरी खेत जोत्छु
यद्यपी मलाई थाहा छ, छोरी मान्छेले जोत्नु हुन्न भन्छन
तर बिदेशमा त्यो भन्दा बढी जोतिएको छु म ।
म मल छर्छु, मलिलो बनाउछु
म स्वयं गोबर गनाउँछु र फलाउँछु
सपनाका सुनौला बालीहरु
हृदयभरी खुशीका फूलहरु ।
त्यो भन्दा ठुलो के हुन् सक्छ मेरो लागि
मेरो खुसीको लागि, मेरो माटोको लागि?
तपाईंहरुको लागि ?
आमा, म आफ्नै देशमा बस्छु ल ।
बाबा, म यहीँ बसेर तपाईँहरुको सेवा गर्छु ल ।

-तुलसी आचार्य

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.