सेटिङको आशंकामा सहसचिवको नतिजा रद्द

३१ श्रावण २०७७, शनिबार ०३:०५

काठमाडौँ — लोकसेवा आयोगले प्राविधिकतर्फको सहसचिव पदका लागि लिएको परीक्षाको परिणाममा ‘सेटिङ’ भएको शंका लागेपछि नतिजा आइसकेको लिखित परीक्षाको सम्पूर्ण प्रक्रिया रद्द गरेको छ ।

लिखितको परिणाम आएको झन्डै ५० दिनपछि आयोगले नतिजा र परीक्षाको प्रक्रिया रद्द गरेको हो । अन्तर्वार्ता यसअघि नै स्थगित गरिएको थियो ।

आयोगले बिहीबार विज्ञापन नं. १७१६७/०७६–७७ वाट विविध सेवा, राजपत्रांकित प्रथम श्रेणी, सूचना प्रविधि विज्ञ पदको पदपूर्तिका लागि लिइएको लिखित परीक्षाको नजिता प्रकाशनसम्मका सम्पूर्ण प्रक्रिया रद्द गर्ने निर्णय गरेको हो । आयोगले उक्त पदका लागि पुनः लिखित परीक्षा लिने जनाएको छ । तर, यसअघि दरखास्त स्वीकृत भएका व्यक्तिहरू मात्रै परीक्षामा सम्मिलित हुन पाउनेछन् ।

राजपत्रांकित प्रथम श्रेणी सूचना प्रविधिविज्ञको रिक्त एक पदका लागि आयोगले गत पुसको १५ र १६ गते लिखित परीक्षा लिएको थियो । त्यसको नतिजा असार ११ गते आएको हो । लिखितमा तीन जना उत्तीर्ण भएका थिए । उनीहरूको अन्तर्वार्ता असार ३१ गते तोकिएको थियो । आयोग स्रोतका अनुसार अन्तर्वार्ताभन्दा आधा घण्टा अगाडि आयोग अध्यक्ष उमेश मैनालीलाई लिखित परीक्षाको परिणाममा परीक्षार्थी र कापी जाँच्ने विज्ञबीच ‘सेटिङ’ भएर परिणाम आएको सूचना आएको थियो ।

kantipur

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.