कोरोना संक्रमणका कारण विहिवार ६ जनाको मृत्यु

४ भाद्र २०७७, बिहीबार ११:४५

काठमाडौं,४ भदौ – कोरोना भाइरस संक्रमणका कारण बिहीबार ६ जनाको मृत्यु भएको छ । सप्तरी, पर्सा, बारा, चितवन, काठमाडौं र रुपन्देहीमा १/१ जनाको मृत्यु भएको हो ।
सप्तरीका एक युवकमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । धरानमा मंगलबार मृत्यु भएका सप्तरी राजविराज नगरपालिका – ४ का २८ वर्षीय युवकमा बुधबार राति कोरोना संक्रमण पुष्टि भएको हो ।

बारामा कलैया उपमहानगरपालिका–१० मटिअर्वाका ५९ वर्षीय पुरुषमा मृत्युपछि करोना संक्रमण पुष्टि भएको छ । मृत्युपछि स्वाब संकलन गरी परीक्षण गर्दा बिहीबार उनमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ ।

काठमाडौं भीमसेनस्थानकी ६५ वर्षीया महिलाको काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ ।
चितवनको रत्ननगर नगरपालिका- १३ का ६५ वर्षका पुरूषको भरतपुर अस्पतालको आईसीयूमा मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि ६ दिनदेखि उनी आईसीयूमा उपचाररत थिए । उनमा क्षयरोग, फोक्सोको समस्यालगायत दीर्घरोग रहेको भरतपुर अस्पतालले जनाएको छ ।

रुपन्देहीको देवदहमा नगरपालिका -३ शिशपुरका ७० वर्षीय पुरुषको बिहीबार दिउँसो उपचारका क्रममा मृत्यु भएको छ । बुधबार संक्रमण पुष्टि भएका ती व्यक्तिमा उच्च रक्तचाप, पक्षघात र मधुमेहको समस्या समेत रहेको थियो । उनको देवदह मेडिकल कलेजको भेन्टिलेटरमा राखेर उपचार गर्दागर्दै मृत्यु भएको हो ।

पर्साको वीरगन्जमा बिहीबार साँझ वीरगन्ज महानगरपालिका-१५ प्रतिमा चोकका ७४ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । वीरगन्ज हेल्थ अस्थायी कोभिड अस्पतालमा भेन्टिलेटरमा उपचारका क्रममा उनको बिहीबार साँझ पौने ७ बजे मृत्यु भएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.