काठमाडौं, भदो १८ ।  कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै तीनै तहका सरकारले अवलम्बन गरेको रणनीति पछिल्लो समय निष्प्रभावी बन्दै गएको छ । लकडाउन र निषेधाज्ञाको अधिकार केन्द्र सरकारले दिएपछि क्षेत्रगत रुपमा लागु गरेका स्थानीय तह तथा जिल्ला प्रशासन कार्यालयहरुको रणनीति पनि विफल बन्दा मुलुकमा दैनिक एक हजारको हाराहारीमा कोरोना संक्रमित थपिन थालेका छन् । 

पछिल्लो २४ घण्टामा मात्र मुलुकभर एक हजार दुई सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या ४२ हजार ८ सय ७७ पुगेको छ । अधिकार हस्तान्तर भएपछि मात्र भदौंयता नेपालमा १६ हजार २ सय १७ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले आज मात्र ३ सय ९५ महिला र ८ सय ३४ जना पुरुषमा संक्रमण संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४ सय ४५ जना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ३ सय ५७ जना, ललितपूरमा ४६ र भक्तपूरमा ४२ जनामा संक्रमण देखिएको हो । सक्रिय संक्रमितको संख्या १८ हजार ४ सय १३ छ ।

पछिल्लो २४ घण्टामा ९ सय १७ डिस्चार्ज भएका छन् । योसँगै संक्रमण मुक्त हुनेको संख्या २४ हजार २ सय ७ जना पुगेको छ । यो कुल संक्रमितको ५६ प्रतिशत हो ।

मुलुकभर १३ हजार ४ सय १७ जनाको पीसीआर परीक्षण भएको छ । आजसम्म ७ लाख ३१ हजार ८ सय ५२ पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । संस्थागत आइसोलेसन १० हजार ६ सय ७१ जना र होम आइसोलेसनमा ७ हजार ७ सय ४२ रहेका छन् । आजसम्म देशभर ६ हजार ७ सय ४९ जना क्वारेन्टिनमा रहेका छन् ।

पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्लाहरु धनुषा, चितवन, रुपन्देही, मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा, काठमाडौं र ललितपुर रहेका छन् । भोजपुर, ताप्लेजुङ, मुगु, सोलुखुम्बु, मुस्ताङ, डोल्पा र हुम्लामा कोरोना भाइरसको संक्रमण शून्य रहेको छ । 

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.