काठमाडौं, भदौ १८। रग्बीको एसियाली प्रशासकीय निकाय एसिया रग्बीले नेपाललाई पूर्ण सदस्यता प्रदान गर्न विश्व रग्बीलाई सिफारिस गरेको हो । 

नेपालसहित इरान र लाओसलाई विश्व रग्बीको पूर्ण सदस्य राष्ट्र प्रदान गर्न एसिया रग्बीले  सिफारिस गरेको नेपाल रग्बी संघका अध्यक्ष टंकलाल घिसिङले जानकारी दिए ।

एसिया रग्बीका अध्यक्ष कसिस एल धलाईद्वारा जारी विज्ञप्तिमा नेपालसहित तीन राष्ट्रले विश्व रग्बीको पूर्णसदस्यताका लागि सबै प्रक्रिया पु¥याएकाले सिफारिस गरिएको उल्लेख गरिएको छ । पछिल्ला समय रग्बीका विकास गर्दै आइरहेको नेपालले दुई वर्ष अगाडि मात्र एसिया रग्बीको पूर्णसदस्यता पाएको थियो ।

दुई वर्ष अगाडि काजाख्स्तानको आस्तानामा भएको एसिया रग्बीको बैठकले नेपाललाई एसियाको पूर्णसदस्य राष्ट्र दिने निर्णय गरेको हो ।नेपालले विश्व रग्बीको सदस्यताका लागि दिएको निवेदन आगामी नोभेम्बरसम्म सुनुवाई हुने नेपाल रग्बी संघका अध्यक्ष टंकलाल घिसिङले जानकारी दिए ।

एसियाका अध्यक्ष कसिसले नेपालसहित तीन राष्ट्रलाई पछिल्ला समय रग्बी विकासमा गरेको मिहिनतप्रति बधाईसमेत दिएका छन् ।

इरान र लाओस यसअघि नै विश्व रग्बीको एसोसिएट सदस्य राष्ट्र हुन् । इरानले सन् २०११ देखि र लाओस सन् २००४ देखि विश्व रग्बीसँग आबद्धता लिएको थियो । दुवै राष्ट्रले आफ्नो घरेलु संरचना फिफ्टिन ‘ए’ साइड र सेभेन ‘ए’ साइडका प्रतियोगिता तथा महिलाको रग्बी लिग प्रतियोगिता राम्रो संरचना निर्माण गरेपछि एसिया रग्बीको नजरमा परेको हो । 

नेपाल भने सन् २०१४ मा विश्व रग्बी र एसिया रग्बीको एसोसिएट राष्ट्रको रूपमा आबद्ध भएको थियो । त्यससमयदेखि ‘गेट इन्टु रग्बी’ कार्यक्रम नेपालभरी सञ्चालनसँगै घरेलु प्रतियोगिताको पनि सफलतापूर्वक आयोजनापश्चात् एसिया रग्बीले नेपाललाई विश्व रग्बीको सदस्यता प्रदान गरेको हो ।

जापानमा भएको रग्बी विश्वकपको टुर सन् २०१८ मा नेपाल आएको थियो । त्यस समय नेपालले गरेको उत्सव आयोजनाबाट विश्व रग्बीसमेत निकै प्रभावित भएको थियो । उक्त विश्वकप ट्रफी ५ हजार ५ मिटर उचाईमा रहेको कालापत्थरसम्म पु¥याएको थियो । पहिलोपटक रग्बीको ट्रफी विश्वको सबैभन्दा ठूलो उचाईमा पु¥याउन सफल भएको थियो ।

एसिया रग्बीको कार्यकारी सदस्यसमेत रहेका नेपाल रग्बी संघका अध्यक्ष टंकलाल घिसिङले विश्व रग्बीको पूर्णसदस्यता पाएमा नेपालले देशभित्र रग्बीको खेलको विकासमा ठूलो फड्को मार्ने र अन्तर्राष्ट्रियस्तरमा पनि प्रदर्शन सुधार गर्ने विश्वास व्यक्त गरे ।

खेलाडी, प्रशिक्षक र संघका हरेक सदस्यको योगदानबाट छोटो समयमा पनि नेपाली रग्बीले अन्तर्राष्ट्रियस्तरमा आफूलाई स्थापित गरिरहेको घिसिङले बताए ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.