काठमाडाैं, भदाै १९ । रातो मछिन्द्रनाथकाे रथ यात्रा लामो समयदेखि रोकिएको तथा हिजो झडपसमेत भएपछि आज क्षमा पूजा गरिएको छ । कोरोना भाइरस संक्रमणको जोखिमका कारण लामो समयदेखि रोकिएको मछिन्द्रनाथ रथ यात्राको आज क्षमा पूजा ९ बजेर ३० मिनेटमा गरिएको हो ।

चार महिना लामो लकडाउन र भदौ ३ गतेदेखि जारी निषेधाज्ञाका कारण रथयात्रा हुन सकेको छैन । विश्वव्यापी बनेको कोरोना भाइरस संक्रमणको जोखिमका कारण भिडभाड नगर्न सरकारले आग्रह गर्दै आएको छ ।

रथ यात्रा गर्न पाउनुपर्ने भन्दै स्थानीय युवाहरुले निषेधाज्ञा तोडेपछि हिजो प्रहरीसँग झडप भएको थियो । आज ललितपुरमा कर्फ्युसमेत लगाइएको छ । संक्रमणको जोखिम बढेसँगै स्थानीय प्रशासनको आग्रहमा रथ यात्रा नित्य पूजा गरेर सम्पन्न गर्ने निष्कर्षमा सरोकारवालाहरू पुगेका हुन् ।

रथ यात्रा हुनुपर्छ भनेर माग गरिरहेका स्थानीय र प्रहरीबीच बिहीबार भएको झडपपछि सरोकारवालाहरुको बैठक बसेका थियो । बैठकले आज क्षमा पूजा, भाद्र २१ गते सोह्रखुट्टेपाटीसम्म रथ तान्ने र छ्वयलाबु गर्ने तथा २२ गते भुज्याय् मनाउने साइत हेर्ने निर्णय गरेको छ ।

यसरी साइत हेरेपछि निस्किएको मितिमा मछिन्द्रनाथलाई बुंगमति लग्ने निर्णय गरिएको बुंगद्यः जात्रा व्यवस्थापन कार्यदलका संयोजक चन्द्र महर्जनले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.