अमेरिकाले डब्ल्यूएचओलाई बाँकी रकम नतिर्ने

२० भाद्र २०७७, शनिबार १७:५२

एजेन्सी, भदाै २० । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) लाई अमेरिकाले दिन बाँकी ६ करोडभन्दा बढी रकम भुक्तान नगर्ने ट्रम्प प्रशासनले बताएको छ। अमेरिकाले बाँकी रकम संयुक्त राष्ट्र संघका अन्य निकायलाई दिने पनि घोषणा गरेको छ।

बुधबार ह्वाइटहाउसले कोभिड-१९ को भ्याक्सिन विकास र वितरणमा डब्ल्यूएचओका कुनै पनि परियोजनामा आफू सामेल नहुने बताइसकेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरसविरूद्धको लडाइँमा डब्ल्यूएचओको भूमिकालाई लिएर केही समय अघिदेखि नै रिसाएका छन्। उनले संगठनमा अनुचित प्रभाव रहेको आरोपसमेत लगाउँदै आएका छन्। विशेषगरी चीनतर्फ इंगित गर्दै उनले डब्ल्यूएचओमाथि औंला उठाउँदै आएका छन्।

यही कारण उनले डब्ल्यूएचओलाई २०२० का लागि दिनुपर्ने रकम ६.२ करोड डलर रोक्ने फैसला गरेका हुन्। उनले डब्ल्यूएचओबाटै अमेरिका अलग हुने प्रक्रियामा लाग्ने बताएका छन्। अमेरिकी प्रशासन अधिकारीहरूले भने डब्ल्यूएचओका चुनिएका र महत्त्वपूर्ण बैठकमा अमेरिका सामेल हुने र संगठनबाट अलग हुने प्रक्रियाको अवधि एक वर्षभित्र विशेष कार्यक्रममा एक पटक सहयोग पनि गर्ने बताएका छन्।

यस्ता महत्त्वपूर्ण कार्यक्रममा अफगानिस्तान तथा पाकिस्तानमा पोलियो उन्मूलन, लिबिया तथा सिरियामा मानवीय सहायता र इन्फ्लुएन्जाविरूद्धका अभियान रहेका छन्।

जुलाईमा राष्ट्रपति ट्रम्पले अमेरिका डब्ल्यूएचओबाट २०२१ मा अलग हुने बताएका थिए। उनले प्रशासनलाई एजेन्सी तथा वित्तपोषण एवम् सहयोगसम्बन्धी कार्य सम्पन्न गर्न निर्देशनसमेत दिइसकेका छन्। सो घोषणापूर्व अमेरिकाले डब्ल्यूएचओलाई दिनुपर्ने अनुमानित १२ करोड डलरमध्ये ५.२ करोड डलर भुक्तानी गरिसकेको थियो। 

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.