पुल्चोकको भीड नियन्त्रणमा खटिएका १८ सुरक्षाकर्मीमा कोरोना

२० भाद्र २०७७, शनिबार ०६:४५

काठमाडौं, भदाै २० । पुल्चोकमा मच्छिन्द्रनाथको रथ यात्रा निकाल्ने नाममा जम्मा भएको भीड हटाउन खटिएकामध्ये १८ जनालाई प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

पुल्चोकमा भएको झडपका क्रममा महानगरीय प्रहरी बृत्त सातदोबाटो र प्रहरी परिसर ललितपुरबाट टोली खटिएको थियो। उपत्यकाका ५६ जना प्रहरीलाई कोरोना संक्रमण पुष्टि हुँदा भीड नियन्त्रणमा खटिएका १८ जना पनि रहेको स्रोतले जनाएको छ।

उनीहरु सातदोबाटो बृत्त र ललितपुर परिसरबाट खटिएका प्रहरी हुन्  महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी सन्तोष तामाङले सातदोबाटो बृत्तसहितका प्रहरीलाई कोरोना पुष्टि भएको जानकारी दिए।

पछिल्लो समय काठमाडौंमा उपत्यकामा तैनाथ प्रहरीमा तीव्र गतिमा कोरोना फैलिरहेको छ। प्रहरीलाई ठूलो संख्यामा कोरोना देखिन थालेपछि पुल्चोकमा खटिएकासहिको स्वाब संकलन गरिएको थियो। तर स्वाब संकलन गरिसकेर रिपोर्ट नआउन्जेल उनीहरुलाई सेल्फ आइसोलेसनमा राख्‍नुपर्नेमा भीड नियन्त्रणका लागि तैनाथ गरिएको थियो।

पुल्चोकमा भएको झडपका क्रममा केही प्रहरी र सर्वसाधारण पनि घाइते भएका थिए। पुल्चोकमा ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेलाई कुटपिट गर्ने तथा पत्रकारको ज्याकेट लगाएर प्रहरीलाई ढुंगा हान्‍नेसहित १३ जनालाई प्रहरीले पक्राउ गरेर हिरासतमा लिइसकेको छ। 

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.