बितेकाे २४ घण्टामा १०४१ जना सङ्क्रमित थपिए, १५६६ जना निको

२० भाद्र २०७७, शनिबार १७:३४

काठमाडाैं, भदाै २० । नेपालमा कोरोना संक्रमितको संख्या ४५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा मुलुकभर हालसम्मकै सबैभन्दा बढी एक हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ४५ हजार २ सय ७७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा।जागेश्वर गौतमले आज मात्र ३ सय ४९ महिला र ६ सय ९२ जना पुरुषमा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

काठमाडौं उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा ४ सय ८ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंका ३ सय २६, ललितपुरका ३७ र भक्तपुरका ४५ जना छन् । पछिल्लो २४ घन्टामा १ हजार ५सय ६६ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । हालसम्म २७ हजार १ सय २७ जना डिस्चार्ज भएका छन् । यो कुल संक्रमणको ६० प्रतिशत हो । पछिल्लो २४ घण्टामा १२ हजार ४ सय ७३ जनाको पीसीआर परीक्षण भएको छ । योसँगै आजसम्म ७ लाख ५७ हजार ४९० पीसीआर परीक्षण गरिएको छ । संस्थागत आइसोलेसन ९ हजार ८ सय ६६ जना र होम आइसोलेसनमा ८ हजार ४ रहेका छन् । आजसम्म देशभर ६ हजार ७ सय १ जना क्वारेन्टिनमा रहेका छन् ।

बागमती प्रदेशमा २० जना, प्रदेश १ मा ३ जना र प्रदेश ५ मा ३ जना गरी २४ जना भेन्टिलेटरमा रहेका छन् । देशभर १ सय ६७ जनाको आईसीयूमा उपचार भइरहेको छ । जसमा बागमती प्रदेशमा सबैभन्दा धेरै १ सय ८ जना छन् । धनुषा, चितवन, रुपन्देही, मोरङ, सुनसरी, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा, काठमाडौं र ललितपुरमा पाँच सयभन्दा बढी संक्रमितको उपचार भइरहेको मन्त्रालयले जनाएको छ । ताप्लेजुङ, मुगु, सोलुखुम्बु, मुस्ताङ, डोल्पा र हुम्लामा कोरोना भाइरसको संक्रमण शून्य रहेको छ । यसैबीच पछिल्लो २४ घण्टामा थप ६ जनाको संक्रमणका कारण मृत्यु भएको छ । 

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.