देउवाविरुद्ध कांग्रेसमा असन्तुष्ट नेताहरु छलफलमा जुटे

२१ भाद्र २०७७, आईतवार ०७:११

काठमाडौं, भदाै २१ ।  नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवाले केन्द्रीय विभागमा धमाधम मनोनयन गरेपछि त्यसको खारेजीका लागि असन्तुष्ट नेताहरु एक ठाउँमा उभिएका छन् ।

महाधिवेशनको मुखमै धमाधम मनोनयन गर्न थालेपछि वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरुले मनोनयन खारेजीको माग गरेका छन् ।

शनिबार भर्चुअल छलफलका क्रममा नेताहरुले सभापति देउवालाई दबाब दिनेदेखि आन्दोलनका कार्यक्रमका विषयमा समेत सहमति जुटाएका छन् । देउवाले विभिन्न विभागमा झण्डै १ हजार जनालाई मनोनित गरेका छन् ।

भर्चुअल बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरू रामशरण महत, अर्जुननरसिंह केसी, शेखर कोइराला, महेश आचार्य, गुरू घिमिरे, चन्द्र भण्डारी, प्रदीप पौडेल, नवीन्द्रराज जोशी, कमला पन्त, जीवन परियार, बद्री पाण्डे, गगन थापा, धनराज गुरूङलगायत नेताहरु सहभागी भएका थिए ।

केन्द्रीय सदस्यहरू गुरू घिमिरे, जीवन परियार र बद्री पाण्डेले भर्चुअल बैठकमा प्रतिवेदन पेश गरेका थिए । अनशनदेखि घेराउसम्मका दवावमुलक कार्यक्रम गरेर जाने भन्ने निष्कर्ष निकालिएको नेताहरुले बताएका छन् ।

वरिष्ठ नेता पौडेलसहितका नेताहरुले सुरुमा सभापति देउवालाई भेटेर सम्झाउने तयारी गरेका छन् ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.