बाइडेनलाई ८१ नोबेल पुरस्कार विजेताहरुको समर्थन

२१ भाद्र २०७७, आईतवार ०६:१०

एजेन्सी, भदाै २१ । अमेरिकाका ८१ नोबेल पुरस्कार विजेताहरुले आगामी राष्ट्रपति चुनावमा डेमोक्रेट पार्टीका उम्मेदवार जो बाइडेनलाई समर्थन गर्ने सम्बन्धी खुलापत्र लेखेका छन् ।  विज्ञहरुको आवाज सुन्न इच्छुक हुनु र समस्या समाधानमा विज्ञानको प्रयोग हुनुपर्ने धारणा राख्नु अधिक प्रशंसनीय रहेको उनीहरुले पत्रमा लेखेका छन् ।  

विज्ञान सम्बन्धी विषयहरु–  केमेस्ट्री, मेडिसिन र फिजिक्समा नोबेल पुरस्कार प्राप्त गरेका सबै विज्ञहरुले, कोरोना महामारीका कारण देशको इतिहासमै, यो बेला जति धेरै विज्ञानको आवश्यकता कहिल्यै नपरेको हुँदा राष्ट्र प्रमुखले वैज्ञानिक तथ्य र खोजकै आधारमा निर्णय लिनु अत्यन्तै महत्वपूर्ण भएको पत्रमार्फत् बताएका हुन् । 
उनीहरुले लेखेका छन्, “आजसम्मको लामो रेकर्डमा जो बाइडेनले निरन्तर विज्ञानमाथि भरोसा प्रकट गर्दै विज्ञहरुको कुरा सन्नमा जोड दिँदै आएका छन् । र रिसर्चमा अन्तर्राष्ट्रिय सहकारिताको महत्व बुझ्नुका साथै देशका बुद्धिजीवीहरुमा आप्रवासी नागरिकहरको मुख्य योगदानप्रति पनि उनले सम्मान व्यक्त गर्दै आएका छन् ।”

हालसम्म १ लाख ८० हजार भन्दा बढी अमेरिकीहरुको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ भने देशभर संक्रमितको सङ्ख्या ६० लाख पार गरिसकेको जोन हप्किन्स युनिभर्सिटीको डाटामा उल्लेख छ ।  यसरी महामारीविरुद्ध प्रतिक्रिया जनाउनमा ट्रम्प प्रशासन अधिक सुस्त रहेकाबारे धेरैपटक आलोचित भइसकेको छ ।
यसमा अमेरिकी जनतालाई सुरक्षित राख्न सरकारले पर्याप्त कदम नउठाएको आरोप छ । 

‘एसएसआरएस’ ले सञ्चालन गरेको हालैको सीएनएन सर्वेक्षणमा दशमध्ये सात नागरिकहरुले महामारीसम्बन्धी अमेरिकाको प्रतिक्रिया शर्मनाक रहेको बताएका छन् ।  सो सर्वेक्षणमा महामारी सम्हाल्ने विषयमा हालसम्मकै उच्च,  ५८ प्रतिशत ट्रम्पको विपक्षमा रहेको पनि देखिएको छ ।

बाइडेनले पनि यससम्बन्धी ट्रम्प प्रशासनको विरोध गर्दै उनलाई कम बोल्न र स्वास्थ्यविद्हरुको कुरा धेरै सुन्न सुझाव दिएका हुन् । 

१९८९ मा औषधि क्षेत्रबाट नोबेल पुरस्कार प्राप्त गरेका नेशनल इन्स्टिच्युट अफ हेल्थका हेरोल्ड भर्मस भन्छन्, “लामो समय अगाडिदेखि नै बाइडनेले जटिल समस्याहरुको समाधानका लागि वैज्ञानिक उपाय अपनाउनप्रति जोड दिँदै आएका छन् । त्यस्तै छोराको मृत्युपछि क्यान्सर रिसर्च इनिसिएटिभ निर्माण गर्नमा उनको दृढताले पनि धेरैलाई प्रेरणा दिएको छ । यसले विशेषगरी अहिले महामारीको अवस्थामा सबैभन्दा आवश्यक, सोचविचारपूर्वक निर्णय लिन सक्ने नेतृत्वकर्मीको झलक दिन्छ ।”

२००६ मा केमेस्ट्री विषयका नोबेल पुरस्कार विजेता रोजर कोर्नबर्गले भनेका छन्, “हाम्रो देशले यतिबेला भोग्नु परिरहेका संकटमध्येको एउटा ‘गलत सूचना प्रवाह’ पनि हो त्यसैले जनतालाई विज्ञान र सत्यलाई आधार मान्ने नेता चाहिएको छ । यसकारण पनि म जो बाइडेनको विज्ञानलाई समर्थन गर्ने एजेन्डाको पक्षमा छु जसमार्फत सार्वजनिक स्वास्थ्य सम्बन्धि उचित निर्णय लिन सकिनेछ । असली राष्ट्र प्रमुख त्यही हो जो जनतासँग इमान्दार भएर सत्यको सामना गर्दछ ।”

मेडिसिन क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याए वापद् २००९ मा नोबल पुरस्कार प्राप्त गर्न सफल एलिजाबेद ब्ल्याकबर्नले पनि वर्तमान स्थितिमा अमेरिकालाई वैज्ञानिक तथ्यका आधारमा निर्णय लिने नेताको सबैभन्दा बढी आवश्यकता रहेको बताएकी हुन् ।  उनी भन्छिन्, “जो बाइडेन सक्षम र भावुक नेता हुन् जो यस कोभिड–१९ महामारीविरुद्ध लड्न सबैभन्दा योग्य हुन सक्छन् । किनकि उनले वैज्ञानिक र मेडिकल समुदायको कुरा सुनेर समस्या समाधान गर्नेछन् जसले अमेरिकी जनताको स्वास्थ्यमा अवस्य सुधार ल्याइ सबैलाई यस भयानक महामारीबाट बचाउनेछ ।”

२००९ की अर्की नोबल पुरस्कार विजेता केरोल ग्रेल्डरले भनेकी छन्, “जनस्वास्थ्य सम्बन्धी नीति निर्माणमा राजनीतिज्ञलाई नभएर स्वास्थ्यविद् र विज्ञहरुको सुझावलाई प्राथमिकतामा राखि निर्णय लिने जो बाइडेनको प्रतिबद्धतालाई म पूर्ण समर्थन गर्दछु ।” क्यान्सर, जलवायु परिवर्तन र आणविक क्रियाकलापजस्ता जटिल र गम्भीर विषयमा विज्ञानकै आधारमा नीति निर्माण गर्न जोड दिँदै आएकाले पनि आफूले जो बाइडेनलाई समर्थन गर्ने बेरि बेरिस बताउँछन् । 

जसले २०१७ मा फिजिक्स विषयमा नोबेल पुरस्कार प्राप्त गरेका हुन् ।  उनका अनुसार कोभिड–१९ लाई छिटोभन्दा छिटो सफलतापूर्वक हराउनका लागि अहिले जो बाइडनेलाई निर्वाचित गराउन अधिक जरुरी भइसकेको छ ।  कोरोनाभाइरस नियन्त्रण गर्ने सम्बन्धि बाइडेनको योजना अन्तर्गत सबै अमेरिकीहरुको तीव्र परीक्षण गराउने, १ लाख बढी मानिसलाई कन्ट्याक्ट ट्रेसिङका लागि नियुक्त गर्ने र परीक्षणको दायरा ठूलो स्तरमा बढाउने रहेको छ । 

यसका साथै उनले ट्रम्पलाई स्वास्थ्यकर्मीहरुको सुरक्षाका उपकरणहरुको उत्पादन र परीक्षणका सामग्रीको आपूर्ति बढाउन पनि पटकपटक आग्रह गरिरहेका छन् ।  बाइडेनले आवश्यक परे सार्वजनिकस्थलमा देशैभरि सबैका लागि मास्क अनिवार्य गराउन पनि आफू पछि नहट्ने यसअघि बताएका हुन् ।  त्यस्तै उनले आफू राष्ट्रपति निर्वाचित भएलगत्तै संक्रामक रोगका वरिष्ठ डाक्टर एन्थोनी फाउसीलाई ह्वाइटहाउसको कोरोनाभाइरस टास्क फोर्समा रहिरहन आग्रह गर्ने पनि बताए ।  सीएनएनबाट      

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.