चितवन, भदौ २३ । चितवन राष्ट्रिय निकुञ्जमा तीन वर्षपछि तस्करले दुर्लभ एक सिंगे गैंडा मारेको आशङ्का गरिएको छ ।

निकुञ्जको बाँदरझुला आइल्याण्ड क्षेत्रमा दुई दिनअघि शङ्कास्पद अवस्थामा मृत गैंडा भेटिएको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार अन्दाजी २५ देखि ३० वर्षको गैंडाको टाउकामा दुई प्वाल र पछाडिको भागमा धारिलो हतियारले काटेको थियो ।

तस्करले आक्रमण गरेको अनुमानमा निकुञ्जमा सुरक्षा सतर्कता बढाइएको छ । विसं २०७३ चैतमा जगतपुरको एक सामुदायिक वनमा तस्करले गैंडा मारेयता हालसम्म चोरीका कारण गैंडा मारेको तथ्याङ्क निकुञ्जमा छैन ।

निकुञ्जका पशु चिकित्सक डा.भीषण गजमेरका अनुसार भदौ २१ गते घोलमा गढेर उभिएको तर गलेको अवस्थामा गैंडा भेटिएको थियो ।

मृत भाले गैंडाको टाउकामा दुई प्वाल थिए । तीनदेखि चार इन्चका ती प्वाल के कति कारणले भएको यकिन नभएको उहाँले जानकारी दिनुभयो ।

करिब एक साताअघि गैंडा मरेको अनुमान गरिएको छ । तस्करले गैंडालाई आक्रमण गरेको हुन सक्ने भन्दै निकुञ्जले अनुसन्धान थालेको छ ।

तस्करले खाग र खुरका लागि गैंडा मार्ने गर्दछन । पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६ सय ५ गैंडा छन् ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.