काठमाडौं, भदाै २४ । बुधबार राति १२ बजेदेखि निषेधाज्ञा खुकुलो हुने भएको छ । काठमाडौं उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको हो । 

यससँगै उपत्यकामा सवारीसाधन सञ्‍चालनमा जोर-बिजोर लागु हुने जनाइएको छ । यससँगै काठमाडौं उपत्यका प्रवेशमा कडाइ गरिनेसमेत जनाइएको छ ।

उपत्यकामा तेस्रोपटक थपिएको निषेधाज्ञाको समयसीमा बुधबार मध्यरात १२ बजे सकिँदै छ । भदौ ३, १० र १७ गते कोरोना संक्रमणको जोखिम बढेको भन्दै उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा लगाउने निर्णय गरेको थियो ।

शैक्षिक संस्था, फिल्म हल र जिमखाना लगायत यसअघि बन्द गरिएका क्षेत्र नयाँ निर्णय नभइन्जेल बन्द नै रहने छन् । व्यापार व्यवसाय खोल्न दिने शर्तबारे औपचारिक निर्णयमा विस्तृतमा खुलाइने एक अधिकारीले जानकारी दिए । 

काठमाडौं उपत्यका नगरपालिका मेयर फोरमले उपत्यकाका सबै नाकामा कडाई गरी निषेधाज्ञालाई खुकुलो पार्दै जानुपर्ने बताएका थिए ।

मेयर फोरमको मंगलबार बसेको बैठकले काठमाडौं उपत्यकाका सबै नाका कडाई गर्न सेना परिचालन गरी उपत्यकाभित्रको निषेधाज्ञालाई विस्तारै खोल्नुपर्ने निर्णय गरेको हो ।

उपत्यकाभित्र समुदाय स्तरमा संक्रमण फैलिएको स्थितिलाई मध्यनजर गरी सीमा नाकामा कडाई गर्नुपर्ने फोरमको निस्कर्ष छ ।

सार्वजनिक यातायातलाई हालको लागि रोक लगाई निजी सवारीसाधनमा जोर बिजोर प्रणाली लागू गर्नुपर्ने लगायतका निर्णय समेत फोरमले गरेको छ ।

त्यस्तै स्थानीय तहबाट प्रदान भएको सेवा प्रवाहलाई आवस्यकता अनुसार नियमित रुपमा सूचारु गर्ने निर्णय पनि फोरमले गरेको छ ।

उद्योग भित्रै क्वारेन्टाइन निर्माण गरी मजदुर र कर्मचारी राख्ने व्यवास्था गरेपछि मात्रै उद्योग सञ्चालन गर्न दिनुपर्ने बैठकको निस्कर्ष छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.