ह्यान्डबल संघद्वारा १ सय १९ जनाको कोरोना विमा

पाेखरा, भदौ २५ । नेपाल ह्याण्डबल संघले खेलाडी, प्रशिक्षक र रेफ्रीहरु गरि १ सय १९ जनाको कोरोना विमा गरेको छ ।
विश्वमा महामारीको रुपमा कोरोना फैलिए सँगै संघले आफ्ना जुनियर तथा सिनियर राष्ट्रिय खेलाडी, प्रशिक्षक तथा रेफ्रीहरुको कोरोना विमा गराएको हो ।
अन्तर्राष्ट्रिय ह्याण्डबल महासंघ (आई.एच.एफ) को सहयोगमा पहिलो चरणमा १ सय १९ जनाको कोरोना विमा गरिएको संघका महासचिब सन्देश रेग्मीले जानकारी दिए ।
“हामीले पहिलो चरणमा १ सय १९ जनाको विमा गरेका छौं” महासचिब रेग्मीले भने–“अझै करिव ५० जना छन, एकै पटक नाम संकलनका लागि समस्या भएकोले यो साता भित्रै सवैको विमा गर्दैछौं ।” सवै प्रदेश र जिल्लाहरुबाट विमा गर्न छुटेका खेलाडीहरुको नाम संकलन गर्ने काम भइरहेको समेत उनले बताए ।
संघले जुनियर तथा सिनियर लेभलमा केही वर्ष देखि यता कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएका खेलाडीहरुको कोरोना विमा गराएको कोषाध्यक्ष मिठाराम अधिकारीले बताए ।
उनले कोभिड १९ का कारण समस्यामा भएका खेलाडीहरुलाई समेत राहत वाड्नका लागि सवै जिल्लाहरुबाट नाम संकलन कार्य भइरहेको बताउँदै यसका लागि आर्थिक विनियम समेत संघले तयार पारिसकेको जानकारी दिए ।
अन्तर्राष्टिय ह्याण्डबल महासंघ (आई.एच.एफ) ले विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोभिड १९ विरुद्ध लड्न र नेपालको ह्याण्डबल खेल विकासका लागि भन्दै ६ हजार स्विस फ्र्यान्क नेपाल ह्याण्डबल संघलाई सहयोग गरेको अध्यक्ष तेज गुरुङले बताए ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस