जनकपुरधाम, भदो २६ । मैथिल समुदायका आमाहरूको महान लोक पर्व जितिया पर्व आज सम्पन्न भएको छ ।

मैथिल समुदायका महिलाहरुले थुक पनि ननिलेर ३६ घण्टासम्म व्रत गरी पर्व सम्पन्न गरेका छन । सप्तमी, अष्टमी र नवमी तिथिमा मनाइने यो पर्वमा सन्तानको आरोग्य कामनासहित कठोर व्रत गरिने चलन छ ।

विगतमा छोरा हुनेले मात्र व्रत वस्ने परम्परा रहेकामा आमाहरूले हाल सो परम्परा तोड्दै छोराछोरी दुवैको सुख, शान्ति र समृद्धिका लागि व्रत बस्ने गरेका छन ।

जितिया पर्व मैथिल संस्कृतिको एउटा मुख्य पर्वको रुपमा मानिँदै आइएको छ । यसलाई जिमुतवाहन व्रत पनि भनिन्छ । विशेषरूपले आइतबार र मङ्गलबार पर्ने जितियालाई अधिक महत्व दिइन्छ । यस अन्तर्गत यस व्रतको सप्तमी तिथिमा व्रतीले नहाय खाय, तेलखरि र पितराइन, रातिको अन्तिम प्रहरमा ओठगन गर्ने चलन छ ।

अष्टमी तिथिका दिन ब्रतालुहरुले नजिकको पोखरी, तलाउमा स्नान गरी भगवान सूर्यलाई अघ्र्य अर्पण गर्छन । त्यसपछि ब्रतको सङ्कल्प गरिन्छ र घरमा आएर डाली भर्ने गरिन्छ । डालीमा नरिवल, काँक्रो, स्याउ, केरालगायतका फलफूल राखेर नयाँ कपडाले छोपिन्छ ।

मध्याह्नतिर टोलभरिका आमा एक ठाउँमा भेला भई जिमुतवाहन व्रतको महत्व, पर्वको शुभारम्भ र जिमुतवाहन देवताको बारेमा कथा सुन्ने गरिन्छ ।

साँझतिर आँगनमा गाईको गोबरले लिपपोत गरी एउटा सानो खाल्डो खनेर पोखरीको निर्माण गरिन्छ । त्यो पोखरीको डिलमा पाकडी रूखको सानो हाँगा गाड्नुका साथै हाँगाको माटोको चिलको आकृति र हाँगामुनि स्यालको आकृति बनाइन्छ ।

त्यहाँ जलले भरिएको कलशमा कुशको जिमुतवाहनको मूर्ति राखिन्छ र फलफूल लिएर जिमुतवाहनको व्रती आमाले पूजापाठ गर्दछन ।

जितिया व्रत गर्नाले सन्तानको दीर्घायु र आरोग्य रहनुका साथै खासगरी कुनै आकस्मिक खतराबाट रक्षा हुने विश्वास रहेको पाइन्छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.