एजेन्सी, भदाै २८ । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सानदार सुरुवात गरेको छ ।

नयाँ सिजनको पहिलो खेलमा शनिबार फुलहमलाई ३-० गोल अन्तरले पराजित गर्दै आर्सनलले सानदार सुरुवात गरेको हो ।

सिजनको सुखद सुरुवात गर्ने क्रममा आर्सनलका लागि एलेक्जान्ड्रा लाकाजेट, ग्राबियल र पिएर एम्रिक आबुमियाङले एक एक गोल गरे ।

फुलहमको घरेलु मैदानमा आर्सनलले खेलको नवौं मिनेटमा लाकाजेटको गोलबाट अग्रता बनाएको थियो ।

विलियनले प्रहार फुलहमका गोलकिपर मारेक रोडकले रोकेपछि आएको रिबाउन्ड बलमा अनमार्क रहेका लाकाजेटले गोल गरेका थिए ।

लाकाजेट नयाँ सिजन प्रिमियर लिगमा गोल गर्ने पहिलो खेलाडी समेत बने । यस अघि उनी सन् २०१८ को सिजन पनि प्रिमियर लिगका पहिलो गोलकर्ता बनेका छन् ।

दोस्रो हाफमा आर्सनलले थप दुई गोल थप्यो ।

खेलको ४९ औं मिनेटमा ग्राबियलले गोल गर्दै आर्सनललाई २-० को अग्रता दिलाए । उनले विलियनको कर्नरमा हेड गोल गरेका थिए ।

डिफेन्डर ग्राबियलले डेब्यु खेलमै गोल गरेका हुन् । २२ वर्षीय डिफेन्डरलाई आर्सनलले फ्रेन्च क्लब लिलबाट यसै समरमा अनुबन्ध गरेको थियो ।

त्यसपछि खेलको ५७ औं मिनेटमा कप्तान आबुमियाङले गोल गर्दै आर्सनललाई ३-० को जित दिलाए । उनले पनि विलियनको पासमा गोल गरेका थिए ।

चेल्सीबाट यसै सिजन आर्सनल आएका विलियनले डेब्यु खेलमा ३ असिस्ट गरेका हुन् ।

जितसँगै आर्सनलले पहिलो खेलमै ३ अंक जोडेको छ । आर्सनल तालिकाको शीर्ष स्थानमा रहेको छ ।

यसै सिजन प्रिमियर लिगमा फर्किएको फुलहमले भने हारबाट सिजनको सुरुवात गरेको छ ।

फुलहम च्याम्पियनसिपको प्ले अफ उपाधि जित्दै प्रिमियर लिगमा बढुवा भएको हो ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.