एजेन्सी, भदाै २८ । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुलले सुखद सुरुवात गरेको छ ।

शनिबार राति भएको सिजनको पहिलो खेलमा लिड्स युनाइटेडलाई ४-३ गोल अन्तरले पराजित गर्दै लिभरपुलले सुखद सुरुवात गरेको हो ।

एनफिल्डमा लिभरपुललाई जित दिलाउन मोहमद सलाहले ह्याट्रिक गरे । यस्तै भिर्गिल भान डाइकले एक गोल गरे ।

लिड्सका ज्याक ह्यारिसन,प्याट्रिक बामफोर्ड र माटेउ क्लीचले एक एक गोल फर्काए ।

Image

रोमान्चक बनेको खेलको चौंथो मिनेटमा सलाहले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । १२ औं मिनेटमा ह्यारिसनले गोल गर्दै लिड्सलाई १-१ गोलको बराबरीमा ल्याए ।

२० औं मिनेटमा भान डाइकले गोल गर्दा लिभरपुल २-१ ले अघि रह्यो । तर, ३० औं मिनेटमा लिड्सका प्याट्रिकले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए ।

Image

खेलको ३३ औं मिनेटमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफमा लिभरपुललाई ३-२ को अग्रता दिलाए । खेलको ६६ औं मिनेटमा क्लीचले गोल गर्दै लिड्सलाई ३-३ गोलको बराबरीमा ल्याए ।

तर, खेलको ८८ औं मिनेटमा सलाहले पेनाल्टीबाट व्यक्तिगत तेस्रो तथा ह्याट्रिक गर्दै लिभरपुललाई ४-३ को जित दिलाए ।

Image

यससँगै सलाह प्रिमियर लिगको नयाँ सिजन ह्याट्रिक गर्ने पहिलो खेलाडी बने ।

च्याम्पियनसिपको उपाधि जित्दै प्रिमियर लिगमा बढुवा भएको लिड्सले भने हारबाट सिजनको सुरुवात गरेको छ । लिड्स १६ वर्षपछि पहिलोपटक प्रिमियर लिगमा बढुवा भएको हो ।

Image

प्रिमियर लिग अन्तर्गत गए राति नै भएको अर्को खेलमा क्रिस्टल प्यालेस विजयी भएको छ ।

नयाँ सिजनको पहिलो खेलमा क्रिस्टलले शनिबार साउथह्याम्पटनलाई १–० ले पराजित गर्दै सुखद सुरुवात गरेको हो ।

घरेलु मैदानमा क्रिस्टललाई जित दिलाउन विल्फ्रिड जाहाले निर्णायक गोल गरे ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.