सिन्धुपाल्चोक पहिरो अपडेटः ७ वटा शव फेला, २४ बेपत्ता, सभामुख घटनास्थल पुगे (फाेटाे फिचर)

२८ भाद्र २०७७, आईतवार १२:५२

सिन्धुपाल्चोक, भदाै २८ । सिन्धुपाल्चोकको बाह्रबिसेका विभिन्न स्थानमा गएको पहिरोमा बेपत्तामध्ये सात जनाको शव फेला परेको छ। पहिरोमा पुरिएर अझै २४ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

अहिले सम्मका खोजीमा ७ जनाको शव फेला परेको र २४ जना अझै बेपत्ता रहेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । पहिरोले १९ घर पुरिएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । पुरिएका घरको संख्या अझै बढ्न सक्ने प्रजिअ ढकालले बताए ।

वर्षा नरोकिंदा उद्दार र तत्काल राहत पठाउन असहज भएको प्रजिअ ढकालले बताए । उनका अनुसार सदरमुकाममा हेलिकप्टर र राहत बोक्ने गाडी तयारी अवस्थामा राखिएको छ । २५० परिवारलाई तत्काल उद्धार गरेर अन्यत्र सार्न आवश्यक रहेको प्रहरीले बताएको पनि प्रजिअ ढकालले बताए ।

उद्दारका क्रममा भेटिएको शवको सनाखत हुन सकेको छैन । प्रहरीले उद्दार तथा सनाखतको प्रयास पनि गरिरहेको छ । बाह्रबिसे नगरपालिकाको भीरखर्कबाट पहिरो नागपुजे हुँदै भोटेकासीसम्म खसेको प्रहरीले जनाएको छ ।

यसैबीच पहिरो खसेको जानकारी पाउनासाथ सभामुख अग्नी सापकोटा घटनास्थल पुगेका छन् । उनले पहिरो स्थलमै पुगेर स्थानीय तह र प्रहरीको समन्वयमा उद्दार तथा राहतको काममा तिब्रता दिन स्थानीय प्रशासनलाई आग्रह गरे ।

पहिरो खसेको जानकारी पाएलगत्तै उनी बिहान ४ बजे स्थल मार्गबाट घटनास्थल हिँडेका थिए । सिन्धुपाल्चोक सभामुख सापकोटाको गृह जिल्ला हो ।

यसैबीच सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले पहिरोग्रस्त क्षेत्र आसपासका २२७ घरपरिवारलाई सुरक्षित स्थानमा सार्ने विषयमा छलफल भइरहेको बताए।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.