काठमाडौं, भदाै २९ ।  चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसीले जुम्लामा सत्याग्रह थालेका छन् । डा. केसीले आफूले राखेका विभिन्न मागहरु सुनुवाइ नभएको भन्दै आज (सोमवार) दिउँसो २ बजेदेखि अनसन थालेका हुन् ।

वरिष्ठ चिकित्सक गोविन्द केसीले १९ औं सत्याग्रह थालेका हुन् । डा. केसीले यो पटक विभिन्न ६ बुँदे माग राख्दै अनसन शुरु गरेका छन् । उनी जुम्ला बजार नजिकै पर्ने सिंहचौरस्थित बाबिरा मस्ट मन्दिरमा अनसन बसेका हुन् ।

डा केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्‍याएर एमबीबीएस लगायतका कार्यक्रम सञ्चालन गर्नुपर्ने र गेटा मेडिकल कलेज र राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र पूर्वाधार र जनशक्ति पुर्‍याएर पठनपाठन शुरु गर्नुपर्ने माग राखेका छन् ।

यस्तै प्रदेश दुई र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउनु पर्ने माग पनि राखेका छन् ।

डा. केसीले मास्कको प्रयोग र सामाजिक दूरीलाई अनिवार्य गर्दै पीसीआर परीक्षण व्यापक बनाएर लकडाउन र निषेधाज्ञा अन्त्य गर्नुपर्ने, कोभिड तथा अन्य रोगका सबै बिरामीहरुका लागि समेत उचित उपचारको व्यवस्था गर्नुपर्ने माग पनि राखेका छन् ।

डा. केसीले आफूसँग २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गनुपर्ने पनि माग राखेका छन् ।

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठता मिचेर भएका नियुक्तिहरु सच्याउँदै सबै पदमा वरिष्ठताका आधारमा नियुक्ति गर्नुपर्ने, विश्वविद्यालय, काउन्सिल र प्रतिस्ठानका पदाधिकारी नियुक्तिका लागि पदाधिकारी मापदण्ड निर्धारण समितिले दिएको सुझाव अनुरूप निष्पक्ष र पारदर्शी ढङ्गले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्था गर्नुपर्ने माग उठाएका छन् ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.