काठमाडौं, असोज १ । कोरोना भाइरसको महामारीसँगै ग्यारेजमा थन्किएका सार्वजनिक यातायात आजदेखि सञ्चालनमा आएका छन ।

सरकारले चैत्र ११ गतेदेखि सुरू गरेको लकडाउन साउन ६ मा खुला गरे पनि सरकारले अन्तरजिल्ला सार्वजनिक सवारी साधन खुला गरिएको थिएन ।

यस्तै उपत्यकामा आज असोज १ गतेदेखि सबै पसल र व्यापार खोलिएको छ । यसअघि तोकिएको बार र समयमा मात्र पसल खोल्न पाउने व्यवस्था हटाइएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाण्डौले सूचना निकालेर यसअघि लगाइएको पसल खोल्ने समय र बार दुवै प्रावधान हटाएको छ । काठमाण्डौ उपत्यकाबाट बाहिर जाने र उपत्यकामा सवारी साधन प्रवेशलाई अर्को आदेश नहुँदासम्म खुला गरिएको छ ।

Queue of commuters to get aboard a microbus in Kathmandu, in November, 2016. Photo: THT

तर सार्वजनिक तथा निजी गाडीमा जोरबिजोर प्रणाली भने अर्को व्यवस्था नभएसम्मका लागि कायमै राखिएको छ । यस्तै शिक्षण संस्था सञ्चालन, गोष्ठी, सभा सम्मेलनमा पनि रोक कायमै गरिएको छ । यस्तै सैलुन तथा ब्युटी पार्लर, सिनेमा हल र जिम, पब र स्पा पनि खोल्न पाइने छैन । भिडभाड हुनेबाहेक अन्य व्यवसाय सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न दिने निर्णय भएको प्रशासनले जनाएको छ ।

यसअघि मन्त्रिपरिषद्को बैठकले बिहीबारदेखि लामो दूरीका यातायात, होटेल–रेस्टुरेन्टलगायत व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरिसकेको छ ।

आज विश्वकर्मा दिवससमेत भएकाले ग्यारेज तथा गाडीमा विश्वकर्मा पूजा गरेर गाडी सञ्चालनमा आएका छन् । लामो दूरीको गाडी भने आवश्यक मर्मतसम्भार र चेकजाँचपछि मात्रै सञ्चालनमा आउने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।

काठमाडौंमा जोर बिजोर

देशभर सबै खाले सार्वजनिक गाडी सञ्चालनमा आए पनि काठमाडौँ उपत्यकामा भने महामारीको जोखिम बढ्दै गएकाले जोरबिजोर प्रणालीमा मात्रै सञ्चालनको अनुमति दिइएको छ । बुधबार काठमाडौँ उपत्यकाका तीन वटै (काठमाडौँ, भक्तपुर र ललितपुर) जिल्ला प्रशासन कार्यालयहरूले यातायातमा जोर बिजोर प्रणालीलाई कायमै राख्दै ब्यवसाय खोल्न तोकिएको बारको प्रतिबन्ध हटाएका छन ।

आन्तरिक हवाई उडान नहुने

वायु सेवा सञ्चालक संघले भने पूर्ण क्षमतामा यात्रु राखेर सेवा दिन नपाएसम्म उडान नै नगर्ने निर्णय गरेको छ । ५० प्रतिशत मात्र यात्रु राखेर उडान गर्नुपर्ने सरकारको निर्णयमा असहमति जनाएका उनीहरूले बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको छलफलमा ५० प्रतिशत यात्रु राखेर उडान सम्भव नभएको प्रष्ट्याएका छन । आर्थिक गतिविधि चलायमान हुन नसकेका बेला सिट क्षमताका ५० प्रतिशत मात्रै यात्रु राख्दा भाडा महंगो हुने र यात्रुले बेहोर्न नसक्ने भएकाले उडान सुरू गर्नुको औचित्य नभएको उनीहरूको ठहर छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.