बालबालिकालाई नौलो अनुभव : अनलाइन शिक्षा

१ आश्विन २०७७, बिहीबार १५:२२

दीपा रेग्मी

केही समय अगाडी बालबालिकाहरु घण्टौँ मोवाइल र टिभिमा झँुण्डिदा बुवा—आमाका लागि तनावको विषय बन्ने गरेको थियो । दिनरात मोवाइल र टिभिमा मस्त छोराछोरीको भविष्य के होला भनेर धेरै अभिभावक चिन्तित हुन्थे यद्यपी अझ पनि हुन्छन् । तर अब त्यही मोवाइल र टिभी नै उनीहरुको शैक्षिक गुणस्तर मापन गर्ने हतियार बनेको छ ।

कोराना भाइरसको कारण बन्द रहेका विद्यालयका कारण विद्यार्थीहरु स्कुल जान पाएका छैनन् । तर पनि बैकल्पिक माध्यम जस्तै इन्टरनेट मार्फतका गुगल क्लास, जुम मिटिङ र टिभिका माध्यमबाट अधिकाँश विद्यालयले भने पढाईलाई निरन्तर दिएका छन् । कतिपय विद्यालयले त शैक्षिक सत्रको पहिलो परिक्षा पनि अनलाइन क्लासबाट सम्पन्न गरिसकेको अवस्था छ ।
बिहान ९ बज्ने बित्तिकै खाना खाने र स्कुलका लागि तयारी गर्ने विद्यार्थीहरुलाई अहिले भने त्यो हतारो छैन , न नै आमाहरुलाई छिटो छिटो छोराछोरीलाई तयार गरेर स्कुलका लागि पठाउने हतारो नै छ । घरमै बसेर स्कुलको पढाई अनलाइन क्लासबाट गर्न पाउनु पनि विद्यार्थीहरुका लागि नौलो अनुभव भएको छ साथै नौलो प्रयोग पनि ।

रिपुमर्देनी सैनिक माध्यमिक विद्यालय काठमान्डौमा कक्षा चारमा पढ्ने आयुष्मा पन्त अनलाइन क्लास आफूहरुको लागि नौलो भएको र रमाइलो पनि भएको बताउँछिन् ।“पहिले स्कुलको झोला खोल्नुपर्दथ्यो, तर अहिले ल्यापटप खोलेर पढ्छुु” पन्त सुनाउँछिन् “ रमाइलो नै छ तर पनि विद्यालय नै गएर पढ्न पाए पनि हुने नि जस्तो भने लाग्छ, किनभने विद्यालय गएर पढ्नुको मज्जा नै बेग्लै हुन्छ । ”

यस्तै, काठमान्डौ धापासीमा रहेको तिरङ्गटार मध्यमिक विधालय कक्षा १० मा पढ्ने छात्रा नेहा बराल भन्छिन् “ गुरू र गुरूआमाहरूले स्कुलमा बोर्डमा लेखेर जसरी पढाउनुहुन्थ्यो, अनलाइनमा पनि त्यसरी नै पढाउनुहुन्छ , तर फरक यति हो कि हामी घरमा बसेर मोवाइल र ल्यापटपमा पढिरहेको छौ ।

पोखराको माउन्ट अन्नपुणर््ामा कक्षा आठमा पढ्ने विधार्थी श्रमण ढुङगाना भने स्कुल जान नपाउँदा आफुले स्कुल र साथीहरुलाई धेरै नै सम्झीरहेको बताउँछन् । उनी भन्छन् “अनलाइनको पढाई कक्षामा पढे जस्तो अलि नहुने रहेछ तर साथीभइ सँगको प्रत्यक्ष भेटघाट र स्कुललाइ भने निकै मिस गरेको छु ।”

यता शिक्षकहरूको पनि आफ्नै किसिमको अनुभव रहेको छ । रिपुमर्देनी सैनिक माध्यमीक विद्यालय काठमाण्डौँमा अध्यापन गराउँदै आउनुभएकी शिक्षिका शोभा भण्डारी भने सुरुसुरुमा अनलाइन क्लास पढाउन निकै अफठ्याारो भएपनि पछि सजिलो भएको बताउँछिन् । “ पहिले टेक्नोलोजीसँग त्यती नजिक थिएनौ, तर अहिले यो बिनाको संसार कल्पना नै गर्न नसकिने जस्तो भइरहेको छ ।” भण्डारी भन्छिन्“ हामी शिक्षकहरूलाई पहिले भन्दा अझ धेरै मेहनत गर्नु परेको छ । प्रत्यक्ष रूपमा पढाउँदा जस्तो भने नहुने रहेछ । बच्चाहरूसँगको फिजिक्ली अट्याजमेन्ट एकदमै मिस भएको छ । बच्चाहरूले पनि यो कुरालाइ मिस गरेको अनुभव मैले गरेकी छु । ”

अनलाइन क्लास विद्यार्थीका लागि मात्र हैन अभिभावकका लागि पनि नौलो अनुभव बनेको छ । छोराछोरीसँगै बसेर गाइड गर्नुपर्ने, उनीहरुले पढ्नु भन्दा पनि अन्त ध्यान दिन्छन् कि भनेर निगरानी गर्नुपर्ने र कतिपय अवस्थामा त छोराछोरीसँगै आफूपनि पढ्नुपर्ने अवस्था सृजना भएको अभिभावकहरु सुनाउँछन् ।

काठमाण्डौ धापासी निबासी तिन सन्तानकी आमा विद्या घिमिरेलाई भने एउटै समयमा छोराछोरीको अनलाइन क्लास हुँदा मोवाइल र ल्यापटप प¥याउन हम्मेहम्मे पर्ने गर्दछ । “अभिभावको प्रत्यक्ष निगरानीमा कक्षा हुने भए पनि उनिहरु सँग सधै सँगै बस्न सम्भव नै हुँदैन” घिमिरे भन्छिन् “ अनलाइन क्लासमा माइक र क्यामेरा अफ गरेर कसैसँग अनावश्यक च्याट पो गरेका छन् कि, अनावश्यक भिडियो पो हेर्छन कि भन्ने डर भने मनमा रहिरहँदोरहेछ ।”
बाँसबारी कठमान्डौ बस्ने पद्ममा पौडेल बच्चाहरुले अनलाइन क्लास रमाइलो मान्दै पढिरहेको र आफूलाई पनि नौलो अनुभुती भएको बताउँछिन् ।

नयाँ प्रयोग सँगै अनलाइन कक्षा विधालय शिक्षक,विधार्थी र अभिभावक सबैलाइ चुनौतीको विषय बनेको छ । घरमा इन्टरनेट , मोवाइल र ल्यापटप हुनेहरुलाई त अनलाइन कक्षामा आफना छोराछोरीलाई समावेश गराउन सहज होला । तर सबै सँग यी सुबिधा नहुन सक्छ ,जसले गर्दा पढ्न इच्छा हुँदाहुँदै पनि अधिकाँश विद्यार्थीहरु अनलाइन कक्षा लिन पाइरहेका छैनन् । शहरमा भन्दा पनि गाउँका विद्यालयहरु यसको मारमा छन् । त्यस्ता विद्यार्थी जो अनलाइन कक्षा लिन असमर्थ छन् उनीहरुका लागि सरकार वा सरोकारवालाले अन्य बैकल्पिक माध्यम सन्चालन गरेर भएपनि विधर्थीको पढाईलाई निरन्तरता दिन जरुरी छ । आजका विद्यार्थी भोलीका कर्णधार हुन् त्यसैले यिनिहरुको बारेमा सरोकार निकाय सबै संवेदनशिल हुनुपर्ने समय आएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.