ललितको सफल शल्यक्रिया

१ आश्विन २०७७, बिहीबार १५:२०

काठमाडौं, असोज १ । कञ्चनपुरमा सडक दुर्घटनामा परि घाईते भएका राष्ट्रिय क्रिकेट टिमका खेलाडी ललित सिंह भण्डारीको आज शल्यक्रिया भएको छ ।

क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले बिहीबार ललितको मुख्य चोटको सफल शल्यक्रिया भएको जानकारी दिएको हो । कञ्चनपुरमा दुर्घटना भएपछि थप उपचारका लागि काठमाडौंको ग्राण्डी अस्पतालमा भर्ना भएका ललितको डा.चक्र राज पाण्डेको टिमले शल्यक्रिया गरेको सिप्यानले जनाएको छ ।

सिप्यानले ललितको अवस्था स्थिर रहेको समेत जनाएको छ । ललितलाई आईतबार राति धनगढीबाट महेन्द्रनगर जाँदै गरेको ट्रकले ठक्कर दिएको थियो । मोटरसाइकलमा सवार ललित र उनका भाइलाई चोट लागेको थियो ।

दुर्घटनामा परेपछि ललितलाई धनगढीको निसर्ग हस्पिटलमा राखेर उपचार गरिएको थियो । त्यहाँका चिकित्सकले थप उपचारका लागि ललितलाई नेपागञ्ज मेडिकल कलेज कोहलपुरमा रिफर गरे पनि थप उपचारका लागि सोमबार हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो ।

ललितको उपचारका लागि पछिल्लो समय सिप्यानले आर्थिक संकलन गरिरहेको छ । चोटकै कारण ललित पछिल्लो समय राष्ट्रिय टिमबाट बाहिर रहँदै आएका छन् ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.