याम्बुनेरका कथा

याम्बुनेर’ पढेपछि मैले केही लेखिन भने न्याय हुँदैन भनेर म यहाँ केही लेखिरहेछु।
बिना थिङ्गको कथासंग्रह ‘याम्बुनेर’ कथा नभएर यथार्थ हो – जीवनको, समाजको, एउटा समुदायको, वर्गको, महिलाको, पुरुषको। अनि माया, प्रेम र यौनको। जब कथा यथार्थ हुन्छ तब त्योसँग म जस्ता पाठक जोडिन आइपुग्छन्। त्यस्ता कथामा गहिराइ हुन्छ, भावना हुन्छ, संवेदना हुन्छ, कथाका पात्रहरू आफ्नै जीवनका पर्दामा आउँछन्।
जीवन–अनुभव र भोगाइबाट जन्मिएका जस्ता लाग्ने यी कथामा निजात्मक भावनाहरू पोखिनु भन्दा पनि बढी बस्तुपरक लाग्छन्। पात्रहरुको चित्र चित्रकारले क्यानभासमा कोरेझैँ लाग्छ। विभिन्न जीवन–रंग बोकेर उभिएका कथाका पात्रहरूको चित्रण क्षितिजमा देखिने इन्द्रेणीझैँ लाग्छ जसको मादकतामा लट्ठ हुन्छ पाठक एउटा पर्यटकझैँ, जसले प्रकृतिको सौन्दर्यमा जीवन र जगत देख्छ। भाषा, विषयबस्तु र कथाको बनोटले यस्तै खाले सौन्दर्य पस्किएको महसुस हुन्छ ‘याम्बुनेर’ पढेपछि।

त्यही भएर म यो समीक्षामा हरेक कथामा के छ भनेर कथाको सौन्दर्य मार्न चाहन्न। चाहन्छु – पाठकले आफै यी कथा पढून। रसास्वादन गरून्। याम्बु र याम्बुनेरका जीवनहरूलाई बुझून्। एउटा वर्गको अस्तित्वलाई बोध गरून्। र, त्योसँग जोडिएका संस्कृति, भाषा, जीवनशैली र तिनीहरुलाई बुझ्न नसक्ने समाज र परिवेशलाई चिनुन्। कथाका पात्र, उनीहरूका सम्वाद र कथनबाट जन्मिएका भावहरूसँग हरेक पाठकको आफ्नै छुट्टै सामीप्य होस्। कथाका शब्द र वर्णनसँग आलिङ्गन होस्। म मात्र भन्न चाहान्छु– कुन कथाले मलाई कसरी छोयो।
तेह्र वटा कथाको संग्रह ‘याम्बुनेर’मा, ‘याम्बुनेर’ पनि एक कथा हो। मैले सुरुवात त्यहाँबाट गरें। आहा, कति मीठो समाजको चित्रण !
‘आनी पेमा’ कथा पढ्दा अंग्रेजी कवि जोन डनले लेखेको कविता ‘क्यानोनाइजेसन्’ (The Canonization) को याद आयो। कवि लेख्छन् “For God’s sake hold your tongue, and let me love” अर्थात ‘ईश्वरको कृपा गरेर कृपया तिमी आफ्नो जिब्रोलाई बसमा राख र मलाई प्रेम गर्न देऊ।’ आनीले तपस्याभन्दा माथि, बौद्धदर्शनभन्दा माथि प्रेममा आफ्नो खुशी देख्नुलाई नै ठूलो त्याग र तपस्या ठानेको देखिन्छ। कथाकारले निकै कलात्मक ढंगले यो विषयलाई पस्किएझैँ लाग्छ कि हरेक कुराको अन्त्य अन्ततः प्रेममा पुगेर हुन्छ। प्रेम बेगरको निस्सार जिन्दगीमा दर्शन र तपस्याको के कुरा ! गौतम बुद्ध महल छोडेर तपस्यातिर लागे तर उनैलाई चुनौती दिए जस्तो आनीले तपस्या छोडेर प्रेमको बाटो रोजिन्। मज्जा पढ्दा जति कहाँ आउँछ र !

‘सिकोफाइभ’ ले मानवीय स्वभाव, संवेग, आवेगलाई कलात्मक हिसाबले प्रस्तुत गरेको छ।
‘भगवान निवास’ पढ्दा अन्तिममा आएर त्यहाँको पात्रझैँ मेरो पनि दिमाग शून्य भयो। म निःशब्द भएँ। भगवान के नाममा छ ? धर्तीको ‘भगवान’ पात्र र आकाशको भगवान बीचको दूरी के हो? के त्यहाँ साच्चै भगवानको अस्तित्व छ ? एउटा चुनौतीपूर्ण प्रश्न तेर्सिएझैँ लाग्यो। विखन्डनवादी हेराइजस्तो लाग्यो, भगवानको अस्तित्व केवल शब्दले मात्र दिएको।
‘आयाम’ पढेपछि एक्लै फुस्फुसाएँ ‘आहा, कति मीठो मन छुने कथा।’
‘घडी फूल’ पढेपछि आफ्नै जीवन सम्झें मानौ त्यसरी नै सम्झिन्छ हरेक पाठकले। प्रेम पर्दाको जस्तो जीवन विवाहपछि अझ गहिरो हुनुपर्नेमा किन कसै कसैको जीवन अझ निस्सार बन्छ ? एउटा अफ्ट्यारो प्रश्न तेर्सिएझैँ लाग्छ।
‘ड्राईभरका आँखा’ ले आँखाले होइन, हेराइले मानिसको नियत र व्यक्तित्व निर्धारण गर्छ भन्ने सन्देश दिएको छ। कथा पढ्दा नै मज्जा आउँछ।
‘गंगारामको साइकल’ को अन्त्यको मिठास कथा पढेपछि थाहा हुन्छ। पाठक हिरिक्कै हुन्छ पात्रसँगैै।
‘गन्धे झार’को रागसँग मिसिएको छ समय, यौन र जीवन।
त्यसैगरी ‘आइतिमाया’ले बोकेको छ रिस, माया र यौनको समिश्रण ।
‘जुनेदो’ले देखाउँछ मनको कुरा खोल्न नसक्दा समयको पाबन्दी कटिजान्छ र रहन्छ केवल सम्झना कफीका चुस्कीसँग ।
‘ब्याड भाले’ ले समाजका त्यस्तै पात्रहरुलाई चिनाउँछ। र, अन्तिम शीर्षक ‘सिफनको फेरो’ले प्रेमको पवित्रतालाई देखाउँछ।
सबै कथाहरु एक से एक छन्। भाषाको मिठास उस्तै छ। वर्णन झनै सुन्दर। पात्र परिचय र चरित्रचित्रण उत्कृष्ट लाग्छ। कथाकारले प्रथम एक वचनमा कथाहरुलाई बस्तुगत ढंगले पस्किएकी हुँदा हरेक पाठकले आफूलाई कहीँ न कहीँ भेटिरहन्छ कथाभित्र। सम्वादमा त्यही समुदायको बोलिने लवज र भाषाहरुले कथालाई जीवन्तता दिएको छ। पाठक नअलमलिउन् भनेर त्यसको अर्थ पनि दिएको हुनाले कथा अझ प्रभावकारी लाग्छन् । कहीँ कतै अलिकति बढी संवाद भैदिएको भए हुन्थ्यो कि, पात्रहरुका बारेमा संवादले नै बोलिदिएको भए हुन्थ्यो कि जस्तो लागे पनि, कथाको भाषामा कतै केही खोट लाउने ठाउँ देखिदैन।
विषयबस्तुका हिसाबले उत्कृष्ट लाग्छन् कथाहरू। ती आवाजहरु नभई कहिल्यै सुनिने थिएनन्। अक्षरमा पढिने थिएनन्। त्यो समाज र पात्रहरू देखिने थिएनन्। सत्ताले, सरकारले ‘इग्नोर’ गरेको, बिर्सिएको, समाज र पात्रहरुको चित्रण छ, विषयबस्तु छ।
बनोटको हिसाबले अति नै रोचक छ। घटनाक्रमहरू संरचनागत हिसाबले मिलाएर राखिएका छन्, त्यही भएर पाठकलाई बुझ्न सजिलो हुन्छ। पढ्दै जाँदा कहीँ कतै साल, महिना राखिदिएको भए हुन्थ्यो जसले गर्दा अझ ठ्याक्कै त्यो समय र परिवेश थाहा हुन्थ्यो भन्ने चै मलाई लागिरह्यो। तर त्यसले कथालाई केही चोट पुर्याउदैन।
अन्त्यमा, कथाकारका पात्रहरू प्रायः दाँत उछिट्टिएका भेटिन्छन्। ‘सिनित्त’ शब्दको प्रयोग धेरै हुनाले कथाकार बिना थिङ्गको मन पर्ने शब्द रहेछ त्यो भन्ने मैले ठानेको छु।
सब ठीक छ, मात्रै १७३ पेजको यो कथासंग्रह अलिक सानो भयो। यति मीठा कथाहरु पढ्दै जादा पाठकले मन दुखाउने हो कि, भन्ने पो हो कि ‘हैट ३०० रुपियाँ तिरेको पत्तै नपाई पो सिद्दिएछ।’ तर पढेपछि मिल्ने आनन्दले पाठकलाई लाखको अनुभूति दिनेछ।
त्यसैले प्रायः धेरै कथाहरु यहाँ कस्ता छन् भनेर व्याख्या गर्नुभन्दा बढी आनन्द पढेर अनुभूत गर्दा प्राप्त हुन्छ।

समिक्षक: तुलसी आचार्य
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस