काठमाडौं, असाेज ७ । दशैं आउन अब करिब एक महिना पनि बाँकी छ । नेपालीलाई कोरोना महामारीका बीचमा यो वर्षको दशैं मनाउन सहज छैन ।
सरकारले कोरोना संक्रमण रोकथामका लागि अब लकडाउनको नीति नलिने जनाउ दिइसकेको छ । सडक र हवाई दुवै यातायात खुलेकाले दशैंमा घर पुगिएला भन्ने आशा प्रवल बनेको छ ।
महामारीकै बीच सर्वसाधारणले दशैंका बेला गर्ने यात्रालाई सुरक्षित बनाउन सरकारले के प्रबन्ध गर्छ भन्ने अहिलेसम्म तय छैन । सरकारको यातायात व्यवस्था विभाग त्यस्तो तयारीमा जुटिसकेको छैन ।
महामारीमा सार्वजनिक सवारी सञ्चालन गर्न सम्बन्धमा विभागले जारी गरेको निर्देशिका पालना भए/नभएको अनुगमन समेत भएको छैन । दशैंमा घर जाने यात्रुको चाप व्यवस्थापन गर्ने त सुरसार नै छैन ।
यात्रुको सम्भावित चाप, महामारीको जोखिम, सिट क्षमताको आधा मात्र यात्रु बोक्न पाउने नियम पालना भए/नभएको अनुगमन लगायतका सवाल पेचिलो बन्ने देखिएको छ ।
‘अग्रिम बुकिङ खुल्छ’
दशैंमा काठमाडौंबाट गाउँघर जानेका लागि अग्रिम टिकट बुकिङ खुलाउने योजना भने विभागले बनाएको छ । त्यसका लागि असोज १० गतेबाट छलफल थालिने विभागका महानिर्देशक गोगनबहादुर हमाल बताउँछन् ।
यातायात सञ्चालक, सुरक्षा निकाय, अन्य सरोकारवाला निकाय र उपभोक्ता अधिकारवादीहरुसँग छलफल गरेर अग्रिम टिकट बुकिङ खुलाउने उनले बताए । यो वर्षको दशैंमा पहिलेजस्तो यात्रुको चाप नपर्ने हमालको अनुमान छ ।
‘दशैंमा काठमाडौं छाड्ने वर्गका धेरैजसो गाउँ फर्किनुसक्नुभएको छ’, उनी भन्छन्, ‘कतिले महामारीमा घर नजाने निधो गर्नुभएको छ, त्यसैले यो साल धेरै चाप पर्दैन होला ।’
परे थप मापदण्ड ल्याएर भए दशैंमा यात्रालाई सुरक्षित बनाउने दाबी महानिर्देशक हमालले गरे ।
व्यवसायीको फरक मत
दशैंको अग्रिम टिकट बुकिङ खुलाउने विषयमा सधैं सरकार र यातायात व्यवसायीको मतभेद हुने गर्छ । ६ महिना बन्द रहेर बल्ल खुलेको सार्वजनिक यातायात व्यवसायी दशैंमा अहिलेकै नीतिअनुसार अग्रिम टिकट बुकिङ नखुलाउने पक्षमा छन् ।
५० प्रतिशत बढी भाडा लिएर लामो दुरीमा आधा सिटमा मात्र यात्रु बोक्न नसकिने उनीहरु बताउँछन् । ‘विमानले सिटभरि यात्रु बोकेर उड्न पाउने तर बसले नपाउने गरी नियम ल्याइएको छ,’ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला भन्छन्, ‘यो महामारीमा हामीले कुन उत्प्रेरणाले सेवा दिने ?’
उनका अनुसार अहिले लामो समय बन्द भएका बसहरुको मर्मत चलिरहेको छ । महिनौं थन्किएका गाडीहरुलाई दुरुस्त पार्ने काम पनि घाटा सहेरै गर्नुपरेको उनी बताउँछन् ।
महासंघका अध्यक्ष योगेन्द्रमान कर्माचार्य अहिले काठमाडौंबाट लामो दूरीमा छुट्ने ठूला बस ६–७ जना यात्रु लिएर गुड्दैछन् । ‘यसरी बस चलाएर न किस्ता तिर्न पुग्छ न स्टाफलाई तलब दिन’, उनी भन्छन्, ‘अहिले त गाडीलाई चलायमान र चालकहरुलाई उत्प्रेरित गर्ने काम मात्र भइरहेको छ ।’
दशैंमा यात्रु चप बढेपछि सेवा दिन व्यवसायीसँग पर्याप्त बस रहेको कर्मचार्य बताउँछन् । महासचिव सिटौलाले दशैंमा यात्रु, चालक, सहचालक सबैलाई अनुशासित बनाउँदै संक्रमण फैलिन नदिने मापदण्ड बनाएर सबै सिटमा यात्रु बोक्न दिनुपर्ने बताए ।
महासंघले बसहरु खालीखाली रहेकाले यात्रुहरुलाई मिलेसम्म अहिले नै गाउँ फर्किन सुझाव दिएको छ ।
यो पटक विगतमा जत्तिको चाप नभएपनि दशैंछेक लामो र छोटो दुवै दुरीमा यात्रु बढ्ने बस व्यवसायी राम भुर्तेलको आँकलन छ । ‘आधा सिट खाली राखेर, यात्रुलाई अलपत्र छाडेर दौडिदा ढुंगा खाने डर हुन्छ,’ उनी भन्छन्, ‘त्यसलाई कसरी व्यवस्थापन गर्ने, छलफल त हुनैपर्छ ।’
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com