विराटनगर, असाेज ७ । नेपालको चिया उत्पादनको इतिहासमा पहिलो पटक ट्रेडमार्क रजिस्टर भएसँगै नेपाली अर्थाेडक्स चिया अब आफ्नै लोगोसहित विश्व बजारमा बिक्रीको बाटो खुलेको छ।

नेपालमा चिया उत्पादन सुुरु भएको १५७ वर्षपछि १२ वटा चिया कम्पनीले ट्रेडमार्कको प्रमाणपत्र पाएका छन्। राष्ट्रिय चिया तथा कफी विकास बोर्डका क्षेत्रीय प्रमुख इन्द्रप्रसाद अधिकारीका अनुसार ४२ वटा कम्पनीले दर्ताका लगि निवेदन दिएकोमा पहिलो चरणमा १२ कम्पनीले ट्रेडमार्कको प्रमाणपत्र पाएका हुन्। 

कृषिमन्त्री घनश्याम भुषालले ती कम्पनीलाई इलामको फिक्कलमा मंगलबार प्रमाणपत्र वितरण गरेका छन्। यसअघि उद्योगहरूले आ आफ्नै नाममा चिया निर्यात गर्दै आएका थिए। बोर्डका क्षेत्रीय प्रमुख अधिकारीले‘नेपाल टी क्वालिटी फ्रर्म द हिमालयाज’लेखिएको  लोगो नेपाली चियाको ट्रेडमार्क हुने र विश्व बजारमा निर्यात हुने अर्थाेडक्स चिया अब नेपाली नामबाट नै निर्यात हुनेछ।

सरकारले हालै कार्यविधि बनेपछि ट्रेडमार्क कार्यान्वयनको चरणमा पुगेको हो। अग्र्यानिक र गुणस्तरियमा तोकिएको मापदण्ड पूरा गरेपछि मात्र आवेदनका आधारमा उद्योगले ट्रेडमार्क प्रयोग गर्न पाउँछन्।

अहिले प्रदान गर्न लागिएको ट्रेडमार्क अर्थोडक्स चियाका लागि मात्र हो। लोगो कार्यान्वयनमा आएपछि विश्व बजारमा नेपाली चियाको विश्वसनीयता बढ्ने विश्वास लिइएको छ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.