काठमाडौं – सरकारले एसिड (तेजाब) आक्रमण गर्नेलाई कडा कानून ल्याउने भएको छ ।

एसिड आक्रमण गर्नेमाथि २० वर्षसम्म कैद हुनसक्ने र १० लाखसम्म जरिवाना हने कानून पारित गर्न लागेको हो ।

केही समयअघि प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणमा परेका पीडितहरुसँगको भेटमा कडा कानून ल्याउन लागेको बताएका थिए ।

नेपालको संविधानको धारा ११४ को उपधारा बमोजिम मन्त्रिपरिषद् सिफारिसमा राष्ट्रपतिबाट अध्यादेश जारी गराए नयाँ कानून ल्याउन लागिएको हो ।

फौजदारी अपराध संहिताको दफा १९२ र १९३ संशोधन गरी तेजाबजस्ता घातक रसायन छ्यापी दुवै आँखा जले, दृष्टि, दुवै कान जली क्षति भई सुन्ने शक्ति नष्ट भए कानको जाली क्षति भई काम नलाग्ने भए, अनुहार पूर्ण रूपमा जले, वक्षस्थल (स्तन), यौनाङ्ग आदि जले, क्षति भए बीस वर्ष कैद र १० लाख रुपैयाँ जरिबाना निर्धारण गरिएको छ । यो सजाय एकदिन पनि माफी-मिनाहा नहुने, पूरै अवधि जेल बस्नुपर्ने गरी निर्धारण गरिएको छ ।

कसैको एउटा आँखा, एउटा कान, जले, क्षति पुगे, अनुहार कुरुप भए, एउटा स्तन जले दुवै हात जली काम नलाग्ने भए, गोडा पूर्ण रूपमा जलेर काम नलाग्ने भए, टाउकाको कुनै भाग, मेरुदण्ड जलेमा सातदेखि १० वर्ष कैद सात लाख रुपैयाँदेखि १० लाखसम्म जरिवाना निर्धारण गरिएको छ ।

तेजाब छ्यापेर शरीरको कुनै अङ्गमा गति भएमा कसुरको प्रकृतिअनुसार पाँचदेखि दसवर्षसम्म कैद र एक लाखदेखि पाँच लाख जरिवाना निर्धारण गरिएको छ ।

अपराधबाट पीडितको तत्काल वा सोही अपराधबाट पछि मृत्यु भएमा पनि कर्तव्य ज्यानसम्बन्धी महल आकर्षित हुने अध्यादेशमा उल्लेख छ । अपराध गर्दा पीडित पक्ष उम्किएर भाग्न सफल भएमा तेजाबसम्बन्धी कसुर गर्न उद्योग गरेको ठहर हुने र दसवर्षसम्म कैद र पाँच लाखसम्म जरिवाना हुने अध्यादेशमा उल्लेख छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.