काठमाडाैं, असाेज १० । मेरो १९ औँ सत्याग्रहको आज १२ औँ दिन हो। ६ बुँदे माग राखेका छौँ। समग्रमा भन्नु पर्दा सबै नेपालीहरुको गुणस्तरीय, निःशुल्क, सुलभ स्वास्थ्य सेवासँगै शिक्षामा पहुँच होस्, त्यसको सुनिश्चितता गरियोस्। अनि सुशासन होस्।
६ वटा मागहरु मध्ये हाम्रो पहिल्यै देखि सबै प्रदेश अर्थात प्रदेश–प्रदेशमा एउटा सरकारी मेडिकल कलेज अथवा संस्थान हुनुपर्छ भन्ने हो। त्यो ऐनमा पनि आइसकेको छ।त्यसका बाबजुद पनि अहिलेको ओली सरकारले त्यो कुरा रोकेर राखेको छ।
कर्णाली प्रतिष्ठानकै कुरा गरौँ, ८ वर्ष जति भयो स्थापना गरेको अहिले एबीबीएस लगायत अन्य कार्यक्रमहरु सञ्चालनमा आएका छैनन्। दुई वर्षअगाडि हामी त्यहीँ गएर सत्याग्रह गर्दा अस्पताल जस्तो संवेदनशील ठाउँ तोडफोड गर्न लगाएर डाक्टर, नर्स, विद्यार्थी, जनतालाई कुटेर हामीलाई अपहरण गरियो। तर पनि दुई वर्ष भयो सञ्चालन हुने प्रोग्राम रोकेर राखेको छ।
अरु दुई नम्बर प्रदेश, चार नम्बर प्रदेशमा सुरु हुनु पर्ने हो, तर सुरु गर्न दिइएको छैन। त्यस्तै उदयपुर, इलाम अथवा पाँचथर अनि डडेलधुरा अथवा डोटी मध्येमा एउटा सरकारी मेडिकल कलेज हुनपर्छ भन्ने सम्झौता भएको छ। त्यसमा पनि कुनै प्रक्रृया अगाडि बढेको छैन।
यो नबोलेको कारणले होइन कि ओलीजीको कारणले हो। ओलीजीको दम्भको कारणले हो। उहाँले रोकेर राख्नु भएको छ। सम्झौता कार्यान्वयन गर्नुको साटो उल्लंघन गरिएको छ।
त्यस्तै कैलालीको गेटा र दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानप्रति पनि उहाँहरुले चासो देखाउनु भएको छैन। त्यो सँगसँगै त्रिवि आइओएममा अथवा शिक्षण अस्पतालमा पहिलेदेखि नै वरिष्ठताको आधारमा पदाधिकारी नियुक्त गर्ने भएपनि ओलीजीले आफ्नै कनिष्ट कार्यकर्ताहरु नियुक्त गर्नु भएको छ। त्यसलाई पनि सच्याइयोस् भनेर हामीले गरेको हो।
त्यस्तै बयलपाटा अस्पताललाई विदेशी सहयोगले गर्दा ठूलो अस्पताल थियो। राम्रो अनुभव भएका विशेषज्ञहरु थिए। त्यो क्षेत्रका मानिसले निःशुल्क सेवा पाइरहेका थिए। अहिले दाताले सहयोग कम गर्न थालिसकेपछि, त्यो बन्द हुने स्थितिमा छ। अहिले पनि पहिलाको जस्तै नियमित निःशुल्कमा सेवा प्रदान गर्ने व्यवस्था राज्यबाट गरियोस् भन्ने हो।
अर्को सारधारण रोगको उपचार नपाएर कोरोना भाइरसको भन्दा धेरै घातक रोगहरुबाट नेपालमा धेरैको मृत्यु हुने गरेको छ। कोभिडका ७० हजार संक्रमित भए। अब यो लकडाउन यो सबै आवश्यकता छैन। तानाशाही शासन देखाउन गरिएको छ।
मैले राखेका साधारण माग हो। ओलीजी नै प्रधानमन्त्री हुँदा मेरो पाँचौ सत्याग्रह हो। उनको पालामा कुनैपनि उपलब्धि भएको छैन। बरु भएको पनि गुमेको छ। ऐन आउँदा पनि जबरजस्ती माफियामुखी ल्याए।
जनताले निर्वाचित गरेर जनताले तिरेको करबाट तलबभत्ता खाने अनि दलाल माफियाहरुको संरक्षण गर्ने यो चाहिँ जनतालाई धोका हो। हामी त अभियन्ता हौँ। तर, हामीलाई धोका हुनु भनेको जनतालाई नै धोका हो। यो तपाईँले गर्नुपर्ने हो तर हामीले माग गरेका छौँ। यो साधारण माग हो पूरा गरिदिनुहोस्। यदि गर्दिन भन्नुहुन्छ भने सत्याग्रह जारी रहने छ।
(डा. गोविन्द केसीले भिडियोमा व्यक्त गरेको अभिव्यक्ति।)
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com