काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेको बढ्यै, तर छैन सावधानी !


काठमाडौं, असोज १८। नेपालमा पछिल्लो समय कोरोना भाईरस संक्रमण दर बढ्दो छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार नेपालमा संक्रमितको संख्या ८४ हजार ५७० नाघेको छ । तर, जनस्तरमा भने कोरोना संक्रणको जोखिलाई खास ध्यान नदिएको देखिन्छ । कतिपय सार्वजनिक स्थानहरुमा स्वास्थ्य समन्त्री कुनै मापदण्डै अपनाईएको छैन ।

कोरोनाका कुल संक्रिय संक्रमितमध्ये ५७.५३ प्रतिशत संक्रमित उपत्यकामा मात्रै रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तगर्तको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशखाको तथ्यांकअनुसार देशैभर कोरोना संक्रिय संक्रमितको संख्या २१ हजार ३०२ पुगेको छ ।

उपत्यकाका तीन जिल्लामा सक्रिय संक्रमितको संख्या भने १२ हजार २५४ पुगेको छ । जसमा काठमाडौंमा नौ हजार ८९२ जना, भक्तपुरमा एक हजार ७२ जना र ललितपुरमा एक हजार २९० संक्रमित अस्पताल, संस्थागत आइसोलेसन र होम आइसोलेसनमा उपचाररत रहेको महाशाखाको तथ्यांमा उल्लेख छ ।

काठमाडौं उपत्यकामा मात्र कोरोना संक्रमितको संख्या २७ हजार ९१८ पुगेको छ । काठमाडौंमा २२ हजार ६७३ जना, भक्तपुरमा दुई हजार ४४९ जना र ललितपुरमा दुई हजार ७९६ जनामा कोरोना संक्रमण देखिएको महाशखाको तथ्यांकले देखाएको छ । देशैभर कोरोना निको हुनेको संख्या ६२ हजार ७४० रहेको छ । कोरोनाबाट ज्यान गुमाउनेको संख्या देशैभर ५२८ पुगेको छ ।

सङ्क्रमण बढ्यो, सेवाग्राहीको भीड घटेन
उपत्यकामा कोभिड–१९ को सङ्क्रमण दैनिक बढिरहे पनि यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीको भीड कम हुन सकेको छैन । यातायात कार्यालयले सेवाग्राहीलाई सामाजिक दुरी कायम गर्न भन्दै अनुरोध गर्दै हात धुनका लागि साबुनपानीको व्यवस्था गरेको छ । सेवाग्राही भने आफ्नो काम चाँडो सकाउने हतारका कारण स्वास्थ्य सुरक्षा सावधानी अपनाउन ध्यान नदिएको पाइन्छ ।

शुक्रबार एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय पुग्दा चालक अनुमतिपत्र र साना ठूला सवारी गरी दुवै कार्यालयमा सेवाग्राहीको भीड देखिन्थ्यो । त्यहाँको भीड नियन्त्रणका लागि सुरक्षाकर्मी खटिएका छन् । कार्यालयले साबुनपानीको व्यवस्था गरेको छ भने सन्देशमूलक प्रचार सामग्री गेटबाट छिर्नासाथ राखेको छ । कार्यालयले सेवाग्राहीलाई दुरीमा रहनका लागि पालो कुर्ने ठाउँमा पनि गोलो घेरा बनाएको छ । त्यसको पालना भने कम छ ।

सेवाग्राहीको चाप धेरै भएकाले दूरी कायम गर्न कठिन भइरहेको चालक अनुमतिपत्र कार्यालयका प्रमुख सम्बरबहादूर कार्कीले बताउनुभयो । उहाँका अनुसार यहाँ साता जना सुरक्षाकर्मी भीड नियन्त्रणकै लागि खटाइएको छ । कार्यालयले नियमित रुपमा नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा सञ्चालन गर्ने, अनुमतिपत्र वितरण र नवीकरणको काम गर्दै आएको थियो ।

कोभिड–१९ रोकथामका लागि सरकारले जारी गरेको बन्दाबन्दीको समयमा कार्यालय बन्द थियो । गत असारदेखि कार्यालय खुलेसँगै अनुमतिपत्र वितरण र नवीकरण हुँदै आएको छ । केही समय पहिले भीड बढेको भन्दै अनुमतिपत्र वितरणसमेत केही समय रोकिएको थियो । सेवाग्राही सजग हुँदा मात्रै सेवा नियमित गर्न सकिने उहाँको भनाइ छ ।

कार्यालयमा अहिले नवीकरणका लागि झण्डै चार सय सेवाग्राही आइरहेका छन् । उपत्यकाका कतिपय यातायात कार्यालयले सेवाग्राहीको भीड कम गर्न जोर र बिजोर नम्बर गरी सेवा दिएका छन् । यातायात व्यवस्था विभागले बन्दाबन्दीको अवधिमा विगत वर्षदेखि छाप्न बाँकी अनुमतिपत्र छापिसकेको छ । बन्दाबन्दीपछि असारमा झण्डै दुई लाख अनुमतिपत्र छापिएर आएको थियो । धेरै अनुमतिपत्र एकै पटक वितरण गर्नु परेकाले पनि कार्यालयमा भीड बढेको प्रमुख कार्कीले बताउनुभयो । अहिले झण्डै एक लाख ४० हजार अनुमतिपत्र वितरण गर्न बाँकी भएको कार्यालयले जनाएको छ । चैत भन्दापछि नवीकरण भएका झण्डै १० हजार अनुमतिपत्र विभागबाट ल्याउन बाँकी छन् ।

अनुमतिपत्र वितरणका लागि पाँच काउन्टरमा १० जनाको व्यवस्थापन गरिएको छ । नयाँ अनुमतिपत्र बन्द भएकाले त्यो शाखाका कर्मचारी समेत अहिले नवीकरण र वितरणमा लगाइएको प्रमुख कार्कीले बताउनुभयो । बन्दाबन्दी लगतै कतिपय कर्मचारी घर गएकाले फर्कन नसकेका र कतिपय क्वारेन्टिनमा रहेकाले समस्या थियो । अहिले यहाँका सबै कर्मचारी नियमित कार्यालय आइरहेका छन् । कार्यालयले आवश्यक स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएको प्रमुख कार्कीले बताए ।

विगतका वर्षमा सेवाग्राहीले अनुमतिपत्रका लागि परीक्षा पास गरेको वा नवीकरणका लागि राजश्व बुझाएको दुई वर्षसम्म ‘स्मार्ट’ चालक अनुमतिपत्र पाएका थिएनन् । विगतमा फोटो नबुझिने वा अक्षर नबुझिने भएर कतिपयको पुनःछपाइ भएको थियो । विगतमा कार्यालयमा अनुमतिपत्र मिलाएर नराखेकाले पनि खोज्न बढी समय लागेको प्रमुख कार्कीले बताए । अहिले सकेसम्म मितिअनुसार अनुमतिपत्र चाङ मिलाएर राखिएको छ ।

कोभिडका कारण विद्यालय, कलेजलगायत विभिन्न कार्यालय बन्द भएकाले पनि कार्यालयमा सेवाग्राहीको भीड बढेको हुनसक्ने प्रमुख कार्कीको भनाइ छ । सामान्य अवस्थामा फुर्सद नपाएका सेवाग्राही अहिले आइरहेका छन् । सञ्चार माध्यमबाट अहिले विभागले चालक अनुमतिपत्र छापिसकेको खबर पाएकाले पनि सेवाग्राही आइरहेका बताइएको छ ।

यातायात कार्यालय जस्तै काठमाडौँ उपत्यकाका सेवा प्रदायक विभिन्न संस्थामा संस्थामा सेवाग्राहीको भीड कम हुन सकेको छैन । दशैँ तिहारलगायतका चाडपर्व आइरहेकाले पनि यी कार्यालयमा भीड बढेको छ । सामान्य अवस्थामा बढी भीडभाड हुने कार्यालयमा पर्ने यातायात कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, बैंकलगायतमा सेवाग्राहीको भीड देखिन्छ ।

त्यस्तै, हिजो २४ घण्टाको विवरण अनुसार नेपालमा बितेको २४ घण्टामा २१२० थप जनामा कोरोना भाइरस कोभिड-१९ को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा १२ हजार ९७८ नमुना परीक्षण गर्दा ७६६ महिला र १३५४ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

सरकारी तथ्यांकमा यससँगै कुल संक्रमितको संख्या ८४ हजार ५७० पुगेको छ । उनीहरुमध्ये ५२८ जनाको मृत्यु भएको छ भने ६२ हजार ७४० जना संक्रमणमुक्त भएका छन् । २०४४ जना पछिल्लो २४ घण्टामा मात्र कोरोना संक्रमणमुक्त भएका हुन् ।

प्रवक्ता गौतमका अनुसार देशभर २१ हजार ३०२ संक्रिय संक्रमित छन् । ११ हजार ५२९ जना होम र ९ हजार ७७३ जना संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये २१७ जनाको आईसीयू र ३१ जनाको भेल्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा थप ८ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घन्टामा ८ जनाको मृत्यु भएसँगै भाइरस सङ्क्रमित मृतकको सङ्ख्या ५२८ पुगेको सरकारी तथ्यांमा छ । शुक्रवार एकैदिन २,७२२ नयाँ सङ्क्रमित थपिएका थिए जुन विवरण अहिलेसम्मकै सर्वाधिक वृद्धि हो ।

काठमाडौं उपत्यकामा थप ११७७ जनामा संक्रमण
शनिबार थपिएका संक्रमितमध्ये ११७७ जना उपत्यकाका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसमा काठमाडौंका १००१ जना, भक्तपुरका ६७ र ललितपुरका १०९ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै सुनसरीका १२२ जना, मोरङका १११, रुपन्देहीका ९८, कैलालीका ९३, रौतहटका ८२, चितवनका ७५, सुर्खेतका ४३, बाराका २५, कास्कीका २२, सप्तरी र बाँकेका १९/१९ जना, पर्साका १८, काभ्रेका १४, धनुषाका १३, मकवानपुरका १२ तथा तनहुँ र बर्दियाका १०/१० जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार झापा र दैलेखका ९/९ जना, सिराहा, धादिङ, नुवाकोट र नवलपुरका ८र८ जना, उदयपुर र पाल्पाका ७/७ जना, रामेछाप, गोरखा, कपिलवस्तु, नवलपरासी र प्युठानका ६/६ जना, खोटाङ, महोत्तरी, सर्लाही र कञ्चनपुरका ५/५ जना, ओखलढुंगा र दोलखाका ४÷४ जना, संखुवासभा र लमजुङका ३/३ जना, स्याङ्जा, अर्घाखाँची, गुल्मी र डडेलधुराका २र२ जना तथा पर्वत, म्याग्दी, बाग्लुङ,रोल्पा, कालीकोछ, दाचुृला, बझाङ र बाजुराका १÷१ जनामा संक्रमण देखिएको हो ।

कस्तो छ विश्वभरको अवस्था ?
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट एकै दिन २ लाख ९४ हजारभन्दा बढीमा मानिसमा संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा विश्वमा थप ४ हजार ७९१ जनाले ज्यान गुमाएका छन् । योसँगै विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ५१ लाख २२ हजार २७६ पुगेको छ । संक्रमित १० लाख ३७ हजार ५२४ जनाले ज्यान गुमाएका छन् । अहिले ७९ लाख ६७ हजार ५१६ जनामा सक्रिय संक्रमण छ । जसमध्ये ६६ हजार २६७ को अवस्था गम्भीर छ ।अहिलेसम्म २ करोड ६१ लाख १७ हजार २३६ जनाले कोरोनालाई जितेका छन् । सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा संक्रमितको संख्या ७६ लाख नाघेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख २४ हजार ६२६ जनाको मृत्यु भएको छ । ५२ लाख ६१ हजार ८३४ जना संक्रमित भएकोमा २५ लाख ९९ हजार ९७५ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरूमा ३ लाख १५ हजार ६३१ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ९० लाख ८४ हजार ६०९ पुगेको छ । त्यसमध्ये ५८ लाख ९६ हजार २४० जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ९९ हजार ८५७ जनाको मृत्यु भएको छ । १ करोड ९ लाख ७७ हजार ५७८ जना संक्रमित भएकोमा ९२ लाख ४७ हजार ४१७ जना संक्रमणमुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरूमा २ लाख ६० हजार ४७८ जनाको मृत्यु भएको छ । ८२ लाख ५६ हजार ५२० जना संक्रमित भएकोमा ७० लाख ९५ हजार ३७५ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा ३६ हजार ३९९ जनाको ज्यान गएको छ भने १५ लाख १४ हजार ८१३ संक्रमित छन् । संक्रमितमध्ये १२ लाख ५३ हजार ३४४ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ९३५ जनाको मृत्यु भएको छ । ३१ हजार ५३९ जना संक्रमित भएकोमा २८ हजार ७७५ जना संक्रमणमुक्त भएका छन् ।

भारतमा मात्रै संक्रमितको संख्या ६५ लाख ४७ हजार ४१३ पुग्यो

त्यस्तै, भारतमा विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरसबाट भारतमा पछिल्लो २४ घण्टामा ७५ हजारभन्दा बढी मानिस संक्रमित बनेका छन् । दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा पछिल्लो २४ घण्टामा ७५ हजार ४७९ जनामा संक्रमण देखिएको छ ।

योसँगै भारतमा संक्रमितको संख्या ६५ लाख ४७ हजार ४१३ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ५५ लाख ६ हजार ७३२ जना संक्रमणमुक्त भएका छन् भने ९ लाख ३८ हजार ८६९ जनाको उपचार भइरहेको छ । यस्तै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख १ हजार ८१२ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ९३७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope