काठमाडौं, असाेज २५ । घाँटीमा व्याक्टेरियाको सङ्क्रमणबाट टन्सिल हुने गर्छ । टन्सिललाई हामीले सामान्य रुपमा लिएर खासै उपचार गर्दैनौं । त्यही हेल्चेक्र्याई नै पछि मुटु जस्तो संवेदनशील अङ्गमा जटिल प्रकारको रोग लाग्न सक्छ । यस्तो समस्यले धेरै मानिसको अकालमा ज्यान गुमाउनुपरिरहेको चिकित्सकले बताएका छन् ।
मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मी झण्डै ९९ प्रतिशत मानिसलाई उक्त कुराबारे थाहा नभएको दावी गर्छन् । डा रेग्मी एक सय रुपैयाँमा उपचार हुने टन्सिलको सही उपचार नगर्दा तीन/लाखसम्म खर्च लाग्ने मुटुरोगको जटिल समस्याबाट प्रभावित हुने गरेको बताउछन् । उनका अनुसार प्रायः यस्तो समस्या पाँचदेखि १५ वर्षसम्मका बालबालिकामा हुने गर्दछ ।
सोही समस्या मुलुकका विपन्न परिवारमा रहेकाले सोही विषयलाई चित्रण गर्दै उनले ‘टन्सिलले विगारेको मुटु’ नामक पुस्तक बजारमा ल्याएका छन् । नेपाल हृदयरोग निवारण प्रतिष्ठानले शनिबार काठमाडौँमा उक्त पुस्तकबारे गरेको अन्तरक्रियामा डा रेग्मीले आमनेपाली सचेत हुन सकुन् भन्ने उद्देश्यले पुस्तक प्रकाशित गरेको बताए ।
उक्त समारोहमा शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रका बाल–मुटु रोग विशेषज्ञ डा उर्मिला शाक्यले टन्सिल सामान्य रोग जस्तो लागे पनि यसको कारणले मुटुमा जटिल प्रकारको रोग लाग्न सक्ने तर्फ ध्यानाकर्षण गराए । उनका अनुसार बालबालिकामा शुरुमा जिवाणुका कारण टन्सिल हुने र त्यो बिग्रिएपछि बाथ ज्वरो आउँछ । बाथले मुटुका माङ्सपेशी र भल्बलाई असर गर्छ । त्यो नै बाथ–मुटुरोग हो ।
जनस्वास्थ्य विज्ञ डा अरुणा उप्रेतिले उक्त डा रेग्मीको पुस्तक सर्वसाधारण नागरिकले मात्रै नभई हरेक स्वास्थ्यकर्मीले पढ्नै पर्ने धारणा राखेका छन् । “यो पुस्तकमा राजनेता वा चिकित्सकले नै रोगबारे वास्ता नगरेको वा थाहा नपाएको कुरा उल्लेख छ”, पुस्तकमाथि टिप्पणि राख्दै डा उप्रेतीले भने, “बाथ जोर्नीमा बस्छ, तर यसले मुटु खान्छ भन्ने कुरा किताबमा स्पष्ट रुपमा राखिएको छ ।”
अग्रज साहित्यकार तुलसी दिवसले स्वास्थ्य जस्तो विषयगत मान्छेले लेखेको पुस्तकमा मानिसका संवेदनाहरु पत्रैपत्र उनेर पुस्तकाकारको रुपमा प्रस्तुत गर्ने शिर्जनशील कलाका लागि लेखकको प्रशंसा गरे । उनले रोगबाट मानिसको जीवन जोगाउन डा रेग्मीले भौतिक रुपमा मात्रै नभई पुस्तकमार्फत समेत ठूलो योगदान गर्नु भएको स्मरण गरे ।
साहित्यकार श्रीओम ‘रोदन’ले लाखौँ मुटुको ढुकढुकी सुनेका डा रेग्मीले अक्षरमार्फत विरामी भएका, विरामी नभएका र उपचारमा संलग्न चिकित्सका लागि समेत पुस्तकमार्फत सचेत गराएको बताए । बाथ–मुटुरोग गरिबी र अशिक्षाबाट प्रभावित बालबालिकाका लागि ठूलो समस्या हो । यस रोगका कारण नेपालमा वर्षेनी एक हजार बालबालिकाको ज्यान जाने गरेको जनाइएको छ । वार्षिक ८०० मानिसको यही रोगको कारणले मुटुको भल्भ फेर्नुपर्ने अवस्था रहेको छ । हजारौँ मासिन यस रोगबाट प्रभावित रहेका छन् ।
सामान्य टन्सिल रोगका कारण उत्पन्न हुने बाथ–मुटुरोग बारे मुलुकका ९९ प्रतिशतलाई जानकारी नभएर यो रोग छायामा परेकाले जनचेतना जगाउन पुस्तकका माध्यामबाट यो प्रयास गरिएको डा रेग्मी बताउछन् । उक्त पुस्तकमार्फत डा रेग्मीले समाजका विपन्न वर्गका बालबालिकाको जटिल मुद्दालाई उठाउने प्रयास गरेका छन् । – रासस
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com