मात्रा नमिलेको आयुर्वेदिक औषधि घातक

६ कार्तिक २०७७, बिहीबार ०७:४९

काठमाडौं, कात्तिक ६ । कोरोना भाइरस (कोभिड–१९) बाट लड्न रोग प्रतिरोधात्मक क्षमता बढाउन मानिसले आयुर्वेदिक औषधि जथाभावी प्रयोग गर्न थालेको पाइएको छ ।

मात्रा नमिलेको र पहिलादेखि लागेका रोगको ख्यालै नगरी मात्रा नमिलेको जडीबुटी खानु शरीरका लागि घातक हुने भनाइ विज्ञको छ । दैनिक भान्छामा प्रयोग हुने औषधीय गुण भएका मसलाले स्वाद बढाउने मात्र होइन, औषधिको समेत काम गर्छन् । मसलाको बढी प्रयोगले विभिन्न रोग लाग्ने खतरातर्फ कमैको मात्र ध्यान पुगेको पाइन्छ ।

पद्मकन्या क्याम्पसको गृह विज्ञान विभागका प्रमुख पोषणविद् डा जया प्रधानले कोरोना भाइरसविरुद्ध लड्न रोग प्रतिरोधात्मक क्षमता बलियो हुन आवश्यक भएको बताइन् । उनले कोभिड–१९ लाग्ने डरले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ भन्दै बेसार, मेथी, अदुवा, लसुन, भिटामिन ‘डी’ लगायतका चिज बढी प्रयोग गरेको पाइएको जानकारी दिइन् । यसले गर्दा पनि कतिपय मानिस विभिन्न रोगको सिकार हुनुपरेको अनुभव डा प्रधानले सुनाइन् ।

नेपालीमा एउटा उखान नै छ, ‘चिनी पनि बढी खाए तीतो हुन्छ’ भने झैँ क्षमता बढाउने नाममा राम्रो जानकारी र मात्रा नमिलाई औषधीय गुण भएका चिज खाँदा समस्या आउने गरेको भनाइ डा प्रधानको छ ।

भान्छामा प्रयोग हुने मरमसला औषधिजन्य हुन्छन्, त्यसमा कुनै द्विविधा नै छैन । धेरै खाने कुरा यस्ता छन् जुन एउटा रोगलाई हुन्छ भने अर्को रोगलाई हुँदैन । उदाहरणका लागि रक्तचाप कम भएको व्यक्तिले गुर्जो तथा बेसार पानीको बढी सेवन गरे खुट्टा बाउडिने तथा रिङ्गटा लाग्ने समस्या हुन सक्ने भनाइ डा प्रधानको छ ।

यता फिजिसियन जेनर तामाङले सामाजिक सञ्जालमा सुनेको भरमा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने खानेकुरा खाएका धेरै बिरामी आउने गरेका छन् । मानिसले कोभिड–१९ सङ्क्रमित सँगको सम्पर्क भएपछि डराएर मात्रा नमिलाई त्यस्ता औषधि प्रयोग गर्ने गरेको पाइएको छ भने ।

तामाङले धेरै आयुर्वेदिक र यस्ता भिटामिन मात्रा मिलाएर खाँदा धेरै असर गर्दैन तर मात्रा नमिलाई आफ्नो खुसी अथवा हल्लाका पछि लागेर खानाले हाम्रो स्वास्थ्यमा धेरै ठूलो असर गरिरहेको पनि प्रस्ट पारे । आयुर्वेदिक चिकित्सक डा अमितमान जोशीले पहिलेदेखि नै दीर्घरोगका विभिन्न औषधि प्रयोग गरिरहेका हुन सक्छन्, त्यस्ता व्यक्तिलाई मात्रा नमिलेको औषधि खाँदा डरलाग्दो अवस्था सिर्जना हुने सम्भावना औँल्याए ।

रोग प्रतिरोधात्मक क्षमता बढाउन मानिसले मह, च्यवनप्राश, अदुवा, करेला, हर्वल चिया, तुलसी, बेसार, कागती, गुर्जो खाने गरेको पाइन्छ । यस्ता औषधिको प्रयोग गर्दा विज्ञसँग सल्लाह गरेर मात्र मात्रा मिलाएर प्रयोग गर्न डा जोशीको सुझाव छ । डा जोशीले तौल व्यवस्थापन, मधुमेहको सही नियन्त्रण, उचित औषधिको प्रयोग र रक्तचाप नियन्त्रण, मास्कको प्रयोग र हात धुने जस्ता उपाय अपनाउनु नै अहिलेका लागि राम्रा विकल्प हुन् भने । उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.