कार्गिलको युद्धमा लेखिएको एउटा गीत जसले हरेक नेपालीलाई रुवाइरहेछ

८ कार्तिक २०७७, शनिबार ०६:१८

नमुछे आमा दहीमा टीका नछरे जमरा !

प्रत्येक वर्ष दशैंमा खूब गुञ्जिने थोरै गीतमा पर्छ – नमुछे आमा दहीमा टीका नछरे जमरा ! वर्षौं पहिलेदेखि दशैंको समयमा रेडियोहरूमा बज्ने यस गीतका गायक कृष्णभक्त राई हुन् ।

आम श्रोताहरूले पनि खुब मन पराएको यो गीत अब भने नयाँ आवाजमा आएको छ । नारायण रायमाझीको संगीत रहेको यस गीतको रि–रिकर्डिङ गरिएको हो । नयाँ गीतमा संगीतकार नारायण रायमाझीको आफैंले स्वर दिएका छन् ।

कालजायी गीत नमुछे आमा दहीमा टीका नछरे जमराको गीतको भिडियो दशैंको फूलपातीको अवसर पारेर शुक्रवार सार्वजनिक गरिएको छ ।  पूराना कालजायी गीतहरुलाई पुनः रिमेक गरेर जीवन्त पार्ने संगीतकार रायमाझीको जाँगरको धेरैले प्रशंसा गरेका छन् ।

केहीले भने मूल गायक कृष्णभक्त राईकै आवाजमा पुनः रेकर्ड गराएको भए हुन्थ्यो भन्ने प्रतिक्रिया दिएका छन् ।  बोलमाया र गलबन्दी गीतबाट वाहवाही बटुलेकी अञ्जली अधिकारीको जीवन्त अभिनयले नमुछे आमा दहीमा टीका नछरे जमरा गीतको अझ उचाइ बढाउने निर्माण पक्षले दाबी गरेको छ । अञ्जलीका प्रशंसकहरुले पनि यही अपेक्षा गरेका छन् ।

कार्गिलको युद्धमा कोरिएको थियो– नमुछे आमा दहीमा टीका नछरे जमरा !

धेरै नेपाली श्रोताले रुचाएको यो गीतमा युद्धको मोर्चामा खटिएको नेपालीले दशैं तिहार जस्तो चाडपर्वका बेला घरपरिवारलाई गर्ने सम्झना पोखिएको छ । गीतका प्रत्येक शब्द र त्यस अनुसारको संगीतको मर्मले श्रोता र दर्शकको मनलाई चिमोटिदिने सामथ्र्य छ यो गीतमा ।

लोकभाकामा आधारित यो गीतलाई शुरुमा संगीतकार नारायण रायमाझी आफैंले गाएका थिए । तर २०५७ सालमा अर्का गायक कृष्णभक्त राईले विभिन्न बाजा सहित केही परिमार्जित शैलीमा यो गीत रेकर्ड गराएका हुन् । कृष्णभक्त राईले गाएको त्यही गीत हरेक वर्षको दशैंताका खूब बज्दै आएको छ ।

यस गीतका गीतकार लक्ष्मण रायमाझी हुन् । उनी संगीतकार नारायणका दाजु हुन् । दुखको कुरा गीतकार लक्ष्मणको केही वर्ष अघि निधन भैसकेको छ ।

लक्ष्मण रायमाझी भारतीय सेनामा काम गर्थे । उनले सन् १९९९ मा भारत पाकिस्तानबीच भएको ‘कार्गिल युद्ध’मा लडेका थिए । त्यही बेला उनले यो गीत लेखेका थिए । अर्थात कार्गिल युद्धको बेला पहिलोपटक यो गीत जन्मिएको थियो ।

नारायण रायमाझीले विभिन्न समयमा दिएका अन्तरवार्ताका अनुसार दाजु लक्ष्मणले यो गीत कार्गिल युद्धकै समयमा उनलाई पठाएका थिए । केही समय नारायणले यो गीतलाई वास्तै गरेनन् । गायक तथा संगीतकार आफ्नै भाइले आफूले पठाएको गीतलाई लामो समयसम्म वास्ता नगरिदिएपछि दाजु लक्ष्मण एकदमै दुखी भए । एकदिन लक्ष्मणले अब ढिला भैसक्यो,त्यो गीत रेकर्ड नगर्नु भनेर भाइ नारायणलाई खबर पठाए ।

दाजु लक्ष्मणको यस्तो सन्देश आएपछि भाइ नारायणले आफ्नो लापरवाहीप्रति लज्जाबोध गर्दै एक दुई दिनमै उक्त गीत रेकर्ड गराए । शुरुमा सीमित श्रोताले मात्र सुनेका उक्त गीतलाई कृष्णभक्त राईले २०५७ सालतिर पुनः रेकर्ड गराए । जुन गीत अन्ततः कोसेढुङ्गो बनिदियो ।

यस्तो मार्मिक रचना गर्भ बोकेको यो गीतको अहिले तेस्रो पटक रि–रेकर्डिङ गरिएको छ । जसमा नयाँ पुस्ताकी गायिका रचना रिमालको आवाज समेटिएको छ । टिकटक पुस्ताकी रचनाको आवाज पाएको यो गीतले फेरि एकपटक उधुम मच्चाउने अपेक्षा गरिएको छ ।

जमरा र टीकाको सन्दर्भ जोडिएको यो गीतले प्रत्येक दशैंमा आफन्त र घरपरिवार भेट्न नपाउने नेपाली जातिलाई चिमोटिरहेको छ । त्यसमाथि विश्वव्यापी फैलिएको कोरोना महामारीको बीचमा आएको नयाँ भर्सनले यसपटकको दशैं र तिहार पर्वमा यस गीतको सान्दर्भिकता अझ बढेको छ ।

यस गीतको शब्द यस्ता छन् :

नमुछे आमा दहीमा टीका नछरे जमरा
दैवले पर्दा उठायो आमा आउँदिन फर्केर ।

दाइ मेरो कहाँ गयो ? मखमली फूल ओइलायो ।

मखमली फुल्दा मार्सीधान झुल्दा बहिनी आउनेछिन्
दैलाको तस्बिर छातीमा टाँसी आँसु बगाउनेछिन् ।
नझारे आमा आँसुका ढिक्का मूलबाटो हेरेर
जाँदैन दुःख आँसुका धारा बर्बरी झारेर ।

झुलुङ्गाबाट उठेर छोरी खै बाबा भन्नेछिन्
ब्युँझिदै मेरी मुर्छिन्दै फेरि दाँतै पो बान्नेछिन्
नफोरे प्रिया नारीका चुरा झर्याम्म पारेर
जाँदैन दुःख आँसुका धारा बर्बरी झारेर ।

नयाँ भर्सन यस्तो छ :

https://www.youtube.com/watch?time_continue=323&v=gwuQnNGYc5M&feature=emb_logo

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.