त्यसैले म यो दशैंमा घर जान्न

उकालीओराली गर्दै आँखाभरी रहर छर्दै
परदेशबाट फर्की आए आफ्नै गाँउ फर्की आए………
चलचित्र सिमानाको सोनु निगमले गाएको यो गीतले भने जस्तो नभएर म यसपाली परदेशबाट आफ्नै गाउँ फर्की आउन असमर्थ भएको छु।
यो बर्ष धेरै नेपालीहरुको परदेशबाट घरदेश फर्कने र परिवारसंगै बसेर चाडवाड मनाउने चाहाना धेरैको अधुरो हुन पुगेको छ। खाडी लगायतका अन्य मुलुकहरुबाट, जहाँ नेपाली युवाहरु पसिना बगाउन बाध्य छन, साना नानीहरुलाई बिदेशी चकलेट र नाना, श्रीमतीलाई सुनको गहना लिएर अनि बुढा बा-आमाका लागि बुढेसकालको साहारा बनेर घर जानु पनि एउटा ठूलो सपना भएको छ।
पुरै दुनियाँमा फैलिएको कोरोनाका कारण यसपालीको दशैं न त घरमा न त परदेशमा नै हर्षोल्लासपुर्वक मनाउने अवस्था छ । जो जहाँ छ त्यही सावधानीपुर्वक सामान्य तरिकाले बिना तडकभडक चाडपर्वलाई बिदा गर्दै कोरोनासंग जोगिनु नै सबैका लागि हितकर हुने देखिन्छ ।
नेपालीहरुको महान पर्व बडादशैं घर आँगनमा भित्रिसकेको छ भने दीपावली संघारमै छ। कोरोनाका कारण बिगतमा झैं शहर रित्तिने र गाँउ भरिने सिलसिला धेरै हदसम्म टुटेको छ। दशैंलाई दशैं जसरी मनाउने अवस्था छैन।
सम्भवत: प्रत्येक घरमा कोरोना भित्रिसकेको छ, घर घरमात्र नभएर क्वारेन्टिन गृह बनाईएका छन। कतिपय घर शोकमा छन भने धेरै मानिसहरु कोरोना पोजेटिभ भएर परिवार तनावमा छनहोला। न गाँउ न शहर कतैपनि चाडपर्वको माहोल हुनुपर्ने जति छैन ।
एक बर्ष पुग्न लागेको यो महाब्याधीले नेपालमा उग्ररुप धारण गरेको देखिन्छ। जाडोगर्मी जुनसुकै समयमा पनि डढेलो सरी फैलिएको कोरोना तत्काल नियन्त्रणमा आउने र स्थिति सामान्य हुने सम्भावना देखिदैन। त्यसैले आवश्यक सावधानी र सुरक्षा अपनाउनु नै आजका लागि उत्तम बिकल्प हुनसक्छ भन्ने ठान्ने यो बर्ष मैले नेपाल नजाने निर्णय गरेको छु ।
चाडपर्वमा आफ्नो घरगाँउ फर्कने बैदेशिक रोजगारीमा गएकाहरुको लर्को पनि यसपालि खासै छैन । बाध्यताले रोजगारी गुमेकाहरु, समस्यामा परेकाहरु, घर नगई नहुने अवस्था भएकाहरु मात्र घर फर्केका होलान। सधैं झै छुट्टीमा हाँसीखुशी दशैंतिहार मान्न जानेहरुका निम्ति कोरोनाले अनिश्चित तगारो भएर बाटो छेकीदिएकै हो।
प्रायः सबैजसो कम्पनिहरुले अवधि पुगेपनि छुट्टी दिएका छैनन। पहिल्यै छुट्टीमा घर गएकाहरुलाई कम्पनिले फिर्ता नबोलाउने र उनीहरुले पाउनुपर्ने उपादानको रकम पठाउन झुलाउने र ढिलाई गर्ने भएकोले छुट्टी गईहालेमा फर्कन समस्या हुने र आफूले पाउने उपदान लगायतको रकम गुम्ने डरले कोही पनि छुट्टीमा घर जाने पक्षमा छैनन भने कम्पनिहरुले समेत नयाँ मान्छे ल्याउन सहज नहुने हुँदा हाललाई छुट्टी नदिने नीति लिएका छन। त्यसैले बाध्यतामा परेकाहरु मात्रै राजिनामा नै दिएर घर गईरहेको अवस्था छ।
सम्झिदैछु पक्कैपनि गाँउघरमा चाडपर्वको राैनक छैनहोला। लिङ्गे पिङ्गको ‘चचहुई’ पनि सुनिन्न होला । आँगनमा सयपत्री मखमली फूलेपनि, खेतमा सुन जस्ता धानका बाला झुलेपनि मनमा खुशी र निश्चिन्तता कसैसंग नहोला। कोरोना कहरका बीचमा यसबाट उत्पन्न शोक, भोक र उपचारको जिम्मेवारी र दायित्व न राज्यले लिन चाह्यो न त गाँउसमाज, परिवारले नै धान्नसक्यो !
बिरामी पर्दा परिवार र आफन्तको साथ सहयोग र आडभरोसाले नै आधा रोग बिसेक हुने, मृत्यु हुँदा पनि घाटसम्म नै साथ नछोडने हाम्रो उच्च संस्कारलाई समेत प्रहार गरेको कोरोनाले मर्दा मलामी जान पनि हिचकिचाउनु पर्ने अवस्थामा हामीलाई पुर्याएको छ। भोकलाई भान्साले सडकमा पुर्याउनु मानव सभ्यता कै टीठलाग्दो अवस्थाको रुपमा इतिहासमा दर्ज हुन पुगेको छ।
मानवता भईकन पनि मानिस संवेदनाविहीन हुनुपरेको छ, अति कठोर बन्नुपरेको छ। सडकमा भोकले चिच्याईरहदा दशैंमा चिचीपापा, दहीचिउरा, दक्षिणा, जमरा र रातो टीकाको रंग पनि फिक्काफिक्का भईदिन्छ होला। त्यसैले म यो दशैंमा घर आउदिन। कोरोना नआएको भए म घर आउथे, यसपालि कोरोना आयो, अर्को साल कोरोना जाओस अनि म आउछु।सबैलाई शुभकामना

हाल: कतार
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस