त्यो पो हो त दशैँ !

‘ऊ आए, आए, लु ठिक पार्न थाल अक्षता र जमरा,’
घरतिर आउँदै गरेका पाहुनालाई परैबाट ठम्याउँदै
बुबा भन्नुहुन्थ्यो, ‘दही, चिउरा, केरा ठिक पारिराख
खुवाउनु पर्यो नि चाडबाडमा आएका पाहुनालाई’।
हामी बाख्राका पाठाले झैँ आँगनमा बुर्कुसी मारिरहन्थ्यौ ।
बहिनीहरू र मेरो एकै किसिमको नयाँ कपडा हुन्थ्यो–
सेतो सर्ट र निलो पेन्ट, ता कि दशैँ सकिएपछि त्यही
कपडा बिद्यालयको ड्रेस होस्, फेरि अर्को किन्नु नपरोस् ।
त्यो थियो उद्यमी र गरीब बाउको दूरदर्शी र किफायती सोच।
पाहुनाको चहलपहलसँगै आमाका चुरा बज्न थाल्थे छुरा जस्तै —
मानौं ती कहिल्यै नरोकिने कर्मयोगी संगीतहरू हुन्
थरुनी दिदीले रङ भरेर ल्याइदिएको सनपाटको झल्ला
बिस्तारै पल्टिन्थ्यो खाटमा, पाहुनाहरूलाई स्वागत गर्न।
स्याउ र केरा कोसेली बनेर भित्रिन्थे घरमा
र हामी हुन्थ्यौँ पाहुनालाई सर्वत-पानी ओसार्ने
‘ए लु हेर्दा हेर्दै यी पनि काम गर्ने भैसकेछन्,’
एक आफन्तले भन्थे ‘लु हेर त ‘ र मायाले प्याट्ट
मेरा गालामा हान्थे र म नव दुलही झैँ लजाउँथे
र केहीबेर हराउँथे।
पाहुनालाई बिदा गरिसकेपछि
हामी पनि लाग्थ्यौँ मेरो मामाघरतिर
तिनै पसिनाले निथ्रुक्क भिजेका दशैँका कपडामा ।
बाटाभरि भेटिन्थे मानिसहरू जसका निधारमा
लालीगुराँस फुलेझैँ लाग्थ्यो,
बाटामा खेलिरहेका हुन्थे पिङ बयस्क तथा बालकहरू
आ-आफ्नो पालो कुर्दै, लठारोमा झुण्डिँदै ।
म भने बहिनीहरूसँग हिसाब गर्दै हुन्थे
कट्कटिया नोटको दक्षिणा
जुन जमरा र अक्षता भन्दा मूल्यवान लाग्थ्यो।
टिका लगाईसकेपछि हजुरआमाले दिनुहुन्थ्यो
एक थाल चिउरा र खसीको मासु जुन
एक हप्तादेखि अगेनामाथि हामीलाई नै कुरेर
तुर्लुङ्ग खसीको साँप्रो बनेर बसिरहेको हुन्थ्यो।
त्यही खसीको साँप्रोको गन्ध,
पसिनाले निथ्रुक्क भिजेको नयाँ कपडाबाट
आएको शरीरको गन्ध
र अक्षतामा मिसिएको दहीको गन्ध नै
दशैँको सबैभन्दा मीठो सुगन्ध हुन्थ्यो।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस