कोरोना संकट: विदेशबाट १ लाख २३ हजार बढी नेपाली स्वदेश फर्किए

१३ कार्तिक २०७७, बिहीबार ०८:३९

काठमाडौं, कात्तिक १३ । कोरोना भाईरस (कोभिड-१९) महामारीकै बीचमा पनि विभिन्न ३२ मुलुकबाट नेपालीहरु स्वदेश फर्किएका छन् ।

अहिलेसम्म १ लाख २३ हजार ४१२ नेपाली स्वदेश फर्किएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले जनाएको छ ।

स्वदेश फर्किनेमा वैदेशिक रोजगारीको सिलसिलामा खाडी तथा मलेसिया पुगेका नेपालीहरु ठूलो संख्यामा रहेका छन् । हालसम्म ३२ देशबाट नेपाली फर्किएकोमा जोर्डनबाट ५७७, साइप्रसबाट ६४, इराकबाट ३९ र भारतबाट ८५ नेपाली हवाइ उडानमार्फत स्वदेश फर्किएका छन् ।

भारतमा कार्यरत ठूलो संख्याका नेपाली स्थलमार्गबाट समेत नेपाल प्रवेश गरेका छन् । सीमानाकाबाट ठूलो संख्याका नेपाली अव्यवस्थित रुपमा नेपाल प्रवेश गर्दा कोरोना संक्रमण समेत देशमा ह्वात्तै बढेको बताइँदै आएको छ ।

हाल अफगानिस्तानबाट ५०, अस्ट्रेलियाबाट १ हजार १००, ओमानबाट २१ सय २६, कतारबाट २३ हजार ३, म्यानमारबाट २६, कुवेतबाट ९ हजार ९२३ र जापानबाट ३ हजार ५४१ नेपाली स्वदेश फर्किएको तथ्यांक छ । यसैगरी थाइल्याण्डबाट ४७७, दक्षिण कोरियाबाट १ हजार ८११, बंगलादेशबाट ९३०, मलेसियाबाट १७ हजथार ९२४ नेपाली स्वदेश फर्किँदा माल्दिभ्सबाट १ हजार २६ नेपाली स्वदेश फर्किएका छन् ।

यसैगरी श्रीलंकाबाट ६, युएईबाट ३५ हजार ६९५, साउदी अरेबियाबाट १७ हजार ३२२, सिंगापुरबाट ८५६, हङकङबाट ५४६, पाकिस्तानबाट १११, बहराइनबाट १ हजार ३३९, अमेरिकाबाट ४३७, बेलायतबाट २२९ र इजरायलबाट १२७ नेपाली स्वदेश फर्किएका छन् । यसैगरी चीनबाट ५४०, फिलिपिन्सबाट २०१, स्वीट्जरल्याण्डबाट १० र दक्षिण सुडानबाट २५० नेपाली स्वदेश फर्किएका छन् ।

नेपाल फर्किनेहरुलाई एयरपोर्ट झर्नेबित्तिकै सेनाको व्यवस्थापनमा होल्डिङ सेन्टरमार्फत सम्बन्धित प्रदेशहरुको समन्वयमा क्वारेन्टाइनमा पठाउने गरिएको छ। कोरोना महामारी जोखिम न्यूनीकरणका लागि सरकारले गत चैतमा अन्तर्राष्ट्रिय सीमानाका बन्द गर्दै हवाइ उडानमा समेत रोक लगाएको थियो ।

तर, यो बीचमा चार्टर उडानमार्फत समस्यामा परेका नेपालीलाई नेपाल ल्याउने निर्णय गरेको थियो । त्यससता आवश्यक स्वास्थ्य मापदण्ड पूरा गरेर नेपाली स्वदेश फर्किन थालेकोमा पछिल्लो समय नियमित उडान समेत सञ्चालन हुन थालेको छ ।

विदेशमा अलपत्र एक लाख नेपालीको उद्धार
कोरोना महामारीपछि विदेशमा भएको लकडाउनका कारण अलपत्र परेका नेपालीको उद्धार जारी छ । गैरआवासीय नेपाली संघ, नेपाल सरकार र विदेशस्थित नेपाली कूटनीतिक नियोगको संयुक्त पहलमा हालसम्म ३२ देशका एक लाख २० हजार ८२९ नेपालीको उद्धार गरिएको हो ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.