तातोपानी नाका पुनःसञ्चालनमा

१३ कार्तिक २०७७, बिहीबार ०५:५२

चौतारा, कात्तिक १३ । नेपाल-चीनबीचको प्रमुख व्यापारिक तातोपानी नाका औपचारिक रुपमा बुधबारदेखि पुनः सञ्चालनमा आएको छ ।

बाढीपहिराले तीन महिनादेखि बन्द भई गत असोज १९ गते सञ्चालनमा आएकामा केही नेपाली कर्मचारीमा कोभिड-१९ संक्रमण देखा परेको जनाई चिनियाँ पक्षले असोज २० गतेदेखि नाका बन्द गरेको थियो ।

दुवै देशबीचको समझदारीअनुसार स्वास्थ्य मापदण्ड पूरा गरी सञ्चालनमा आए पनि मालवाहक कन्टेनर भने बिहीबार मात्रै नेपाल भित्रिने तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले बताउनुभयो ।

नेपाल भित्रिने सामान अबदेखि चिनियाँ पक्षले नै भन्सार क्षेत्रसम्म ल्याइदिनेभएपछि नेपाली कामदार सीमा पारि जानु नपर्ने जनाइएको छ ।

यसरी आएका कन्टेनरलाई भन्सारको आइसोलेशन यार्डमा १२ देखि १४ घण्टासम्म राखेपछि मात्र जाँचपास गरी राजधानी पठाइने तातोपानी भन्सार कार्यालयले जनाएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.