स्वस्थ र कम उमेरकाहरुले खोप लगाउन दुईवर्ष पर्खनुपर्छ !

१३ कार्तिक २०७७, बिहीबार १०:२२

एजेन्सी, कात्तिक १३ । कम उमेरका र स्वस्थ मानिसले कोरोना खोप आइसकेपछि पनि आफ्नो पालोका लागि लामो समय पर्खन तयार रहनुपर्ने विज्ञहरुले बताएका छन् ।

विश्व स्वास्थ्य संगठनका प्रमुख वैज्ञानिकहरुले बताए अनुसार कतिपयले त एक वर्षसम्म पनि कुर्नुपर्ने हुन सक्छ । 

बुधबार डब्लूएचओले सञ्चालन गरेको सवालजवाफ कार्यक्रममा स्वास्थ्यविद् सौम्या स्वामिनाथमले भनिन््, “धेरै मानिसहरुले यस्तो सोचिरहेका होलान् कि जनवरी या अप्रिलमा खोप आउनासाथ म लगाउँछु अनि सबै पहिलेकै सामान्य अवस्थामा पुग्नेछ । तर, वास्तविकता त्योभन्दा धेरै फरक हुनेछ ।”
उनले थप भनेकी छन्, “खोप लगाउने सम्बन्धी धेरै नयाँ निर्देशिकाहरु आउनेछन् र मेरो विचारमा एक साधारण व्यक्ति जो स्वस्थ छ उसले खोप लगाउन २०२२ सम्म कुर्नुपर्ने हुन्छ ।”

युवाको पनि कोरोना लागेर गम्भीर बिरामी परि मृत्यु हुन सक्छ भने उनीहरुले संक्रमण पनि फैलाउन सक्छन् तर अहिलेसम्मका डाटाबाट प्राप्त प्रमाणहरु हेर्दा उनीहरुको स्वास्थ्यमा कोभिडका कारण जटिल समस्या आउने सम्भावना वृद्ध र दीर्ग रोगीहरुको तुलनामा धेरै कम छ । 

त्यसैले पूरै विश्वमा कोरोना खोपको अप्रत्याशित माग बढ्दै जाँदा सरकार र अन्तर्राष्ट्रिय संघसंस्था जस्तै डब्लूएचओले एकसाथ सहकार्य गरि पहिले सबैभन्दा जोखिममा रहेका समूहलाई प्राथमिकता दिने कुरा सुनिश्चित गर्नुपर्ने हुन्छ । यो समूहमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी अनि वृद्ध, बिरामी र दीर्गरोगीहरु पर्छन् । यसबाहेक बाँकी रहेका स्वस्थ र कम उमेरकाहरु, जो पनि जीवन सामान्य अवस्थामा पुग्ने पर्खाइमा छन्, उनीहरुले खोप लगाउने लाइनमा सबैभन्दा पछाडि बस्नुपर्ने हुन्छ । 

युनिसेफका इम्युनाइजेसन प्रमुख रोबिन न्यान्डीले एक अन्तर्वार्तामा भनेका छन् “सुरुवाती वर्षहरुमा खोप एकदमै थोरै मात्रामा उपलब्ध हुनेछ जुन विश्वभरका ७ अर्ब मान्छेका लागि पर्याप्त हुनेछैन । खोपहरु थोरै थोरै गरेर बिस्तारै आउनेछ ।” हामीले अझै केही समय महामारीसँगै बाँच्नुपर्ने हुनाले पनि सबै प्रणालीगत रुपमा जारी राख्न जरुरी रहेको उनले बताए । अन्य अवस्थामा बालबालिकालाई मुख्य प्राथमिकतामा राखिने गरेको भएपनि कोरोना खोप लगाउने सुरुवाती कार्यक्रमबाट बच्चाहरु पनि बाहिरिनुपर्ने स्थिति रहेको छ । 

यता, विज्ञहरुले अर्को द्विविधापूर्ण कुरा पनि उठाइरहेका छन् । खोप आधा मात्र प्रभावकारी हुनेछ अर्थात एकपटक खोप लगाइसके पनि अर्को डोज आवश्यक पर्नेछ । अहिले विश्वका १५० भन्दा धेरै मुलुकहरुले विश्व स्वास्थ्य संगठनको ‘कोभ्याक्स’ नामक कार्यक्रममा सहभागीता जनाइसकेका छन् जुन एक सहकार्यपूर्ण व्यवस्थापन हो । यसमा सबै देशहरुले एकसाथ खोप निर्माणमा लगानी गरि खोपको पहिलो डोज जनसङ्ख्याका आधारमा अनि जोखिमका हिसाबले वितरण गर्ने संकल्प गरेका छन् । 

यो कार्यक्रमको लक्ष्य २०२१ को अन्त्यसम्ममा सुरक्षित खोपको २ अर्ब डोज वितरण गरिसक्नु हो । यसको अर्थ आगामी वर्ष झन्डै एक चौथाइ मानिसले मात्र खोप लगाउन पाउनेछन् । यसैगरी आफैं खोप निर्माण गरिरहेका राष्ट्रले पनि प्रथामिकताबारे ध्यान दिनुपर्ने हुन्छ । जस्तै चीनमा खोपका सुरुवाती डोजहरु सेनालाई लगाइएको थियो । यता, रुसले चाहिँ यसै हप्ता आफूले निर्माण गरेको दोस्रो खोपलाई पनि स्वीकृति दिएको छ र त्यसको प्रयोग डाक्टर अनि शिक्षकहरुमा पहिले गरिने बताएको छ । राष्ट्रपति पुटिनले यसअघि सो खोपको सुरुवाती ट्रायलमा आफ्नी छोरीले पनि सहभागीता जनाएको बताएका थिए । 

तर, कोभ्याक्स कार्यक्रममा अमेरिकाले भने भाग लिएको छैन र आफ्नै भ्याक्सिन विकसित गर्न अरबौँ लगानी गरिरहेको छ । अहिलेसम्म हेर्दा सातवटा कम्पनीहरु खोप विकसित प्रक्रियाको नजिक पुगेको देखिन्छ । आगामी अप्रिलसम्म अमेरिकासँग मात्र अनुमानित ७० करोड डोज हुन सक्ने बताइएको छ । तर, त्यहाँ पनि साधारण व्यक्तिले खोप लगाउन लामै समय पर्खिनुपर्ने अवस्था छ । 

गत मंगलबार अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र, सीडीसीले सिमित आपूर्तिका कारण केही समूहका मानिसहरुलाई सुरुमा खोप नलगाउन निर्देशन दिइने जानकारी दिएको थियो । सिमित सङ्ख्यामा हुने खोपलाई निश्पक्ष, नैतिक अनि पारदर्शी तरिकाले वितरण गर्न आफूहरुले योजना बनाइरहेको सीडीसीले बताएको हो । 

यसै महिना सार्वजानिक गरिएको फ्रेमवर्कमा ‘नेस्नल एकेडेमिक्स अफ साइन्सेस’ ले सुरुवाती चरणमा १ करोड ५० लाख डोजसम्म उत्पादन हुन सक्ने बताएको छ जुन अमेरिकाको ३–५ प्रतिशत जनसङ्ख्यालाई पुग्नेछ । नासेमको निर्देशिकाले पेश गरेको योजनामा पहिले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र वृद्ध अनि स्वास्थ्यका हिसाबले संवेदनशीललाई दिइने त्यसपछि कामदार लगायत शिक्षक, स्कुलका स्टाफ अनि जेलमा रहेका कैदी र अन्त्यमा मात्र बालबालिका, युवा र स्वस्थ वयश्कहरुलाई खोप लगाइने भनिएको छ । तर कोभिड–१९ का सुरुवाती खोपहरु अहिलेका लागि बालबालिकामा प्रयोग नगर्न सुझाव दिइएको छ । किनकी उनीहरुमा यसको पर्याप्त परीक्षण गरिएको छैन । संक्रमणलाई पूर्ण नियन्त्रण गर्न कम्तीमा पनि ७० प्रतिशत जनसङ्ख्यालाई खोप लगाउन आवश्यक रहेको बताइएको छ । 

द वासिङटन पोस्ट 

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.