फ्रान्सको चर्चमा अन्धाधुन्ध आक्रमण, तीनजनाको मृत्यु

१४ कार्तिक २०७७, शुक्रबार ०८:४२

एजेन्सी, कात्तिक १४ । फ्रान्सको निस शहर स्थित चर्चमा आक्रमणकारीले अन्धाधुन्ध चक्कु प्रहार तथा धारिलो हतियारले आक्रमण गर्दा तीनजनाको ज्यान गएको छ ।

दुई महिला र एक पुरुषको निधन भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

आक्रमणकारी केही दिनअघि मात्रै ट्यूनिसियाबाट आएको स्थानीय अधिकारीले बताएका छन् । २१ वर्षका ती आक्रमणकारी प्रहरीको गोली लागेर गम्भीर अवस्थामा अस्पतालमा छन् ।

आक्रमणकारीसँग इटालियन रेडक्रसको कागजात रहेको जनाइएको छ । आप्रवासी पानी जहाजबाट इटालीको लाम्पेदुसामा गएको महिना पुगेपछि ती व्यक्तिले रेडक्रसको कागजात पाएका थिए ।

निस शहरको नोट्रे डाम बासिलिकमा बिहीबार भएको घटनाका एक पीडितको टाउको नै काटिएको छ । राष्ट्रपति इम्यानुएल म्याक्रोँले घटना इस्लामिक आतंकवादी आक्रमण रहेको बताएका छन् ।

सार्वजनिक स्थानमा सुरक्षा व्यवस्थाका लागि सुरक्षाकर्मीको तैनाथी बढाइएको उनले बताए । फ्रान्सभर नै सुरक्षा सतर्कता उच्च पारिएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.