दिल्लीलाई हराउँदै मुम्बई क्वालिफायरमा

१६ कार्तिक २०७७, आईतवार ०६:१८

एजेन्सी, कात्तिक १६ । साविक विजेता मुम्बई इन्डियन्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ ।

दुबईमा शनिबार भएको खेलमा मुम्बईले दिल्लीलाई ९ विकेटले पराजित गरेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ११ रनको लक्ष्य मुम्बईले १४ ओभर २ बलमा मात्र १ विकेट गुमाएर पुरा गर्यो ।

मुम्बईको जितमा इशान किशनले अविजित रहदै ७२ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ४७ बलमा ८ चौका र ३ छक्का प्रहार गरे । क्विन्टन डी ककले २६ रन जोड्दा सूर्यकुमार यादब १२ रनमा अविजि रहे ।

दिल्लीका एनरिच नोर्टजेले एक विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १ सय १० रन बनाएको थियो ।

खराब ब्याटिङ गरेको दिल्लीका लागि कप्तान श्रेयस एयरले सर्वाधिक २५ रन जोड्दा ऋषब पन्तले २१ रन बनाए । शिम्रन हिटमायरले ११ रन बनाउदा ओपनर पृथ्वी शले १० रन जोडे । रविचन्द्र आश्विनले १२ रन बनाउँदा शिखर धवन सुन्य रनमा आउट भए ।

कागिसो राबडा १२ रनमा आउट हुँदा प्रविन डुबे ७ रनमा अविजित रहे । मुम्बईका जस्प्रित बुम्राह र ट्रेन्ट बोल्टले समान ३/३ विकेट लिए । राहुल चाहर र नाथन कल्टरले १/१ विकेट लिए ।

जितसँगै मुम्बईले तालिकाको शीर्ष दुईमा आफ्नो स्थान पक्का गरेको छ ।  र, मुम्बई क्वालिफायरमा प्रवेश गरेको छ  । अन्तिम खेलमा पराजित भएपछि मुम्बई शीर्ष दुईमै रहने छ । मुम्बईले १३ खेलमा १८ अंक जोडेको छ । मुम्बई शीर्ष स्थानमा यथावत रहेको छ ।

शीर्ष दुईमा रहने टिमले क्वालिफायर खेल्ने छन् । क्वालिफायरको विजेता फाइनल पुग्नेछ । पराजित हुने टिमले दोस्रो क्वालिफायर खेल्न पाउने छन् । मुम्बईसँग पराजित भएपछि दिल्लीको भने प्ले अफ यात्रा कठिन बनेको छ । दिल्लीलाई प्ले अफ पुग्न अन्तिम खेल जित्नै पर्ने भएको छ ।

दिल्लीले १३ खेलमा १४ अंक जोडेको छ । दिल्ली तेस्रो स्थानमा रहेको छ । दिल्लीले लिग चरणको अन्तिम खेलमा रोयल च्यालेन्जर्स बैंगलोरसँग खेल्नेछ । बैंगलोरविरुद्ध खेल गुमाएमा दिल्लीको प्ले अफ यात्रा सकिनेछ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.